स्कुले साथी मिलेर सहयोगको श्रृंखला



न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ज्यालादारी गरेर जीवननिर्वाह गरिरहेकालाई दैनिक गुजारा चलाउन हम्मेहम्मे प¥यो । लकडाउन सुरु भएको दुई/तीन हप्ता धेरै संघसंस्थाहरुले राहत बाँडे । राहत थाप्न सम्पन्न पनि गए, विपन्न पनि । बिस्तारै अरुले दिएको राहत सकिन थाल्यो ।

अनि, कतिको चुलो बल्न छाड्यो । कोही भोको नहुन् भन्ने उद्धेश्यले स्कुल पढेका साथीहरु मिलेर बिपन्न, असहायलाई सहयोग गर्न दीपिका अधिकारी, बालकृष्ण दाहाल, सबिन उप्रेतीलगायत अन्य साथी मिलेर ‘ड्रिम स्क्वाड मकवानपुर’ नामक समूह बनाए ।

साथीहरु मिलेर स्वेच्छिकरुपमा पैसा संकलन गर्दा १ लाख ५० हजार उठ्यो । उठेको रकमले पहिलो चरणको अभियान सफल हुने भएपछि अभियन्ता बालकृष्ण दाहालले खाद्यान्न समस्या भएका ठाउँ पहिचान गर्न थाले । सहयोग गर्ने क्रममा सडकमा कष्टकर जीवन बिताउन बाध्य अनाथ, असहाय बालबालिकाको संरक्षण गर्दै आएको मामाघर नेपालमा खाद्यअभाव भएको थाहा पाएपछि त्यहाँ आश्रित २१ बालकका लागि १ सय किलो चामल, ३० लिटर तेल, १५ केजी दाल, ५० केजी आलु, १० दर्जन साबुन, २० केजी प्याज, ४० केजी चिउरा, २० प्याकेट दालमोठ, ८ कार्टुन चाउचाउ, १६ कार्टुन बिस्कुट, ४ केजी चना, ४० केजी चिनी, १० प्याकेट फुरनदाना साथै खेल्न ब्याड्मिन्टन २ सेट, लुडो, चेस, स्किपिङ २÷२ सेट र २ थान फुटबल गरी ४० हजार बराबर सहयोग गरिएको अभियन्ता दाहाल बताउँछन् ।

कोरोना रोकथामका लागि जारी लकडाउनका कारण सहयोग गर्ने दाताहरु नभएपछि केही चामल मौज्दात रहे पनि अन्य खाद्य सामग्रीको समस्या हुन थालेपछि ड्रिम स्क्वाड मकवानपुरले हेटौंडा–१५, रातोमाटेमा रहेको दिव्यसेवा निकेतन वृद्धाश्रममा आश्रित २३ बृद्धवृद्धाका लागि खाद्यान्न सहयोग गरेको थियो ।

आश्रम केन्द्रीय अध्यक्ष टीआर निरौला र सहसचिव बोलबहादुर कार्कीलाई जेठ २४ गते ४० हजार बराबरका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । गु्रपले तेल ४० लिटर, गहुँको पिठो ५० केजी, दाल १५ केजी, आलु ५० केजी, साबुन १० दर्जन, प्याज ४० केजी, चिउरा ४० केजी, पास्ता १५ केजी, चाउचाउ ८ कार्टुन, बिस्कुट १६ दर्जन, चना १० केजी, चिनी ३० केजी, ग्लुकोज र ट्याङ जुस ५÷५ प्याकेट र सोयाबिन मस्यौरा २० केजी, सब्जी मसला बेसार २÷२ केजी सहयोग गरेको हो ।

ड्रिम स्क्वाड मकवानपुरले जेठ २८ गते फ्रेण्ड्स हेटौंडामार्फत् ७ जना समलिंगी र तेस्रोलिंगीका लागि खाद्यसामग्री सहयोग गरेको हो । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विहान र बेलुकाको छाक टार्न समस्या भएको गुनासो आएपछि अभावमा परेका ७ जनालाई खाद्यान्न सहयोग गरिएको अभियन्ता दाहालले बताए ।

ड्रिम स्क्वाड मकवानपुरले चामल १ सय केजी, तेल १४ लिटर, दाल १४ केजी, चिउरा ७ केजी, दालमोठ ७ प्याकेट, मस्यौरा ७ केजी, चिनी ७ केजी, नुन १४ केजी, आलु १४ केजी, प्याज ७ केजी, बेसार ७ प्याकेट र मसला ७ प्याकेट गरी १५ हजार बराबरका खाद्यसामग्री सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकको हकहितका लागि काम गर्दै आएको फ्रेण्ड्स हेटौंडा संयोजक सुरज थापा किरणले विपद्को घडीमा राज्यका तर्फबाट यौनिक र लैंगिक अल्पसंख्यकको लागि केही नगरेको बताए । उनले समलिंगी तेस्रोलिंगीहरु पनि यही देशको नागरिक भएको बताउँदै साथीहरु मिलेर सहयोग गरेकोमा ड्रिम स्क्वाडप्रति आभार व्यक्त गरे ।

अभियानले झन् मूर्तरुप लियो जेठ ३१ गते । हेटौंडा–११, सिमलटारमा डेरा गरी बस्ने ठेला रिक्सा चलाएर परिवार पाल्दै आएका सुकदेव पाख्रिन लकडाउनका कारण ठेला चलाउन नपाउँदा घरमा खानेकुरा नभएको र भोकभोकै रहेको थाहा पाएपछि आफूहरुले चामल ६० केजी, दाल ५ केजी, तेल ७ लिटर, चिउरा ७ केजी, दालमोठ ५ प्याकेट, चिनी ३ केजी, मस्यौरा ३ केजी, आलु ५ केजी, प्याज २ केजी, बेसार र मसला १/१ प्याकेट सहयोग गरेको अभियन्ता दाहाल बताउँछन् । पाख्रिनका पत्नी र ३ छोरी छन् ।

हेटौंडा–१०, आनन्दटोलमा छोराछोरीसहित डेरामा बस्ने मीना खड्का पनि लकडाउनका कारण सरसफाइको काम गर्न नपाएको र दैनिक गुजारा चलाउन समस्या भएपछि चामल, दाल, तेल, आलु सहयोग गरिएको थियो ।लकडाउनको समयमा सामाजिक कार्यमा सक्रिय ग्रुपले हालसम्म १ लाखको खाद्यान्न सामग्री सहयोग गरेको र बाँकी ५० हजारको एक अनाथ आश्रमबाट सहयोगका लागि अपिल गरेकाले उक्त आश्रममा पनि छिट्टै सहयोग गरिने अभियन्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्