धेरैजसो खेलाडीको मनोबल घटेको छ



फिरोज राजोपाध्याय, काठमाडौं

कोरोना भाइरसको कारण ठप्प भएको विश्व खेलकुद अहिले विस्तारै एकपछि अर्को गर्दै शुरू हुन थालेको छ । युरोपका लिगहरू बन्द रंगशालामा आयोजना भइरहेका छन् भने अर्कोतिर अन्य खेल पनि सुचारु गर्न तयारी भइरहेको छ । यस्तैमा नेपालमा पनि केही खेलको अभ्यास शुरू भएको छ । ब्याडमिन्टन, टेबलटेनिस र करातेको अभ्यास भइरहेको छ ।

करातेमा भने महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा गत बिहीबारदेखि नै अभ्यास शुरू भएको हो । कोरोना भाइरसको कारण प्रतियोगिता भने शुरू गर्ने वातावरण भने मिलेको छैन । १३औं सागमा दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले धेरै दिनसम्म घरमै बसेर ठीक नभएको हुँदा कराते हलमै गएर अभ्यास गर्न थालेको बताउनुभयो ।

श्रेष्ठले बताउनुभयो– ‘हामीले सावधानी अपनाएर नै अभ्यास गर्न थालेका हौं । लकडाउनको शुरूआतमा मैले घरमै अभ्यास गरें । तर १५/२० दिनपछि विभिन्न समस्या आउन थाल्यो । म यसपछि यही समयमा राहत बाँड्न र सामाजिक सेवामा लागें । म कमसेकम एक महिना यस्तै सामाजिक सेवामै लागेको थिएँ । लकडाउनको समयमा प्रहरीको ड्युटीमा पनि खटें । अहिले घरमा भएन भनेर कराते हलमै गएर अभ्यास गर्न थालेको हुँ ।

घरमा बसेर अभ्यास गर्दा प्रदर्शनमा कति फरक पर्न जान्छ भन्नेमा उहाँले बताउनुभयो– ‘घरमा परिवार हुन्छ, अन्य घरासयी काम पनि हुन्छ । यसैले प्रशिक्षण स्थलमा जति अभ्यास हुँदैन । घरमा एक घण्टा गरिन्छ भने प्रशिक्षण स्थलमा कमसेकम ४ घण्टा त अभ्यासमै लाग्छन् । यसले खेलाडीको प्रदर्शनमा केही न केही फरक पारिहाल्छ ।’

उहाँले थप्नुभयो– ‘घरमा बसेर धेरै जसो खेलाडीको तौल पनि बढेको छ । ९० देखि ९५ प्रतिशत खेलाडीको यो लकडाउन समयमा तौल बढेको नै छ । यो सबै कारण के भने घरमा उनीहरूले १ घण्टाभन्दा बढी अभ्यास गर्दैैनन् ।’

करातेले लामो समयपछि दक्षिण एसियाली खेलकुदमा सानदार उपलब्धि हासिल गरेको छ । गत मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा करातेमा १० स्वर्ण पदक प्राप्त गरिएको थियो । प्रायःजसोले करातेको स्तर खस्केको भनिरहेको स्थितिमा १३आंै सागमा यतिका स्वर्ण जितेर ती आलोचकको मुख थुनिदिएको थियो । तर यो उपलब्धिलाई निरन्तर दिन समय पनि भएन जब कोरोना भाइरस विश्वमा महामारीका रूपमा फैलियो ।

१३औं साग सम्पन्न भएको करिब ६ महिना नाघिसकेको छ । यस्तोमा प्रतियोगिताहरू प्नि हुन सकेन । खेलाडीहरूको मनोबल पनि घटिरहेको छ । अहिले विकल्प भनेको अनलाइन प्रतियोगिता मात्रै हो । हालै मात्रै पनि नेपालमा अनलाइन कराते सम्पन्न भएको थियो । जसमा श्रेष्ठले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

यसमा श्रेष्ठ बताउनुहुन्छ– ‘कोरोनाले गर्दा प्रतियोगिता भइरहेको छैन, यसले गर्दा कतिपय खेलाडीले न अभ्यास गर्न पाइरहेका छन् न त खेल्न पाइरहेका छन् । धेरै जसो खेलाडीहरूको मनोबल पनि डाउन भएको छ । खेलेर के गर्ने कसो गर्ने भन्ने स्थितिमा छन् यो कोरोनाले गर्दा । सरकारले यसका लागि केही पहल त गर्नैपर्छ । नत्र भने धेरै खेलाडी पलायन पनि हुन सक्नेछन्। सागमा पाएको यति ठूलो सफलतामा ब्रेक लाग्न गइरहेको छ ।’

सागअन्तर्गत करातेमा पदक विजेता खेलाडीहरूलाई कसरी फर्ममा राख्न सकिन्छ भन्ने नै अहिलेको गम्भीर प्रश्न हो । श्रेष्ठ स्वयम् पनि सागमा दोहोरो स्वर्ण पदक (काता र टिम काता) विजेता हुनुहुन्छ । उहाँले यो अहिलेको चुनौती नै भएको बताउनुभयो ।

उहाँले बताउनुभयो– ‘यो कुरा सही हो कि अहिले प्रतियोगिता नहुँदा खेलाडीलाई धेरै मार परिरहेको छ । अभ्यास मात्रै गरेर अहिले खेलाडीहरू खेलसँग जोडिरहेका छन् । मुख्य कुरा भनेको खेलाडीले प्रतियोगितामा सहभागि नै हुनु हो । यो भाइरसले गर्दा कहिलेसम्म प्रतियोगिता नहुने भन्ने अन्योल नै छ । यस्तो बेलामा सरकारले विजेता खेलाडीहरूलाई क्वारेन्टिनमा राखेर भत्ता दिएर ट्रेनिङ अगाडि बढाएमा खेलाडीको मनोबल बढिरहनेछ ।’

प्रतिक्रिया दिनुहोस्