सन्दर्भः गुरुपूर्णिमा- सद्गुरुहरुप्रति श्रद्धा, सम्मान र आस्था



  • सावित्रा शर्मा

को हुन् सद्गुरु ?

गुरुले शिष्यमा रहेका अज्ञानता र अँध्यारा पक्षहरुलाई नष्ट गरी आत्मिक ज्ञानबाट प्रकाशित गर्दछन् । त्यसैले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रुप मानिएको छ । महाभारतका रचयिता सत्गुरु वेदव्यासलाई आदि गुरु मानिएको छ । उनैको जन्मजयन्तीको अवसरमा आषाढ शुक्ल पूर्णिमा तिथिलाई वैदिक कालदेखि नै गुरुपूर्णिमाको रुपमा मनाउँदै आएको पाइन्छ । तथापि सम्पूर्ण सद्गुरुहरुप्रति श्रद्धा, सम्मान र आस्था प्रकट गर्ने पवित्र दिन हो यो ।

भक्तिरुपी कर्मबाट स्वयं र जगत्को कल्याण गर्न सकिने परम ज्ञान दिनुभएको हुनाले हिन्दू धर्मअनुसार भगवान् श्रीकृष्णलाई जगद्गुरुको रुपमा लिइएको छ । यसै गरी भौतिक शरीरको जन्म दिने र संस्कारको पहिलो बीज रोपिदिने हुनाले आमालाई हरेक सन्तानको पहिलो गुरु मानिएको छ ।

विद्यालय तहदेखि विश्वविद्यालय तह तथा अनेक क्षेत्रमा भौतिक शिक्षा प्रदान गर्ने गुरुलाई पनि गुरु मानेर यस दिनमा श्रद्धा–स्मरण गरिन्छ । तथापि अन्तरप्रज्ञाको माध्यमबाट चैतन्यको जागरण गराउने गुरुलाई नै सच्चा गुरु मानिन्छ ।

गुरुले के गर्छन् ?
शारीरिक शुद्धिः अध्यात्मको शुरुवात शारीरिक शुद्धीकरण र निरोगिताबाट प्रारम्भ हुन्छ । शारीरिकरुपमा रोगी मानिसले साधना गर्न कठिन हुन्छ । उपनिषद्ले ‘शरीर माध्यम खलु धर्म साधनम्’ भनेको छ । त्यसैले शरीर शुद्ध, स्वस्थ र निरोगी राख्न भोजनमा सात्विकता, योगासनहरुको अभ्यास, नृत्य, षट्कर्मको अभ्यासजस्ता विधिहरु गुरुबाट प्रदान हुन्छन् । यस्ता अभ्यासले शरीरका नसाहरुको अवरोध खुल्छ, हर्माेन्सहरु सक्रिय हुन्छन्, खाना पाचन राम्रोसँग हुन्छ, श्वासप्रश्वास र रगतको समेत शुुद्धीकरण हुन्छ ।

मानसिक शुद्धिः मन मानिसको चेतनाको खण्डित अवस्था हो । मानवमनमा विगतका संस्कारवश बेहोसीमा गरेका कार्यहरु, पूरा गर्न नसकेका इच्छा, चाहना र कामना तथा सामाजिक विभेद एवं शोषणका कारण उठेका पीडाहरु अचेतन मनको रुपमा कुण्ठित बनेर रहेका हुन्छन् ।

मनोविद्का अनुसार चेतन मन केवल १० प्रतिशत मात्र हुन्छ र अवचेतन मन ९० प्रतिशत हुन्छ । त्यसैले चेतन मनले सकारात्मक बन्ने पटक–पटक संकल्प गर्दा पनि सफलता हात नलाग्न सक्छ । त्यसैले सिद्धगुरुका साधना विधिहरुले मन शुद्ध, पवित्र र स्थिर हुन्छ, मनलाई चाहेको स्थान र कार्यमा केन्द्रीकृत गर्न सकिन्छ । यहाँबाट व्यक्तिको औपचारिक आध्यात्मिक यात्रा प्रारम्भ हुन्छ ।

भावशुद्धिः मानवभित्र खिन्नता, उदासीनता, प्रसन्नता, उत्साहजस्ता भावहरु हुन्छन् । कहीलेकाहीँ हामीले अपेक्षा गरेजस्तो नहुँदा, अरुले अपहेलना गर्दा वा अकारण पनि खिन्नता र उदासीको अवस्था आउँछ । यस्ता भावबाट आफूँलाई अलग्गै राख्न सजगता बढाउनु आवश्यक हुन्छ ।

गौतम बुद्धले सत्य मैत्री, करुणा, मोदिता र उपेक्षाजस्ता भावशुद्धिका विधिहरु दिनुभएको छ । यस्तो अभ्यासले दुःख र सुखमा समभावको स्थिति सिर्जना हुन्छ । जसको जस्तो भावना हुन्छ उसले त्यस्तै सिद्धि प्राप्त गर्दै जान्छ । त्यसैले भावशुद्धि अति नै महत्वपूर्ण छ ।

समग्रमा शरीर, मन, श्वास, विचार र भावको अध्ययन गर्ने र नियन्त्रण गर्ने उत्तम विधि ध्यान हो । ध्यानले नै मानिसलाई सम्पूर्ण कमजोरी र अस्वस्थताबाट सक्षमता र स्वस्थताको स्थितिमा पु¥याउँछ । जब मानिस आफ्नो मन, विचार, भाव र चित्तको अवस्थाप्रति सजग बन्न थाल्दछ बाहिरको अनुकूलता र प्रतिकूलताले उसभित्र कुनै प्रभाव जमाउन सक्दैन ।

