अस्थायी क्वारेन्टाईनमै सकियो करोडौं बजेट



बासुदेव शर्मा,जाजरकोट ।

भौतिक संरचना प्रयाप्त मात्रामा निर्माण गर्न नसकेको स्थानिय, प्रदेश र संघिय सरकारले हालै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण वढेका वेला नेपाल तथा विदेशबाट फर्किएका नागरिकलाई सुरक्षित राख्न गाउँमा रोग नफैलियोस भन्नको लागी विद्यालयमा व्यवस्थापन गरिएको हो ।

सरकारले विद्यालयमा वनाएका क्वारेन्टाईनमा वस्दा संक्रमण फैलिने खतरा देखेपछि भेरी नगरपालिका १ का १३ जना गाँउकै ओडारमा १४ दिन वसेर घर फर्किएका छन् । सुर्खेतबाट आएको एक समुह जुनीचाँदे गाउँपालिका ६ को जंगलको ओडारमा बसे विद्यालयमा बनाएका क्वारेन्टाईनमा बसेका थिएन्न ।

भेरी र छेडागाड नगरपालिकाका विद्यालयमा निर्माण गरेका क्वारेन्टाईनबाट मानिसहरु भाग्न थालेपछि क्वारेन्टाइन सुरक्षाको लागी नेपाली सेना नै परिचालित गर्नु पर्यो । जाजरकोटका भेरी नलगाड र छेडागाड नगरपालिकाका ४ वटा क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दियो । छेडागाड र भेरी नगरपालिकाका विभिन्न क्वारेन्टाइनबाट भागेका ४० जनालाई प्रहरीले पक्राउ गरि पुन ः क्वारेन्टाइनमै राखिएको थियो ।

जाजरकोटका भेरी, छेडागाड, नलगाड नगरपालिका र शिवालय गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २३ दिन वस्दा पनि पिसिआर रिपोर्ट नआएपछि केहि क्वारेन्टाइनमा आन्दोलन भयो । आन्दोलनलाई शान्त वनाउन नसक्दाँ रिपोर्ट नआउदै घर पठाईएको थियो । पिसिआरको रिपोर्ट समयमा नआउने र भिटिएमको अभावले अहिले १४ दिन पुगेपछि आरडिटि गरेर घर पठाउने गरिएको छ ।

तिन हप्ता अधि जिल्लाभर ३७ ओटा क्वारेन्टाइनमा तिन हजार बढी बसालिएकोमा अहिले घटेर ३ सय ६५ मात्र छन् । जिल्लाका २४ क्वारेन्टाइन रितै रहेका छन् । जाजरकोटका सात वटै पालिकाले क्वारिन्टन व्यवस्थापन र खाना नास्तामा करोड बढी रकम खर्च गरिसकेका छन् । स्वास्थ्य उपकरण,भिटिएम र आरडिटी खरिदमा पनि उतिकै खर्च गरिसकेका छन् । अहिले सम्म नागरिक समाज समक्ष खर्च विवरण सम्वन्धित निकायले सार्वजनिक गरेका छैनन् ।

भेरी नगरपालिकाले जेठ मसान्त सम्म गरेको खर्चले विवरण हेर्दा सवै पालिकाले करोड बढी खर्च गरिसकेको अनुमान गर्न सकिन्छ । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख निशा थापाले जेठ मसान्त सम्म व्यवस्थापन खर्चमा १७ लाख ६७ हजार ३ सय ८ रुपैया खानामा, ३ लाख २८ हजार १ सय ५० रुपैया गाडी भाडा, २ लाख १६ हजार पर्चा पम्पलेटमा १ लाख ७१ हजार सरसफाई सामाग्रीमा १लाख ९७ हजार २० रुपैया गरी जम्मा २६ लाख ७९ हजार ३ सय २८ रुपैया खर्च भएको छ ।

असार महिनामा खर्च भएको रकमको विवरण नआएको प्रमुख थापाले वताउनु भयो । केहि पालिकाहरुले कोरोना नियन्त्रण र व्यवस्थापनको नाममा अपारदर्शि रुपमा ठुलो रकम खर्च गरेकोले खर्च विवरण सार्वजनिक गर्न नागरिकको आवाज उठ्न थालेको छ । क्वारेन्टाइन ब्यवस्थापनको नाममा केहि कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा अनियामितता समेत भएको आशंका बढ्न थालेको छ ।

स्थानिय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा शौचालय अभाव खानेपानी, लामखुट्टे लाग्ने भवन चुहिने भत्किने अवस्थाका भवनमा बस्नु परेको स्वयमसेवकहरुले आफुहरुलाई कैदीको जस्तो व्यवहार गर्दा निकै सकस भएको क्वारेन्टाइनमा वसेका नागरिकहरुले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्