कपाल रोपाइ गर्ने हो ?



लक्ष्मण अधिकारी

तपाईंको टाउको चिल्लो हुने गरी के कारणले कपाल झरेको होला ?’ डाक्टरले नै बिरामीलाई सोधे ।

बिरामी जोश निकालेर फाइँफुट्टी छाँट्न थाले, ‘बाहिरको मान्छे काठमाडौं आएपछि पानी चेन्ज भो, जाडोले गर्दा तातो पानीले नुहाइयो, चाया पनि पर्रयो, राम्रो पार्न जेल पनि लाइयो, हेल्मेटले टाउकोमा थिचेको थिच्यै हुन्छ, यस्तैले कपाल झरेको हो कि भन्ने लाइराछ डा. साब ।’ यति भनेर खुइले तालु सुमसुम्याउँदै उनी ङिसिक्क हाँसे ।

डाक्टरले, ‘तपाईंले सोचेजस्तै अरु धेरैले पनि सोच्ने गर्छन्, तर यो सबै भ्रम मात्र हो, यस्ता कारणले अलि–अलि झरे पनि तालु नै चिल्लो हुने गरी त झर्दैन’ भनेपछि, भने उनको अनुहार चुक खाएजस्तो भयो ।

पुरुषको कपाल झरेर तालुपना आउनुको प्रमुख कारक एन्ड्रोजेन्स नामक पुरुष हर्मोन हो । यो हर्मोन अण्डकोषबाट निस्कन्छ र शरीरका विभिन्न भागमा गएर मानिसलाई पुरुषका गुण दिन्छ । यस हर्मोनको नकारात्मक विशेषताचाहिँ निधार, तालु र टुप्पीको कपाल मसिनो झुसजस्तो पारेर झार्नु हो ।

यो रोचक संवाद धुलिखेल अस्पतालको छालारोग विभागमा भइरहेको थियो । कपाल झरेर निराश बनेका मानिसहरुको ठूलै समूह उपचारका लागि पर्खिरहेको थियो । कपाल झरेकाले कसैको निधार ठूलो भएको थियो, कसैको अगाडिको भागमा आधा मात्र कपाल थियो भने कसैको तालु र टुप्पीको क्षेत्रसम्म पूरै चिल्लो । यसै कारण आप्mनो व्यक्तित्व खुम्चिएको महसुस गरी कतिपय साह्रै उदास देखिन्थे । डाक्टरहरु कसैलाई औषधिले उपचार गर्ने तरिका बताउँदै थिए, कसैलाई सर्जरी नै गरेर कपाल प्रत्यारोपण गर्न सुझाव दिँदै थिए भने कसैलाई कपाल बचाउने तरिका सिकाउँदै ।

कपाल किन झर्छ त ?

पुरुष र महिलामा कपाल झर्ने कारण प्रायः उस्तै हुन्छ । तर पुरुषमा झर्ने कपाल र महिलामा झर्ने कपाल अलि फरक खालको हुन्छ । पुरुषमा कपाल झर्ने भनेको मुख्यतः तालुपना नै हो । तालुपना महिलामा पनि हुन्छ, तर पुरुषमा छ्याङ्गै देखिन्छ भने महिलामा कम । चिकित्सकहरुका अनुसार ३५ वर्ष पुग्दा ४० प्रतिशत मानिसलाई तालुपना शुरु भइसकेको हुन्छ भने ६० वर्ष पुगेका करिब ६५ प्रतिशत मानिसको कपाल झरिसकेको हुन्छ । मुख्यतः कपालको स्याहार नपुग्नु र वंशाणुगत कारणले गर्दा युवावस्थादेखि नै मानिसको कपाल झर्ने गर्छ ।

