ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुँदैनः नेता रायमाझी



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको बताउनुभएको हो ।
आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको बताउनुभयो । ‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ, उहाँले भन्नुभयो ।
रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिनुभयो । ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो ।

हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ’ रायमाझीको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्