कांग्रेसले बनायो कोभिड–१९ अनुगमन समिति



काठमाडौं, (नेस)

नेपाली कांग्रेसले विश्वव्यापीरूपमा फैलिएको कोरोनाको अनुगमन गर्न समिति बनाएको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोकत्वमा पार्टीको केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य तथा विभिन्न क्षेत्रका विज्ञ समेटेर ३५ सदस्यीय कोभिड–१९ अनुगमन समिति बनाएको हो ।

गत जेठ २६ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न सहमहामन्त्री डा. महतको संयोजकत्वमा समिति बनाउने निर्णय गरेबमोजिम समिति बनेको अनुगमन समितिका सदस्य–सचिव प्रदीप पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बसेको अनुगमन समितिको बैठकमा डा. महतले स्वास्थ्य र अर्थमन्त्रीसँग भएको छलफल, क्वारेन्टाइनको अनुगमन गर्दाको अवस्थालगायत हालसम्म भएका अनुगमनको जानकारी समितिलाई गराउनुभएको थियो ।

साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्यलगायतका क्षेत्रमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न सरकारबाट भएका कार्यको अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने समितिको निर्णय भएको बताइएको छ ।

अनुगमन समिति सदस्यमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, चन्द्र भण्डारी, गगनकुमार थापा, जीवन परियार, गुरुराज घिमिरे, प्राडा धनेश्वर नेपाल, नैनसिंह महर, बद्री अर्याललगायत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्