डा. शेखर केसी

कपाल झर्नुका कारणबारे धेरै मानिसले अनुमान गरेको भन्दा भिन्न कारण बताउँछन् केश विज्ञ चिकित्सकहरु । धुलिखेल अस्पतालका हेयर ट्रान्सप्लान्ट सर्जन डा। शेखरबाबु केसी भन्नुहुन्छ, ‘स्कुल जाने केटीहरुको कपाल कसिलो बनाएर जुरो बाँध्ने गर्दा त्यही बेलादेखि नै उनीहरुको अगाडिको भागमा तालुपना देखिन थालिसकेको हुन्छ । महिलाहरुमा कपाल झर्नुको अर्को कारण कुपोषण हो । महिलाहरुको हेमोग्लोबिनलगायत टिस्युको जाँच गर्दा धेरैको आइरन कमी भएको पाइएको छ । महिनावारी हुँदा रगतसँगै आइरनको मात्रा गइरहेको हुन्छ । अहिलेका केटाकेटीहरु हरियो तरकारी, फलफूल तथा प्राकृतिक खानाभन्दा पाकेटबन्द जंक फुड बढी खाने गर्छन् । यसले गर्दा आइरनको आपूर्ति नै कम हुन्छ ।’

‘त्यस्तै गरी कपालका लागि प्रोटिनको आवश्यकता हुन्छ तर हाम्रो खानामा प्रोटिनको मात्रा ज्यादै न्यून हुने भएकाले पनि धेरैको कपाल झर्ने गरेको छ । डा. केसीका अनुसार मानिस जति केजीको छ उसलाई दैनिक त्यति नै ग्राम (जस्तो ६० केजीको मानिसलाई प्रत्येक दिन ६० ग्राम) प्रोटिन आवश्यक पर्छ । एउटा अण्डा खाँदा जम्मा ६ ग्राम प्रोटिन प्राप्त हुन्छ । तर नेपालीहरु दैनिकरुपमा एउटा अण्डा पनि खाने गर्दैनन्, माछा–मासु र गेडागुडी पनि कम खान्छन्, चीज त झन् थोरैले मात्र खान्छन् अनि कपाललाई कसरी पुग्छ पोषण रु त्यस्तै गरी भिटामिन ‘डी’ र भिटामिन ‘बी १२’ को कमीका कारण पनि कपाल झर्ने समस्या देखिएको छ,’ डा केसी भन्नुहुन्छ ।

छाला तथा कपालसम्बन्धी विशेषज्ञ डा। शेखर केसीका अनुसार, महिलाहरुमा कपाल झर्ने कमन कारण थाइराइड रहेको छ । साथै छालाको बाथ (लुपस) को कारणले पनि महिलाहरुको कपाल झर्छ । जीवनमा कुनै तनाव भयो भने कपालले पहिले चाल पाउने भएकाले यसका कारण पनि कपाल झर्ने गर्छ । पुरुषहरुमा पनि प्रायः यिनै कारण (महिनावारी भएर आइरन कमी हुनेबाहेक) ले कपाल झर्नेछ ।’

किन हुन्छ पुरुषमा तालुपना ?

पुरुषमा धेरैजसो तालुपना देखिन्छ । यस्तो हुँदा निधार, तालु र टुप्पीवरिपरिको कपाल झर्छ । काननजिक र पछाडिको तल्लो भागचाहिँ बाँकी रहन्छ । तालुपनाको प्रभाव पुरुषमा बढी देखिन्छ, जसले गर्दा पुरुषहरु आप्mनो सुन्दरता गुमेको महसुस भएर खिन्न हुने, खासगरी युवाहरु फोटो खिच्न पनि मन नपराउने र कोही–कोही त डिप्रेसनको सिकार नै हुने गरेको डा। केसी अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कतिपय केटाहरु तालुपनाका कारण केटी साथीहरु पनि बनाउन नसकेकाले डिप्रेसन भएर आएको पनि पाइएको छ । एकजना युवा त केटी हेर्न गएको तर उसको तालुपनातिर इंगित गर्दै केटीले ‘छ्या’ भनेको सुनेपछि रिसले कपाल रोप्न आएका थिए । कपाल ठीक अवस्थामा आएपछि बिहे गरेर त्यो केटीलाई भेट्न गएको सुनाएका थिए ।’

