उत्पादन वृद्धि गर्न अनुदानमा कृषि औजार



न्युज अफ नेपाल,पाल्पा ।

बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार तथा मेशीन वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान गर्नुको साथै संचालनको लागि तालिम समेत दिइएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले गाउँपालिकालाई कृषिबाटै समृद्धि हासिल गर्ने र आमनागरिकहरुलाई कृषिमा आत्मानिर्भर गराउनका लागि अनुदानमा सामग्री वितरण गर्दै आएको बताए ।

उनले कृषकहरुलाई अनुदानको सदुपयोग गर्न आग्रह गर्नुभयो । गाउपालिका उपाध्यक्ष सरस्वती चिदीले विषम परिस्थितिका कारण भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत सून्दर श्रेष्ठले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको बताउनु भयो । गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले सीप र प्रविधिको सहि प्रयोग गरेमा आत्मनिर्भरताको लागि सहज हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्