मेगा बैंक नेपाल र गण्डकी विकास बैंकको एकीकृत कारोबार शुरू



न्युज अफ नेपाल,काठमाडौं ।

मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार शुरू गरेको छ ।आइतबार पोखरामा गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिनुभयो ।बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गरिएको जानकारी दिनुभयो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा रहेको गण्डकी विकास बैंक मेगा बैंकमा गाभिएको हो । अध्यक्ष शाहका अनुसार मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ बराबर १ रहेको छ ।

मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगा बैंक निक्षेपका आधारमा २७ वटा बैंकमध्ये ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको जानकारी दिनुभयो ।

मर्जर अघि गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको थियो । मर्जरपछि बैंकको चुक्ता पुँजी १३ अर्ब रुपियाँभन्दा बढी हुने बैंकले जनाएको छ । चैत मसान्तको एकीकृत तथ्यांकका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी रहेको छ । बैंकको २०६ शाखा र १४२ एटीएम पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्