लकडाउनमा स्कुले साथी: दैनिक गुजारा चलाउन नसक्नेलाई राहत



हेटौंडा, (नेस)
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेकालाई दैनिक गुजारा चलाउन हम्मे–हम्मे प¥यो ।

लकडाउन शुरू भएको दुई÷तीन हप्ता धेरै संघ–संस्थाले राहत बाँडे । राहत थाप्न सम्पन्न पनि गए, विपन्न पनि । विस्तारै अरूले दिएको राहत सकिन थाल्यो । अनि, कतिको चुलो बल्न छाड्यो ।

कोही भोको नहुन् भन्ने उद्देश्यले स्कुल पढेका साथीहरू मिलेर विपन्न, असहायलाई सहयोग गर्न दीपिका अधिकारी, बालकृष्ण दाहाल, सविन उप्रेतीलगायत अन्य साथी मिलेर ‘ड्रिम स्क्वाड मकवानपुर’ नामक समूह बनाए ।

साथीहरू मिलेर स्वेच्छिकरूपमा पैसा संकलन गर्दा १ लाख ५० हजार उठ्यो । उठेको रकमले पहिलो चरणको अभियान सफल हुने भएपछि अभियन्ता बालकृष्ण दाहालले खाद्यान्न समस्या भएका ठाउँ पहिचान गर्न थाले ।

सहयोग गर्ने क्रममा सडकमा कष्टकर जीवन बिताउन बाध्य अनाथ, असहाय बालबालिकाको संरक्षण गर्दै आएको मामाघर नेपालमा खाद्य अभाव भएको थाहा पाएपछि त्यहाँ आश्रित २१ बालकका लागि १ सय किलो चामल, ३० लिटर तेल, १५ केजी दाल, ५० केजी आलु, १० दर्जन साबुन, २० केजी प्याज, ४० केजी चिउरा, २० प्याकेट दालमोठ, ८ कार्टुन चाउचाउ, १६ कार्टुन बिस्कुट, ४ केजी चना, ४० केजी चिनी, १० प्याकेट फुरनदाना साथै खेल्न ब्याडमिन्टन २ सेट, लुडो, चेस, स्किपिङ २–२ सेट र २ थान फुटबल गरी ४० हजार बराबर सहयोग गरिएको अभियन्ता दाहाल बताउँछन् ।

कोरोना रोकथामका लागि जारी लकडाउनका कारण सहयोग गर्ने दाताहरू नभएपछि केही चामल मौज्दात रहे पनि अन्य खाद्य सामग्रीको समस्या हुन थालेपछि ड्रिम स्क्वाड मकवानपुरले हेटौंडा–१५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन वृद्धाश्रममा आश्रित २३ वृद्धवृद्धाका लागि खाद्यान्न सहयोग गरेको थियो ।

आश्रम केन्द्रीय अध्यक्ष टीआर निरौला र सहसचिव बोलबहादुर कार्कीलाई जेठ २४ गते ४० हजार बराबरका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

ड्रिम स्क्वाड मकवानपुरले जेठ २८ गते फ्रेन्ड्स हेटौंडामार्फत ७ जना समलिंगी र तेस्रोलिंगीका लागि खाद्य सामग्री सहयोग ग¥यो । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बिहान र बेलुकाको छाक टार्न समस्या भएको गुनासो आएपछि अभावमा परेका ७ जनालाई खाद्यान्न सहयोग गरिएको अभियन्ता दाहालले बताए ।

हस्तान्तरण कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकको हकहितका लागि काम गर्दै आएको फ्रेण्ड्स हेटौंडा संयोजक सुरज थापा किरणले विपद्को घडीमा राज्यका तर्फबाट यौनिक र लैंगिक अल्पसंख्यकको लागि केही नगरेको बताए । उनले समलिंगी तेस्रोलिंगीहरु पनि यही देशको नागरिक भएको बताउँदै साथीहरु मिलेर सहयोग गरेकोमा ड्रिम स्क्वाडप्रति आभार व्यक्त गरे ।

अभियानले झन् मूर्त रूप लियो जेठ ३१ गते । हेटौंडा–११ सिमलटारमा डेरा गरी बस्ने ठेला रिक्सा चलाएर परिवार पाल्दै आएका सुकदेव पाख्रिन लकडाउनका कारण ठेला चलाउन नपाउँदा घरमा खानेकुरा नभएको र भोकभोकै रहेको थाहा पाएपछि आफूहरुले चामल, दाल, तेल, चिउरालगायतका कामग्री सहयोग गरेको अभियन्ता दाहाल बताउँछन् । पाख्रिनका पत्नी र ३ छोरी छन् ।

हेटौंडा–१० आनन्दटोलमा छोराछोरीसहित डेरामा बस्ने मीना खड्का पनि लकडाउनका कारण सरसफाइको काम गर्न नपाएको र दैनिक गुजारा चलाउन समस्या भएपछि चामल, दाल, तेल, आलु सहयोग गरिएको थियो ।

लकडाउनको समयमा सामाजिक कार्यमा सक्रिय ग्रुपले हालसम्म १ लाखको खाद्यान्न सामग्री सहयोग गरेको र बाँकी ५० हजारको एक अनाथ आश्रमबाट सहयोगका लागि अपिल गरेकाले उक्त आश्रममा पनि छिट्टै सहयोग गरिने अभियन्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्