मोदीको टिप्पणीप्रति चीनले फर्कायो जवाफ 



एजन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पूर्वी लद्दाखको लेहमा पुगेर सैनिकलाई सम्बोधन गरेका छन् । मोदीले चीनसँगको दोहोरो भिडन्तमा घाइते भएका सैनिकलाई भेटेका थिए । सम्बोधनमा मोदीले चीनतर्फ इसारा गर्दै विस्तारवादको युग समाप्त भएको बताएका थिए ।

मोदीको यस्तो टिप्पणीप्रति चीनले आफ्नो प्रतिक्रिया दिएको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले ट्वीटमा लेखेका छन्, ‘चीनका १४ छिमेकी मध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको छ, यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको छ । छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरी, कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई बिस्तारवादको रुपमा देखाइनु आधारहीन छ ।’

गत जुन १५ मा भारतीय र चिनियाँ सैनिबीच सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भिडन्त भएको थियो । जसमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो भने दर्जनौँ सैनिक घाइते भएका थिए ।

चीनतर्फ पनि दुई जनाको मृत्यु भएको भारतले दावी गरेको छ । तर, चिनियाँ तर्फबाट भने यस्को आधिकारिक जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्