गीतकार डा. उपाध्याय १२ भाषामा गीत लेखेर गिनिजमा



गीत रचनामार्फत विभिन्न १४ विश्व रेकर्ड कायम गरेका गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय गीत रचना गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएका छन्। डा. उपाध्याय मायाको सागरमा गीति एल्बमको एउटै गीत १२ भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन्।

यस अवसरमा शनिबार साँझ सिफलस्थित उपाध्यायकै कार्यालयमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे। मन्त्री यादवले उपाध्यायले गीत लेखेरै विश्वको चर्चित रेकर्डसहित १५ विश्व कीर्तिमानी कायम गरेको चर्चा गर्दै उनलाई बधाई ज्ञापन गरे।

यस्तो रेकर्डले विश्वमा नेपालको नाम फैलनुका साथै यसले नेपालीको गौरव बढाएको उनले चर्चा गरे। सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा गीतकार डा. उपाध्यायले समाज र आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएको जनाउँदै देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको चर्चा गरे।

उपाध्यायले अरूभन्दा केही फरक गीत लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १५ विश्व कीर्तिमानी कायम गर्दै नेपाललाई विश्वमा चिनाउन सफल भएको र अझै १० विश्व रेकर्डको तयारी गरेको र त्यसमा केही गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि भएको बताए।

उनले १५ कीर्तिमान बनाएको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने सागर अधिकारी ‘शरद्’, प्रकाश तिमिल्सिनाका साथमा गीतकार उपाध्याय स्वयंले गाएका छन्। यो गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ। गीतकार उपाध्यायले गीत लेखेर एकपछि अर्को कीर्तिमानसहित वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्