कर तथा राजस्व छुट गर्न आग्रह



पोखरा, (नेस)

लकडाउनका कारण यति बेला रेस्टुरेन्ट तथा होटल व्यवसाय सञ्चालनमा आएका छैनन् । पर्यटन क्षेत्रका होटल व्यवसायीहरू पलायनसमेत हुँदै गएको स्थितिमा कास्कीका होटल व्यवसायी तथा रेस्टुरेन्ट व्यवसायीले संक्रमणकालसम्मको कर तथा राजस्व छुट गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

देशभर रहेका ८० हजार होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीलाई धराशयी हुनबाट बचाउन होटल व्यवसायी महासंघ नेपालले पटक–पटक अग्रह गरे पनि आफूहरूको मर्मलाई सरकारले नबुझेको महासंघको आरोप छ ।

संघदेखि स्थानीय सम्मका सरकारले बजेट ल्याए पनि आफूहरूका लागि भने कुनै किसिमको कार्यक्रम नल्याउनु राज्यले आफूहरूलाई उपेक्षित गरेको होटल संघको आरोप छ ।

‘सरकारले मझौला होटल व्यवसायीलाई समेट्न सकेन, हामिलाई अहिलेको अवस्थामा भाडा तिर्न समेत हम्मे हम्मे परेको स्थिति छ तर सरकारले बुझेन सरकारले अभिभावक देखाउन नसकेको महसुस गरेका छौं’, नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष केपि शर्मा उपाध्यायले भन्नुभयो– ‘हामी अब लकडाउन कुरेर बस्न सक्दैनौं, स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य सामग्री सहुलियतमा दिएर अब व्यवसाय सञ्चालन गर्न दिनुपर्छ । सरकारको भर पर्दा व्यवसाय धरापमा पर्ने देखियो ।’

पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति तथा धम्पुस पर्यटन व्यवसायी समितिले संयुक्तरूपमा सरकारलाई १२ बँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले घरभाडामा छुट, बिजुली, पानीको महसुल मिनाहा र टेलिफोन तथा इन्टरनेटलगायतको महसुलमा विशेष सहुलियत, कर तथा राजस्वमा छुट, जारी मापदण्डअनुसार सावधानी अपनाएर खोल्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्