‘अस्थिरता चाहिँदैन-सरकार ढाल्न पाइँदैन’



न्युज अफ नेपाल,हेटौंडा ।

केन्द्रमा चर्काचर्की जारी रहेको अबस्थामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै सोमबार हेटौंडामा युवा र विद्यार्थीले जुलुस निकालेका छन् । राजनीतिक स्थिरता, जनमत र एकताको पक्षमा नेताहरुलाई खबरदारी गर्दै कम्युनिष्ट युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । भारतको इशारामा प्रधानमन्त्रीको राजीनामा आफ्नै पार्टीका तर्फबाट मागिएको भन्दै प्रधानमन्त्री केपी शर्माओलीको समर्थनमा प्रदर्शन भएको हो ।

विशेषगरि ओलीनिकट युवाले हेटौंडा बजारमा जुलुस निकाले । प्रधानमन्त्री ओलीको फोटोसहित ब्यानर लिएर युवाले बजार परिक्रमा गरेका थिए । जनताले स्थायी सरकारका लागि ओली नेतृत्वको नेकपालाई भोट दिएको भन्दै भारत वा अन्य कुनै देशको इशारामा प्रधानमन्त्रीको राजीनामा आफ्नै पार्टीका तर्फबाट मागिएको आक्रोशमा प्रदर्शन भएको हो ।

हेटौंडाको बुद्धचोकबाट सीमाचोकसम्म युवा तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरे । युवाले प्रदर्शन गरेको कार्यक्रममा ओली पक्षधरबाट नारा लगाइए । युवा तथा विद्यार्थीले बुद्धचोकबाट हेडम्बीचोक, पल्पसा रोड, संगमचोक, स्कुलरोडसहित क्षेत्रमा ¥याली गरे । युवाले प्रधानमन्त्री ओलीलाई काम गर्न दिइनुपर्ने र पार्टी फुटाउन नहुने मागसहित खबरदारी गरे ।

¥यालीपछि आयोजित कोणसभामा युवा संघ मकवानपुर संयोजक सन्तोष चौलागार्इंले राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्रीको राजीनामा मागिएको बताउनुभयो । उहाँले भारतीयले नेकपाको आन्तरिक राजनीतिमा खेल्न खोजेको भन्दै यो अबस्थामा कुनै हालतमा प्रधानमन्त्रीको राजीनामा उपयुक्त नभएको बताउनुभयो । चौलागाईंकै नेतृत्वमा प्रदर्शन गरिएको थियोे ।

नेकपाका युवा नेता शिवहरि दाहालले आमजनताले राजनीतिक स्थिरताका लागि नेकपालाई मत दिएकोले जनताको मतलाई सम्मान गरी एकताको सन्देश दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्माओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गर्नु तथा नागरिकता विधेयक जस्ता राष्ट्र र जनताको पक्षमा निरन्तर काम गरिरहेकाले जनमतको कदर गरी ५ वर्ष सरकार चलाउन दिएर राजनीतिक स्थिरता कायम गर्नुपर्ने औंल्याउनुभयो ।

विद्यार्थी नेता किसन घिसिङले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि मुलुकमा ओलीको नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो । युवाले ‘आईएम विथ केपी ओली’, ‘मान्छेको सान बोलीले–नेपालको सान ओलीले’, ‘अस्थिरता चाहिँदैन–सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाउँदै ¥याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्