निमित्त कार्यकारी र लेखापालद्वारा १ करोड १९ लाख हिनामिना



वीरबहादुर बम, मुगु

मुगुको सोरु गाउँपालिकामा नागरिकका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै गाउँपालिका प्रमुखबाटै जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको छ ।

गाउँपालिकाको राहत कोषमा छुट्याएको १ करोड १९ लाख रकम कुनै काम नभएर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जेठबहादुर बुढाको मिलेमतोमा रकम निकालिसकेको देखिएकाले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

जनताका नाममा आएको रकम कर्मचारीले अनियमितता गरेको देखिएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिए पनि जिल्ला प्रशासन कार्यालयद्वारा बेवास्ता गर्न थालिएको गाउँपालिकाका अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।

प्रशासन कार्यालयमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा पेस गरे पनि त्यसको बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला मुगुम गाउँपालिका–९ छाइल गाउँको भ्रमणमा व्यस्त छन् ।

कार्यालयमा आर्थिक अनियमितासम्बन्धी नयाँ मुद्दा आएको भन्ने हल्ला आए पनि आफूलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनुभयो । जनताका नाममा आएको रकम कार्यकारी र लेखापालद्वारा सोझै खर्च गरिएकाले स्थानीयसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनुपर्ने अवस्था आएको सोरुका मानवअधिकारकर्मी गंगाराज शाहीले बताउनुभयो ।

आफूहरु गाउँपालिकाको विकासका लागि लागिपरेको तर जनप्रतिनिधिले असमर्थन जनाउने भएकाले विकाससँग सम्बन्धित सबै विषयमा एकजुट हुन नसकेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढाले बताउनुभयो । अर्को आर्थिक वर्षका लागि सबै जना गाउँ परिषद्मा लागि पर्नुपर्ने भए पनि विवाद र आरोपमा लाग्ने काम भएको बुढाको भनाइ छ । जनप्रतिनिधि यस्तो कार्यमा लागे पनि आफूहरु विकास कार्यमा लागेको बुढाको भनाइ छ ।

चालू आर्थिक वर्ष सकिन लाग्दा पनि बजेट कार्यान्वयनमा अनियमितता देखिँदा गाउँपालिकाले आउने आर्थिक वर्षको लागि योजना तर्जुमा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्