नेपाल बैंकका तत्कालिन शाखा प्रवन्धक विरुद्ध भ्रष्टाचार मुद्धा

५४ लाख ८४ हजार ४५ रुपियाँ माग दाबी



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी भुपराज कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

उनी विरुद्ध अदालतमा अख्तियारले ५४ लाख ८४ हजार ४५ रुपियाँ भ्रष्टाचार भएको भन्दै मागदाबी समेत लिईएको छ । बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैंकिङ सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको थियो ।

त्यो सिष्टम अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाई समेत प्रयोग गर्न नमिल्ने व्यक्तिगत टेलर आइडि र सिष्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाव किताव अनधिकृत रुपमा खर्च गरी ५४ लाख ८४ हजार ४५ रुपियाँ आफ्नो विभिन्न खातामा जम्मा गरी भ्रष्टाचार गरेको अख्तियारको मागदाबी छ ।

प्रतिक्रिया दिनुहोस्