अलबिदा अभिधम्मका अन्तर्राष्ट्रिय व्याख्याता

भिक्षु ज्ञाणपूर्णिकको शंखमुलमा दाहसंस्कार



न्य्ुज अफ नेपाल, काठमाडौं ।

स्वर्गीय संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको आईतबार शंखमुल घाटमा दाहसंस्कार गरियो ।

भिक्षु, भिक्षुणी, विभिन्न बौद्ध संघसंस्था प्रतिनिधि एवं सयौं उपासक उपासिकाहरुबीच स्वर्गीय भिक्षुको दाहसस्कार गरिएको हो । बौद्ध परम्परा अनुसार मरणानुस्मृति (मृत्यू स्मरण बोध हुने श्लोक ) पाठ गरे लगतै स्थविरवाद बुद्धधर्मको परम्परा अनुसार दाहसंस्कार कार्य अघि बढाईएको थियो ।

कार्यवाहक संघनायक भिक्षु बोधिसेन महास्थविर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर र भिक्षुणीको तर्फबाट भिक्षुणी ञाणवतीले स्वर्गीय भिक्षुको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । त्यस लगतै सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । यस अघि संघीय सांसद् कृष्णगोपाल महर्जनले सरकारको तर्फबाट भन्दै भिक्षुको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउनुभयो ।

यस अघि नयाँ बानेश्वर, मिनभवनस्थित विश्व शान्ति विहारबाट शवयात्रा शुरु भएको थियो । यात्रामा उपत्यकाहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, पाल्पा, बुटवल लगायत स्थानबाट बुद्धधर्मको अनुयायीहरु सहभागी भएका थिए । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, बौद्ध दर्शन प्रर्वद्धन समितिका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि विहारमा पुग्नुभएको थियो ।

भिक्षुको निधनले अपूरणीय क्षति

 

 

भिक्षुको निधनले बुद्ध धर्म र नेपालको एक बौद्धिक र आध्यात्मिक व्यक्तित्व गुमाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले शोक वक्क्तव्य जारी गर्नुभएको छ । भिक्षुको निधनले बुद्ध धर्म र नेपालको शान्ति स्थापनामा अपूरणीय क्षति पुगेको वक्क्तव्यमा उल्लेख गरिएको छ ।उहाँको निधनप्रति दुःख व्यक्त गर्दै म्यानमार, थार्ईल्याण्ड, श्रीलंका सरकार त्यहाँ संघसंस्थाले शोक वक्तव्य पठाएको स्वर्गीय भिक्षुका शिष्य भिक्षु निग्रोधले जानकारी दिनुभयो ।

यसैबीच अखिल नेपाल भिक्षु महासंघले एक विज्ञप्ती जारी गरी नेपालको स्थरविरवाद बुद्ध धर्मको पुनःजागरणमा आधुनिक शिक्षा प्राप्त भिक्षु ज्ञाणपूर्णिकको निधनले बौद्ध साहित्यको अनुवाद, अभिधम्मको व्याख्या र बुद्धधर्मको विकासमा ठूलो धक्का लागेको जनाएको छ । महासंघका महासचिव भिक्षु कौण्डयले जारी गर्नुभएको सो विज्ञप्तीमा उहाँको त्याग, लगनशीलताबाट सिकेर बुद्ध धर्मको विकासका लागि थप दायित्व आईपरेको भनिएको छ ।

उहाँलाई सन् २००१ मा म्यानमार सरकारबाट अग्गमहासद्धम्मजोतिकधज र सन् २०१३ मा अग्गमहापण्डित, थाइल्याण्डको महामकुट विश्वविद्यालयबाट सन् २०१३ तथा महाचुलालंकर्णराजविद्यालय युनिभर्सिटीबाट सन् २०१६ मा मानार्थ विद्यावारिधी पदबाट विभूषित गरिएको थियो । बर्माका प्रसिद्ध ध्यान केन्द्र महाशी शासन यैता विपश्यना ध्यान क्षेत्रमा ओवादाचार्य एवं कर्मस्थानाचार्य उपाधि प्राप्त ध्यानगुरु, अभिधर्मका कुशल व्याख्याताको रुपमा ख्याति प्राप्त स्वर्गीय भिक्षुको नेपाल भाषा तथा नेपाली र अग्रेजीमा गरी ५० वटा भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ ।

भिक्षुको ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४ः ३५ बजे ललितपुरको सुमेरुस्थित अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्