म्याग्दीका थप पाँचजना कोरोना जितेर घर फर्किए,आज तीनजना थपिएसँगै संक्रमितको सङ्ख्या १९ पुग्यो



न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा थप पाँच जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा कुबेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका पाँच जना आईसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा बेनी नगरपालिका–२, ज्यामरुककोटका २६ वर्षीया एक महिला र रघुगंगा गाउँपालिका–३, राखुपिप्लेका ३३ वर्षीय एकजना पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका २० वर्षीय पुरुष, मंगला–३ र ४, बराङ्जाका २६ वर्षीय तथा २३ वर्षीय पुरुष पनि डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

तीमध्ये बेनपा–२, ज्यामरुककोटका २६ वर्षीया महिला यसअघि कुबेत र मंगला तथा रघुगंगा गाउँपालिकाका चार जना पुरुषहरु भारतबाट म्याग्दी आएर बेनीको क्वारेन्टाइनमा बसेका थिए । यसैबीच पछिल्लो तथ्याङ्क अनुसार म्याग्दीका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट म्याग्दी आएका रघुगंगा–२ र ३ राखुभगवतीका २७ वर्षीय तथा राखुपिप्लेका ४७ वर्षीय पुरुष तथा भारतबाट आएका मंगला–१, कुहुँका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । संक्रमण पुष्टि भएका तीनै जनालाई अहिले बेनीमा रहेको आइसोलेसन कक्षमा भर्ना गरेर राखिएको छ ।

म्याग्दीबाट हालसम्म ४ सय १२ ओटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा ३ सय २४ ओटा नमुनाको रिपोर्ट आएकोमा ३ सय १ ओटा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । त्यस्तै २३ ओटा रिपोर्ट पोजिटिभ आएकोमध्ये संक्रमित बिरामीको दोस्रो, तेस्रो रिपोर्टसहित ८८ ओटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

म्याग्दी जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १९ पुगेकोमा १४ जना पुरुष र ५ जना महिला रहेका छन्भने तीमध्ये १० जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । अहिले आइसोलेसनमा ९ जना रहेका छन्भने बेनीका तीनवटा क्वारेन्टाइनमा कुल १ सय ४५ जना रहेको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्