पाका खेलाडीमा भरपर्दै बार्सिलोना



न्यूज अफ नेपाल, काठमाडाैँ ।

पछिल्ला केहि खेलमा साख अनुसारको प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाको समस्या पाका खेलाडीहरु नै पो हुन् की भन्ने प्रश्नहरु तेर्सिन थालेका छन् । केहि वर्षअघिसम्म वजनदार छाप छोड्ने बार्सिलोनाका अधिकांश खेलाडीहरुको उमेर ३० कटिसकेको छ । फुटबल विश्लेषकहरु यसलाई बार्सिलोनामा बढ्दै गएको समस्या मान्छन् ।

तथ्याङ्क अनुसार बार्सिलोनाको पहिलो रोजाईमा खेल्ने ११ मध्ये ८ खेलाडी ३० वर्षभन्दा माथिका छन् । ती आठ जनामध्ये पनि ४ जना ३३ वर्ष पुगिसकेका छन् । बार्सिलोनाका कप्तान लिओनेल मेसी, लुइस स्वारेज, जेरार्ड पिके र आर्टुरो भिडाल ३३ वर्ष पुगिसकेका छन् ।

त्यस्तै, ईभान राकिटिक ३२, सर्जियो बास्क्वेट्स तथा जोर्डी अल्बा ३१ र नेटो ३० वर्षका छन् । समग्रमा हेर्दा बार्सिलोना छोटो समयमा नै एकैपटक थुप्रै चर्चित खेलाडीहरु स्थापन्न गर्ने संघारमा उभिएको छ ।

हुनत, यी खेलाडीको उमेर बढ्दै गएपनि प्रदर्शन भने खासै खस्केको देखिंदैन । तर, विश्लेषकहरुले भने बार्सिलोनाले ती खेलाडीको विकल्प खोज्ने समय आएको बताउन थालेका छन् । तर, कतिपय विश्लेषकहरु भने त्यसलाई मान्न तयार छैनन् ।

उनीहरु आन्तरिक किचलो कारण बार्सिलोना राम्रो प्रदर्शन गर्नबाट चुकिरहेको बताउँछन् । कोरोनाका कारण झन्डै ३ महिना स्थगित लिग पुनः सुचारु हुँदा उत्साहमा देखिएको बार्सिलोनामा अहिले आन्तरिक किचलो पनि बढेको छ ।

लिग पुनः सुचारु हुँदा उपाधि होडमा बलियो देखिएको बार्सिलोना अहिले चिर प्रतिद्वन्दी रियल मेड्रिडबाट पछाडि परिसकेको छ । रियलले लिगका ३४ खेलबाट ७७ अंक जोडेको छ ।

३४ खेल नै खेलेको बार्सिलोना भने ७३ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनालाई रियलले स्पष्ट ४ अंकले पछाडी पारेको छ । रियलले अंक अग्रता बढाउँदै लग्दा बार्सिलोनाको उपाधि होड भने झन् संकटमा परेको छ ।

अब लिगमा अन्तिम चार खेल बाँकी छन् । यी खेलमध्ये रियलले दुई खेल जित्दै एक खेल हारेर एक खेल बराबरी गरे पनि उपाधि जित्छ । यदि बार्सिलोनाले आफ्ना ४ मध्ये कुनै खेल हारे वा बराबरी गरे भने रियलले अझै चाँडो उपाधि जित्नेछ । तर, बार्सिलोनालाई भने उपाधि जित्नका लागि आफ्ना बाँकी ४ वटै खेल जित्नुका साथै रियलले २ खेल हार्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्