चालु आर्थिक वर्षमा १५ सवारी दुर्घटनामा ९ जनाको मृत्यु



शिक्षा पन्त,लमजुङ ।

लमजुङमा चालु आर्थिक वर्षको मध्य असारसम्म १५ सवारी दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ । सडक दुर्घटनामा परि ७ जना पुरुष १ जना महिला र १ जना बालिका गरी ९ जनाले ज्यान गुमाएका हुन् ।

ट्राफिक नियमको पालना नगर्ने ,मादक पदार्थ सेवन गरि सवारी चलाउने, अनियन्त्रित गतिमा सवारी हाँक्ने प्रवृति बढेकाले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारी मूलक सन्देश चालक, सहचालक र पैदल यात्रुलाई प्रदान गर्दै आएको छ । तर पनि दुर्घट्नामा भने कमी आउन सकिराखेको छैन् ।

चालु आार्थिक वर्षमा ट्याक्टर ५ वटा, जिप कार भ्यान ४ वटा, बस २ वटा, ३ वटा मोटरसाइकल र १ ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङका प्रमुख प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाटले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ७ वटा सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष ०७४/०७५ मा १३ वटा र ०७५/०७६ मा १४ वटा सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष २०७३/०७४ मा ४ जना, ०७४/०७५ र ०७५/०७६ मा १०/१० जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए । पछिल्लो समय सडक दुर्घटना बढ्दो र सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्