कृषक कतै धान लगाउन त कतै स्याहार्न व्यस्त



कविराज नेपाल, पाल्पा

पछिल्लो समय पाल्पाका केही फाँटमा वर्षे धान रोपाइँको चटारो छ भने कतै चैते धान भित्र्याउन कृषकलाई भ्याई–नभ्याई छ ।

पाल्पा जिल्लाका अधिकांश क्षेत्रका कृषकलाई वर्षे धान रोपाइँ गर्न भ्याई–नभ्याई भएका बेलामा रामपुरको ढुङ्गनाबेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिड क्षेत्र, बगनासकाली गाउँ पालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घा पूर्वखोला गाउँ पालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह रम्भा गाउँपालिकाको हुँगी, निस्दी गाउँपालिका क्षेत्र लगायत माडी, अर्गलीमा कतै थोरै त कतै धेरै मात्रामा चैते धान लगाउने गरिन्छ । चैत महिनामा लगाइ असार/साउन महिनामा भित्र्याइने यो धान अहिले भित्राउने बेला भएकाले कृषकलाई चटारो भएको हो ।

पाल्पामा खाद्यान्न बालीअन्तर्गत दोस्रो मुख्य बालीका रूपमा रहेको धान बाली हुने क्षेत्र माडी, अर्गेली, रामपुर, दोभान, हुँगी, सोमादी हुन् । पहिले प्रायः सबैजसो फाँटमा लगाइने गरेकोमा पछिल्लो समय भने केही निश्चित क्षेत्रमा मात्रै लगाइने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । प्रर्याप्त मात्रमा सिँचाइ सुविधा नहुनु चैते धान स्याहार्ने, वर्षे धान लगाउने, मौसम र समय एउटै हुँदा प्रर्याप्त मात्रामा कृषि मजदुर नभएका कारण क्रमिकरूपमा चैते धान लगाउने परम्परा हराउँदै गएको हो ।

चैते धान कम क्षेत्रफलमा समेत बढी उत्पादन लिन सकिने, वर्षे धानको तुलनामा उपादकत्व क्षमता भएको मानिन्छ । खाद्य सुरक्षाको महत्वपूर्ण भूमिका रहेको चैते धान चिउरा बनाउन निकै उपयोगी मानिन्छ ।

जिल्लामा अहिले चलन चल्तीमा आएका चैते १, चैते २, हदिनाथ, टाइचन, बगरलगायतका चैते धानका जात लगाउने गरिएको छ । यसलाई बढावा दिन प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत आर्थिक प्राविधिक सहयोग गरेर पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।

कृषि ज्ञान क्षेत्रले करिब २ सय रोपनी क्षेत्रफलमा चैते धानको ब्लक नै तयार गरि कृषकका लागि आवश्यक औजारसमेत हस्तान्तरण गर्दा कृषकमा थप ऊर्जा र हौसला बढेको कृषक बताउँछन् । रामपुर क्षेत्रमा पकेट कार्यक्रमअन्तर्गत दिइएको सहयोगले कृषकलाई थप प्रोत्साहन मिलेको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिनुभयो ।

रामपुर नगरको कृषि शाखा प्रमुख ज्ञानहरि पाण्डेका अनुसार नगरक्षेत्रको सिँचाइ सुविधा पुगेको दुईवटा वडाका कृषकले भने यो धान खेतीलाई निरन्तता दिँदै आएको र उत्पादनसमेत राम्रो भएको बताउनुहुन्छ । धान खेतीका लागि यस वर्ष उपयोगी मौसम भएकाले पनि उत्पादन राम्रो भएको कृषकको भनाइ छ ।

प्रदेश सरकारको कार्यक्रमअन्तर्गत रामपुरलाई छनोट गरी पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले कृषक समूहमार्फत सहयोग पु¥याई चैते धानको प्रवद्र्धन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

जिल्लामा ७ सय ५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत सन्तोष पाठक परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा थप प्रोत्साहन दिँदै अन्य क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्न सकेमा अझ उत्पादन वृद्धि गर्न सकिने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्