‘यार्सा संकलन गर्न पाइएन, खान लाउनै समस्या भइसक्यो’



न्युज अफ नेपाल, दार्चुला

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांस स्थानियलाई के खाने र के लाउने अवस्थाको सिर्जना भएको छ । कोरोना भाइरस फैलिने डरले संकट व्यवस्थापन केन्द्रले यसवर्ष यार्सागुम्बा पाइने लेकहरु बन्द गरेपछि यार्सा संकलन गरी वर्षभरी गुजरा चलाउनेहरुलाई निकै मर्का परेको छ ।

विगतका वर्षहरुमा जेठको अन्तिम साता देखि यार्सा संकलन गर्न यार्सागुम्बा पाइने वनहरु खुल्ला गर्ने गरिएकोमा यसवर्ष भने संकलन सिजन लगभग सकिदा सम्म यार्सा संकलकहरुले संकलन अनुमति पाएका छैनन् । विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरी गुजरा गर्ने याहाका अधिकांस स्थानियहरु चरम मारमा परेका छन् ।

एकै घरका ३/४ जना सम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण यसवर्ष सबैको आम्दानी गुमेको छ । गतवर्ष यार्सा संकलन गरी ३ लाख रुपैया आम्दानी गरेका अपिहिमाल गाउँपालिका‐६ का विशन सिंह बुढाथोकीले यसवर्ष यार्सा संकलन नै गर्न पाएका छैनन् ।

‘गत वर्ष यार्सा संकलन गरी ३ लाख कमाई भएको थियो, यसवर्ष यार्सा संकलन गर्न वननै खुलेन के लाउने के खाने भन्ने अवस्थाको सिर्जना भएको छ, उहाले भन्नुभयो ।’ यार्सा संकलन गर्न नपाएपछि उहाको जस्तै धेरैको रोजगारी गुमेको छ ।

यार्सा संकलन गरी दैनिकी चलाउने याहाका स्थानिय लकडाउनले निकै समस्या परेको छ । गतवर्ष यार्सा संकलन गरी कमाएको पैसा सकिएपछि ब्याँस गाउँपालिका‐२ दुम्लिङका चञ्चल सिंह जोहारीलाई पनि गुराजा चलाउन मुस्किल नै परेको छ । ४ जनाको परिवार भएका उनलाई बच्चाहरुको विद्यालय शुल्क तिर्न र हात मुख जोड्न समस्या भएको छ ।

‘यसवर्ष यार्सा संकलन गर्न पाइएन लकडाउनले सबै गाउँघर तिर आएका छन्, चरम बेरोजगारी सिर्जना भयो, के गरी गुजरा चलाउने हो उहाले प्रश्न गर्नुभयो ।’ स्थानिय सरकारले दिएको बाटोको योजनामा मजदुरी गरेर हातमुख जोड्न सकिएको छ, उहाले भन्नुभयो ।
जिल्लाको मार्मा, अपिहिमाल, ब्याँस र नौगाड गाउँपालिकाका अधिकांस स्थानियहरु यार्सा सङ्कलन गर्न जाने गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र अन्र्तगतका वनहरु अपी, नाम्पा, दुधिवन, लोलु रोखापु, क्षत्ति, धरमघर, चाइमटेला लगायतका क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइन्छ ।

यार्सा संकलन नहुँदा यसवर्ष सरकारलाई प्राप्त हुने ठुलो राजश्व रकम समेत गुमेको छ । गत आर्थिक वर्षमा दार्चुलाबाट ४ सय ४५ किलोग्राम यार्सा निकासी भएको थियो, भने १ करोड २८ लाख ५० हजार राजश्व संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्