लकडाउनमा वित्तिय संस्था धमाधम एकिकरण



मोतीराम तिमल्सिना, काभ्रे ।

लकडाउनका बीच सहकारीसँगै लघुवित्त संस्था गाभिएका छन् । नेपाल राष्ट्र बैकले लघु वित्त संस्थाको पुँजी बृद्धीको मापदण्ड कायम गरेसँगै काभ्रेको बनेपामा रहेको आरम्भ र रुपन्देहिको बुटवलमा रहेको चौतारी लघुवित्त बीच सोमबार बनेपामा एकिकरण भएको छ । यस अघि जिल्लामा लकडाउनकै अवधीमा ६ वटा सहकारी एकिकरण भएका थिए ।

एकिकृत लघुवित्त बैकको कारोवार नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एकिकृत बैकका अध्यक्ष जगतबहादुर पोखरेलले समुदाय, शेयर सदस्य तथा राष्ट्रको हितका लागि लघुवित्त संस्थाहरु एकिकरणको आवश्यकता रहेको बताउनु भयो । दुबै लघुवित्त एकिकरण पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नाम रहेको छ । दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७६ फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै लघुवित्त संस्था एकिकरण पछिको केन्द्रीय कार्यालय बनेपा नगरपालिका १० नम्वर वडामा रहेको छ ।

यसअघि चौतारीको रुपन्देहीको बुटवलमा र आरम्भको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको थियो । दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा एकिकरण हुने प्रस्ताव पारित गरेको थियो । एकिकरण पश्चात लघुवित्त संस्थाको चुक्ता पूँजी २४ करोड ६० लाख रुपैयाँ पुगेको छ । नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चौतारीकै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहनु भएको छ भने सञ्चालक समितिमा चौतारीका अध्यक्षसहित ४ जना र आरम्भ माइक्रोफाइनान्सका २ जना रहने सहमति भएको छ । दुई कम्पनी १ः१ सेयर स्वाप रेसियोमा एकिकरण भएका हुन् ।

एकिकरण पछि लघुवित्त संस्थाको कार्यक्षेत्र पाँचवटा प्रदेशका ३१ जिल्लामा ७७ वटा शाखा मार्फत हुनेछ । ६२ हजार २ सय २ घरधुरी समेटिएको उक्त संस्थामा ३३ हजार ६४ जना सदस्य रहनेछन् । कार्यक्रममा बोल्दै राष्ट्र बैकका कार्यकारी निजर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघु वित्त संस्थाले आफु मात्रै बाँच्ने नभई समुदायलाई परिचालन गर्ने र राष्ट्रको समृद्धीमा आफुले के प्राप्त गरें भन्दा पनि के योगदान गरें ? भन्ने विषयमा सोच्नु पर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व बहन गर्दै समुदाय स्तरमा पुग्न नसकेका बाणिज्य बैकहरुको सेवामा नरहेका नागरिकहरुलाई बैक तथा वित्तिय क्षेत्रको पहुँच उपलब्ध गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाले चालु वर्षको असार २१ गतेसम्म सबै खर्च कटाएर ३ करोड ८१ लाख मुनाफा गरेको कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनु भयो । ६ करोड २ लाख ४५ हजार मुनाफामा सबै खर्च कटाएर भएको मुनाफा, शेयर सदस्यको संख्या, समुहको अवस्था र लघुवित्त बैक एकिकरण पछिको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । नेपालमा ८९ वटा लघुवित्त संस्था छन् । जसमा ४६ लाख महिला सहभागि छन् भने २ अर्ब ५६ करोड बचत रहेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल, दिपक तिवारी, कार्यकारी अधिकृत लक्ष्मण घिमिरे, संस्थापक सदस्य जीवन भण्डारी, त्रिविका प्राध्यापक र्धुव्रलाल पाण्डे, विश्लेषक र्सजना काफ्ले, समहु संयोजक चन्द्रलक्ष्मी खत्री लगायतका बक्ताहरुले लघु वित्त बैकको आवश्यकताका बारेमा मन्तब्य राख्नु भएको थियो । एकिकरण पछि उक्त संस्थामा ३ सय ९१ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्