स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट शुरु



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट शुरु हुँदैछ । उक्त सम्मेलनमा बिगतमा जस्तो राष्ट्रपति, प्रधानमन्त्रीको तामझाम हुने छैन ।

कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दीले यातायातका साधन नचल्ने भएसँगै सम्मेलन पनि भर्चूअल (जुम सफ्टवेर) माध्यमबाट हुने परिषद्ले जनाएको छ ।

जुम सफ्टवेयरको उद्घाटन परिषदको सभालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार बिहान ९ बजे गर्ने कार्यक्रम तय गरिएकोछ ।

आज देखि दुई दिन सम्म चल्ने सम्मेलनको मुल नारा अन्तर विषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्वोधन भन्ने तय भएको परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो । उक्त सम्मेलनमा ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने जानकारी दिनुभयो ।

सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका २ सय ५२ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्याक्ट परेका थिए । ती मध्ये ८६ वटा मात्र छनौटमा पर्न सफल भएको परिषदले जनाएको छ ।

परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिने जनाएकोछ ।

विगत बर्षम ाझै यसबर्ष पनि उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी गराउनुभयो । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।

परिषद्को स्थापना दिवसको अवसर पारी प्रत्यकबर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आएको थियो । यसपटक कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा १२ अप्रिलका लागि तय भएको यो सम्मेलन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्