उसले आफू शरीर, मन, विचार, भावबाट अलग्गै चैतन्य हो भन्ने कुराको बोध गर्दछ । श्रीकृष्णले श्रीमद्भगवद्गीतामा मानवजीवन एउटा यस्तो परम चैतन्यको अवस्था हो जसलाई न कुनै अस्त्रले काट्न सक्छ, न आगोले जलाउन सक्छ, न त पानीले भिजाउन र हावाले नै सुकाउन सक्छ भन्नुभएको छ । श्रीकृष्णले संकेत गरेको यो परम चैतन्यको अवस्थामा शिष्यलाई पु¥याउन सद्गुरु सक्षम हुन्छन् भनी हाम्रा सद्ग्रन्थले उल्लेख गरेका छन् ।

सल्लाहकार हुन् सद्गुरु
हिन्दू धर्म सम्प्रदायको प्राचीन सभ्यतालाई नियाल्दा समाज र शासन व्यवस्थाको सञ्चालन यस्ता सद्गुरुको मार्गदर्शन, सल्लाह र परामर्शलाई प्राथमिकतामा राखेर गरेको पाइन्छ । भगवान् राम र कृष्ण पनि यस्तै सद्गुरुको ज्ञानबाट परम चैतन्यको स्थितिलाई प्राप्त गरी आफ्नो र जगत्को कल्याण गर्नुभएको कुरा हाम्रा धर्मग्रन्थहरुले उल्लेख गरेका छन् । राजा जनकले सद्गुरु अष्टावक्रबाट आत्मज्ञान र राजकीय ज्ञान प्राप्त गरेको हुँदा उनलाई विदेह भनेर चिनिन्छ ।

सद्ज्ञानको अभावमा देखिएका समस्या

शारीरिक अवस्थाः खानपानमा अस्वस्थता, शारीरिक व्यायामको कमीजस्ता अस्वस्थ जीवनशैलीले रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको प्रस्ट देखिन्छ । कोरोना, एचआईभी÷एड्स, हेपाटाइटिस बी जस्ता प्राणघातक सरुवा रोग र क्यान्सर, हृदयघात, चिनीरोगजस्ता नसर्ने रोगबाट विश्वमा लाखौं मानिसले ज्यान गुमाइरहेका छन् ।

मानसिक अवस्थाः मानसिक अवसाद र डिप्रेसनका कारण मानिस अत्यधिक क्रोध, चिड्चिडाहट, एकाग्रताको कमी, सधैँ उदास र निराश भइरहने, नकारात्मक सोच लिइरहने र आत्महत्यासमेत रोज्ने जस्ता कार्यबाट आफ्नै कुभलो गर्ने क्रम बढ्दो छ ।

विश्वमा ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । विज्ञान र प्रविधि तथा भौतिक सम्पन्नताले समृद्ध बन्दै गएका मुलुकको राज्यसत्तामा रहेका पदाधिकारीमा समेत शक्ति र सत्ताको उन्माद, अहंकार र महत्वाकांक्षा बढ्दै गएको छ ।

यसले मानिसको जीवनरुपी अमूल्य अवसरलाई निरर्थक बनाउन लागिपरेको अनुभूति हुन्छ । मानिसभित्रको मानसिक र भावनात्मक स्वास्थ्यको अवस्था झनै ओरालो लागेको अनुभूति गर्न सकिन्छ । हरेकलाई आफ्नो जीवनको मूल्य कसरी बुझाउने ? खासगरी राज्यव्यवस्थाको उच्च ओहदामा रहेका पात्रहरुको मनोभावना र मनोदसालाई रुपान्तरण गरी निःस्वार्थ भावले विकास, सुशासन र समृद्धि कायम कसरी गर्ने ? भन्ने सवालहरु पेचिला बन्दै गएका छन् ।

त्यसैले हामीले आफूलाई मानसिक र भावनात्मकरुपमा सबल राखेर विभिन्न परिस्थितिको सामना गरी जीवनको मूल उद्देश्य प्राप्त गर्न सक्षम हुनुपर्छ । भयबाट मुक्त भई सकारात्मक एवं सक्षम भएर बाँच्ने र अरुलाई पनि त्यसरी बाँच्न उत्प्रेरणा दिनुपर्छ ।

हरेक व्यक्ति त्यसमा पनि उच्च पद र ओहोदामा रहेका व्यक्तित्वहरुले मानसिक, भावनात्मक शुद्धीकरण गर्दै साँचो अध्यात्मको अनुपालना र सद्गुरुको सत्संगबाट मात्र हरेक परिवार, समाज, राष्ट्र र विश्वमै रहेका कुकृति र दुष्कृति हटाएर सद्भाव, सत्प्रेम, समानता, दिगो शान्ति, विकास र सुशासन संस्थागत गर्न सम्भव हुन्छ ।

सद्गुरुहरुकोे सम्यक साधनाको अनुभव र ज्ञान आजका यावत् शारीरिक, मानसिक, सामाजिक र शासकीय मनोभावजस्ता समस्याबाट पार पाउनका लागि अत्यावश्यक देखिन्छ । गुरुहरुको सच्चा सम्मान भनेको उहाँहरुको अनुभव र साधनाका सिद्ध विधिहरु विश्वकल्याणका लागि प्रयोगमा ल्याउनु हो । त्यस खालको वातावरण निर्माण गर्न सक्दा मात्र सद्गुरुप्रतिको साँचो श्रद्धा–सम्मान हुन्छ । अनि गुरुपूर्णिमा मनाइएको सार्थक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्