काठमाडौं भ्याली स्कुलको दादागिरी

वार्षिक र मासिक शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की



ईश्वरराज ढकाल, काठमाडौं

राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्कबापत ४० हजार रुपियाँसम्मको बिल पठाएपछि विद्यालय र अभिभावकबीच टकराव बढेको छ ।
विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजानसमेत धम्की दिएको छ ।

यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले आफूले नयाँ प्रविधिमा आधारित अनलाइन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यसबापत शुल्क माग गरेको बताउनुभएको छ । आफूलाई सूचना प्रविधि विज्ञ र अनुसन्धानकर्ताको परिचय दिने श्रेष्ठले कुनै हालतमा अहिले तिर्न नसके पनि वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।

सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्कसमेत गरी जेठसम्मको २९ हजार ४ सय, ३३ हजार ५ सयको बिल पठाएको छ । बिल पठाउँदा समस्या देखिने भएपछि भाइबरमा बिल पठाएको एक अभिभावकले बताए ।
प्रत्येक परीक्षाबापत १ हजार रुपियाँ लिने गरेको सो विद्यालयले असार २२ बाट परीक्षा शुरु भएको जानकारी गराउँदै विद्यालयबाट उत्तरपुस्तिका लैजान उर्दी जारी गरेको छ । अभिभावक अमन तुलाधरले विद्यालयले अति गरेपछि परीक्षा र अनलाइन कक्षासमेत वहिष्कार गरेको बताउनुभयो । विद्यालयले कक्षा १ देखि १० सम्मको परीक्षा लिन सूचना जारी गरेको छ ।

लकडाउनको समयमा भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा विद्यालयले स्कुलमै आएर उत्तरपुस्तिका लैजान आग्रह गरेको हो । परीक्षासम्बन्धी ५ बुँदे निर्देशनमा अभिभावक र विद्यार्थीले घरमा बसेर शिक्षकको अगाडि खाम खोल्नुपर्ने, २४ घण्टाभित्र उत्तरपुस्तिका विद्यालयमा पु¥याउनुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ ।
तुलाधारले डा. श्रेष्ठसँग परीक्षा सञ्चालन नगर्न, वार्षिक शुल्क नलिन र मासिक शुल्कमा केही विचार गर्न आग्रह गर्दा बेवास्ता गरेको बताउनुभयो । श्रेष्ठको धम्कीपछि १ सय ३० जना अभिभावकले भाइबर ग्रुप बनाएर अनलाइन कक्षा बहिष्कार गरेका छन् ।

हिसानका उपाध्यक्षसमेत रहेका श्रेष्ठले सिस्टमबाट शुल्कबापतको रकम जारी भएको स्वीकार गर्दै कसैलाई पनि जबरजस्ती नगरेको बताउनुभयो । विद्यालयले ८ सय विद्यार्थी रहेको विद्यालयमा १ सय ३० विद्यार्थीले स्कुल छाड्दा कुनै समस्या नपर्ने धम्कीसमेत दिएको अभिभावको भनाइ छ ।

विद्यालय प्रशासनले पटकपटक टेलिफोन गरी शुल्क तिर्न ताकेता गरेपछि अभिभावकले प्याब्सन र काठमाडौं महानगरपालिका शिक्षा विभाग गुहारेका छन् । उनीहरुले शिक्षा विभागमा उजुरी दिएका छन् । ‘अहिले हामी ६३ जना अभिभावकले हस्ताक्षर गरेका छौं, यो क्रम बढ्ने क्रममा छ’ –तुलाधरले भन्नुभयो । सहमतिमा मासिक शुल्क तिर्ने तयारी गर्दा पनि नमानेपछि बाध्य भएर परीक्षा र अनलाइन कक्षा वहिष्कार गरेको तुलाधरले बताउनुभयोे ।

अध्यक्ष श्रेष्ठले अनलाइन कक्षालाई लगातार पढाइ सरह मान्यता दिँदै दिएका कारण रकम माग गरेको बताउनुभयो । ‘हामीले सबै रकम अहिल नै मागेका छैनौं, पटकपटक तिर्ने गरी आग्रह गर्दा पनि अभिभावकले अस्वीकार गरिरहेका छन’ –उहाँले भन्नुभयो ।
अधिकांश विद्यालयले मासिक शुल्क मात्र लिएको अवस्थामा सो विद्यालयले एक वर्षभित्र जसरी भए पनि वार्षिक शुल्क तिर्नैपर्ने अडान दोहो¥याएको छ ।

श्रेष्ठले आफ्नोे विद्यालयको अनलाइन पढाइको सिस्टम फरक भएकाले बढी रकम मागेको जस्तो लागेको हुन सक्ने बताउँदै अभिभावकसँग रकम माग्नु कुनै गल्ती नभएको बताउनुभयो । त्यसै गरी उहाँले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अनिवार्य रुपमा परीक्षा लिएको जिकिर गर्दै परीक्षाको विषयमा आफू गलत नभएको दाबी गर्नुभयो । सो विद्यालयले यही २९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अध्यक्ष डा. श्रेष्ठले अभिभावकसँगको कुराकानीमा आफू ‘सरकारका सूचना विज्ञ भएको र अनलाइन कक्षालाई विद्यालयले पढाइ शुरू गरेको जानकारी गराउँदै आएका छन् । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भननुभयो– ‘नयाँ प्रविधि प्रयोग गरी पढाउँदा आफुमाथि आरोप लाग्ने गरेकोमा अचम्म लागेको छ ।’
बक्समा

शुल्क लिए कारबाही
काठमाडौं महानगरपालिका संस्थागत विद्यालय शाखा प्रमुख मोती खनालले छाउनीस्थित काठमाडौं भ्याली स्कुलको विषयमा मौखिक उजुरी आएको बताउनुभयो ।
उहाँले सो विद्यालयले मनपरी रुपमा शुल्क उठाएको जानकारी आएको बताउँदै शुल्क नलिन मौखिक रुपमा निर्देशन दिएको बताउनुभयो । उहाँले अभिभावकले सोमबार दिउँसो पत्र पु¥याएपछि थप छानविन शुरु गरेको बताउनुभयो ।
विद्यालयले अपराध ग¥यो

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले छाउनीस्थित काठमाडौ भ्याली स्कुलले विद्यार्थीसँग मनपरी शुल्क असुल्न खोजेर अपराध गरिरहेको बताउनुभयो ।
उहाँले सरकार र निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनबीच वार्ताबाट समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको अवस्थामा एउटा विद्यालयले अभिभावकसँग मनपरी शुल्क असुल गर्न खोजेर गलत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यो त अपराध सरह हो, हामीले विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन । काठमाडौं जिल्ला शिक्षा समन्वय इकाइसँग छलफल गर्दा पनि विद्यालयले बेवास्ता गरिरहेको छ ।’ प्याब्सनले यो विषयमा छलफल गरी ठोस निर्णय लिने तयारी गरिरहेको उहाँको भनाइ छ । अभिभावकले सोमबार प्याब्सन काठमाडौंमा पनि उजुरी दर्ता गराएका छन् ।

 

विद्यालय प्रशासनले अभिभावकसँग लिएका वार्षिक र मासिक शुल्कः

 

प्रतिक्रिया दिनुहोस्