लकडाउनमा घरभाडा: ‘मनकारी’ बन्ने लहर, ‘दानवीर’ बन्न आग्रह



न्युज अफ नेपाल, हेटौंडा । 

कोरोनाको संक्रमण रोक्न सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका यहाँका व्यबसायीलाई घरभाडा छुट दिएर राहत दिनेहरु क्रमशः बढ्दै गएको बेला भाडालगायत सुबिधा र छुट माग्नेहरु बढेका छन् ।

केही व्यक्ति र संघसंस्थाले निर्णय नै गरेर भाडा छुटको घोषणा गरेका छन् । केही व्यबसायी तथा सेवाक्षेत्रमा रहेकाले भने सरकारको मुख ताकेका छन् । उनीहरुलाई आशा छ कि सरकारले आफूहरुको समस्यामा मल्हम लगाउने नै छ ।

स्थानीय ब्यापारीको गुनासो छ–ग्राहकभन्दा बढी घरभेटी आउँछन् । आफूसँग भएको पैसा तीन महिने लकडाउनमा सकिएपछि पसलमा सामान थप्न र घरभाडा तिर्न नसक्ने अबस्था छ । घरभेटीको अनावश्यक ‘दबाब’ का कारण धेरै ब्यापारी व्यबसायबाट पलायन हुने क्रम बढ्दो छ ।

यही समस्यालाई बुझेर स्थानीय व्यबसायीको छाता साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघ ‘मनकारी घरधनी’ बनेको छ । जसले एक महिनाको पसलभाडा छुट गर्ने घोषणा गरेको छ । नेपाल सरकारद्वारा नागरिकलाई सुरक्षित राख्न २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गर्दा उद्योग÷व्यबसाय क्षेत्र नराम्ररी प्रभावित हुन पुगे अबस्थामा संघले पनि लकडाउनका कारण सिर्जित उद्योगी÷व्यबसायीको समस्या उचितरुपमा समाधान गर्न संघको भवनमा र पल्पसापरिसरमा रहेका २६ वटा पसल÷कवलको एक महिनाको पसलभाडा छुट गरेको हो ।

लकडाउनलगायत विभिन्न हिसाबले संघको आयस्रोतमा परिरहेको असरका बाबजुद छुटको व्यबस्था गरिएको संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । लकडाउनका कारण सिर्जित उद्योगी÷व्यबसायीको समस्या उचितरुपमा समाधान गर्न संघले विभिन्न उपाय प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघमार्फत् वा सीधै नेपाल सरकारका जिम्मेवार निकायमा प्रक्रियागतरुपमा अनुरोध गर्दै आएको छ ।

हेटौंडा–४ मा रहेको नारायणी मलमा सञ्चालित पसललाई घरभाडामा छुट गरिने भएको छ । नारायणी मल आचार्य प्लाजा प्रालिमा सञ्चालित पसललाई घरभाडामा केही प्रतिशत छुट गरिने सञ्चालक नवराज आचार्यले बताउनुभयो ।

उहाँले कोरोना रोक्न गरिएको लकडाउनले ब्यापार÷व्यबसाय चलाउन नपाएपछि ब्यापार÷व्यबसाय गर्नेहरुको आर्थिक कारोबारसमेत बिग्रिएका कारण मलमा सञ्चालित सम्पूर्ण पसललाई सटरको भाडा रकम १ महिनाको र तिर्दै आएको भाडा रकममा ५ प्रतिशतका दरले १२ महिनाका लागि छुट गरिने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) ले कान्तिराजपथस्थित आफ्ना दुई वटा घरका १५ वटा सटरमा बसेका व्यबसायीलाई १ महिनाको भाडा छुट गर्नुभएको छ ।

हेटौंडाका मनकारी शिक्षक तथा समाजसेवी सञ्जेल दम्पतीले लकडाउनका कारण समस्यामा परेका आफ्नो घरमा कोठा भाडामा बस्ने तथा व्यबसाय सञ्चालन गर्ने व्यक्तिहरुसँग एक महिनाको घरभाडा नलिने भएका छन् ।

हेटौंडा–१, उद्योग वाणिज्य संघ चोकका शिक्षक तथा समाजसेवी राजुप्रसाद सञ्जेल र गीता सञ्जेलले आफ्नो घरमा डेरा गरी बस्ने र व्यबसाय सञ्चालन गर्नेसँग बैशाखको घरभाडा नलिने हुनुभएको हो ।

आफ्नो घरमा ३ वटा कोठामा र एक सटरमा व्यबसाय गर्दै आएकाको लकडाउनका समयमा बुझाउनुपर्ने घरभाडा मिनाहा गरिदिएको उहाँले बताउनुभयो । घरमा बस्ने र व्यबसाय गर्नेहरुको समस्यालाई आफ्नै समस्या जस्तो लागेर भाडा नलिने निर्णय गरेको सञ्जेल दम्पतीको भनाइ छ ।

हेटौंडा–४, पारिजातपथमा रहेको इन्द्रेणी फेसन प्लाजाले डेढ महिनाको भाडा छुट गरेको छ । लकडाउनका कारण व्यबसाय सञ्चालन हुन नपाउँदा प्लाजाका व्यबसायीलाई घरभाडा तिर्न समस्या भएको महसुस गर्दै डेढ महिनाको भाडाछुट दिने प्लाजा सञ्चालक गणेश कठायतले जानकारी दिनुभयो ।

