कुकुरको मासुको कारोबार प्रतिबन्धित



नयाँ दिल्ली, (एजेन्सी)

भारतीय राज्य नागाल्यान्डले कुकुरको मासुको आयात, व्यापार र बिक्रीमाथि प्रतिबन्ध लगाएको छ । राज्य सरकारको यस कदमको जनावर अधिकारवादी अभियन्ताहरूले स्वागत गरेका छन् । जनवारको हकहितका लागि वकालत गर्ने समूहहरूले लगातार अभियान चलाएपछि भारतको उत्तरपूर्वी राज्य सरकारले प्रतिबन्धको घोषणा गरेको हो ।

यस कदमलाई भारतमा कुकुरमाथि हुँदै आएको अत्यन्तै क्रूर व्यवहारको अन्त्यको प्रमुख मोडका रूपमा स्वागत गरिएको छ । तर केही नागरिक समाज समूहरूले भने यस प्रतिबन्धलाई राज्यको खाना परम्परामाथि गरिएको आक्रमण भन्दै आलोचना गरेका छन् ।

भारतका अधिकांश भागमा कुकुकरको मासु सेवनलाई अवैधानिक मानिन्छ । तर उत्तरपूर्वी केही भागका केही समुदायले कुकुरको मासु स्वादिलो मान्दै खाने गरेका छन् । राज्य सरकारले काँचो र पकाएको कुकुकरको मासु बेच्ने बजारसमेत बन्द गर्ने निर्णय गरिसकेको नागाल्यान्डका मुख्य सचिव तेम्जेन टोयले ट्विटरमार्फत जानकारी गराएका छन् । विश्वका अन्य मुलुक जस्तै चीन, थाइल्यान्ड र दक्षिण कोरियामा पनि कुकुरको मासु खाने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्