प्लाजाले डेढ महिनाको छुटबाहेक १ महिनाको भाडा पसलको डिपोजिटबाट कटाउने जनाएको छ । प्लाजाले लकडाउनअघि १ वर्षका लागि २० प्रतिशत भाडा छुट दिएको प्लाजा अर्का सञ्चालक मदन भुजेलले बताउनुभयो ।

उता, होटल व्यबसायीले लकडाउन अवधिको घरभाडा पूर्णछुट माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । मकवानपुरका होटल व्यबसायीले मुख्यमन्त्री कार्यालका प्रमुख सचिव डा. हरि लम्साललाई ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना संक्रमण फैलिएसँगै करिब तीन महिनाअघि उच्चसतर्कता अपनाउँदै सरकारले गरेको लकडाउनका कारण होटल व्यबसाय पूर्णबन्द छन् । हाल लकडाउन खुकुलो भए पनि होटल व्यबसायी अझै लकडाउनमै छन् । जसले गर्दा होटल व्यबसायी मारमा छन् ।

वर्तमान अबस्थामा होटल व्यबसायी सबभन्दा बढी मारमा परेकोले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा छुट र कोरोना संक्रमणकाल रहुञ्जेलसम्मका लागि ५० प्रतिशत छुट व्यबस्था गर्न ज्ञापनपत्रमार्फत् माग गरिएको छ ।

उक्त छुटका लागि घरधनीलाई समेत राहत पुग्ने र घरधनीको बैंकको कर्जा भुक्तानी समयावधि थप गर्न, उनीहरुले तिर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करसमेत छुट गर्न स्थानीय तहसँगको समन्वयमा विशेष राहत कोषमार्फत् सम्बोधन गरेर वातावरण सहज बनाउने व्यबस्था मिलाउन आग्रह गरिएको छ ।

महामारीले सबभन्दा बढी असर पारेको क्षेत्रका व्यबसायीलाई राहतस्वरुप १ वर्षको व्यबसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन आग्रह गरिएको छ । वर्तमान विषम परिस्थितिमा पनि व्यबसायलाई सहजरुपमा सञ्चालन गर्न न्यून ब्याजदरमा सफ्ट लोनको व्यबस्था गर्न व्यबसायीले माग गरेका छन् ।
व्यबसायीले लकडाउन अवधिमा करोडौं रुपियाँ नोक्सानी ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।

मकवानपुरमा ठूलासाना गरी १ सय ९० होटल छन् । ५ वटा होटल ठूलो लगानीमा निर्माणाधीन छन् । होटल बन्द हुँदा दैनिक ५८ लाख ६३ हजार रुपियाँसम्म क्षति बेहोर्नुपरेको होटल एसोसिएसन मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो ।

पलायनको संघारमा रहेका व्यबसायीको माग सम्बोधन नभए बाध्यताबश व्यबसायीहरु आन्दोलनमा जानुपर्ने अबस्था सिर्जना हुने उहाँको भनाइ छ । पुरानो नारायणी यातायात कंप्रालि (नारायणी यातायात व्यबसायी संघ मुख्य कार्यालय हेटौंडाको रुपान्तरित) ले यातायात क्षेत्रका विषयमा सरकारले गर्नुपर्ने नीतिगत निर्णय र हाल कोभिड–१९ ले सिर्जित समस्या न्यूनीकरणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई, नेकपा जिल्ला अध्यक्षमार्फत् केन्द्रीय अध्यक्षलाई, नेपाली कांग्रेस जिल्ला सभापतिमार्फत् केन्द्रीय सभापतिलाई ज्ञापनपत्र बुझाइएको संघ महासचिव सरोज खनालले बताउनुभयो ।

लकडाउनले घरभाडामा लिएर व्यबसाय गर्नेहरु मारमा परेको घरबहाल सरोकार महासंघ नेपाल मकवानपुर अध्यक्ष नवराज न्यौपानेले बताउनुभएको छ । उहाँले देशमा गरिएको लकडाउनले सम्पूर्ण व्यबसाय बन्द गरिएपछि बैंकको ब्याज र किस्ता, घरबहाल कर, आयकर, घरभाडा, घरबहाल करलगायतमा छुट हुनुपर्ने माग राखिएको बताउनुभयो ।

उहाँले मकवानपुरमा बैंकका किस्ताको समयावधि थप हुनुपर्ने, ब्याज, घरबहाल कर, आयकर र घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गरिएको जानकारी दिनुभयो ।

कोरोना संक्रमण र लकडाउनको समस्या मध्यनजर गर्दै घरबहाल सरोकारले समस्या समाधानका लागि घरभाडामा लिएर व्यबसाय गर्नेलाई कुनै बहानामा निकाल्न नपाइने, लकडाउन अवधिभरको भाडा र आयकरमा कम्तिमा ५० प्रतिशत छुट हुनुपर्ने, बैंकको ब्याज छुट हुनुपर्ने र किस्ताको अवधि सार्नुपर्ने माग गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्