डा. केसीका अनुसार पुरुषको कपाल झरेर तालुपना आउनुको प्रमुख कारक एन्ड्रोजेन्स नामक पुरुष हर्मोन हो । यो हर्मोन अण्डकोषबाट निस्कन्छ र शरीरका विभिन्न भागमा गएर मानिसलाई पुरुषका गुण दिन्छ । यस हर्मोनको नकारात्मक विशेषताचाहिँ निधार, तालु र टुप्पीको कपाल मसिनो झुसजस्तो पारेर झार्नु हो ।’

सामान्यतया कपाल झर्ने समस्या बीस–बाइस वर्षदेखि शुरु हुन्छ र बढ्दै जान्छ । ८० वर्ष पुग्दा धेरै मानिसको ८५ प्रतिशत कपाल झरिसकेको हुन्छ । किशोरावस्था लागेपछि अण्डकोषमा पुरुष हर्मोनको विकास हुने भएकाले कतिपयलाई चाहिँ बाह्र–तेह्र वर्षदेखि नै कपाल झरेर तालुपना देखिन थाल्छ ।

उपचार कसरी गर्ने ?

कपाल के कारणले झरेको हो, त्यो पत्ता लगाएपछि कपाल झर्नबाट रोक्न वा झरिसकेको कपाल फेरि उमार्न सकिन्छ । डा. केसी भन्नुहुन्छ, ‘विशेष गरी ट्राइकोस्कोप (trichoscope) ले जाँच्दा कपाल झर्नुका कारण थाहा हुन्छ र त्यसै अनुसार उपचार हुन्छ । उपचारका लागि मेडिकल, सर्जिकल र पीआरपीमध्ये कुनै विधि अपनाउन सकिन्छ । पीआरपी विधि भर्खरै आएको हो र यसमा आफ्नै रगत निकालेर प्रोसेसिङ गरी इन्जेक्सन दिने गरिन्छ ।’

डा. केसी आफूले मेडिकल विधिलाई बढी महत्व दिने गरेको बताउनुहुन्छ । ‘साधारण उपचार गरेर नै ठीक हुन सक्छ भने अरु हाइफाइमा किन जाने ?’ भन्ने उहाँको तर्क छ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (FDA) नामक संस्थाले स्वीकृत गरेको फिनस्टेराइड (finasteride) नामक खाने औषधि र मिनोक्सिडिल (minoxidil) लगाउने औषधि नै मुख्यरुपमा कपालको उपचारका लागि प्रयोग गरिन्छ, जुन प्रायः संसारभर नै प्रचलनमा छ । कपाल प्रत्यारोपण नै गर्दा पनि मिनोक्सिडिलचाहिँ प्रयोग गर्ने गरिन्छ ।’

धुलिखेल अस्पतालले मेडिकल विधिबाट कपालको उपचार गर्ने कार्य पहिलेदेखि नै गरिआएकोमा सर्जिकल विधिचाहिँ सन् २०१४ बाट शुरु गरेको अस्पतालले जानकारी दिएको छ । जसको धेरै कपाल झरेको छ, उसलाई सर्जिकल विधि अपनाउने गरिन्छ । अस्पतालका अनुसार सर्जिकल विधिमा टाउकोपछाडि बाँकी रहेको थोरै कपालमध्ये मेसिनले एउटा–एउटा निकालेर खालि भागमा रोप्ने गरिन्छ । यसरी ठाउँ सारेर रोपिएको कपाल कसैलाई रोपेको तीन महिनादेखि नै आउँछ भने कसैलाई ६ महिनासम्म लाग्न सक्ने डा. केसीले जानकारी दिनुभएको छ । यसरी कपाल प्रत्यारोपण गर्दा टाउकोको कति भागमा कपाल सारेको हो, त्यो क्षेत्रफलको आधारमा ५० हजारदेखि ३ लाख रुपियाँसम्म खर्च लाग्ने डा. केसी जानकारी दिनुहुन्छ । मेडिकल विधिमा चाहिँ प्रतिमहिना हजार रुपियाँ जति पर्ने र यो अलि लामै समयसम्म लगाउनुपर्ने हुन सक्छ । यो उपचारसँग सम्बन्धित औषधिलगायतका सामग्रीहरु अमेरिकाबाट नै ल्याउने गरेकोले उपचार खर्च केही महँगो देखिएको अस्पतालको भनाइ छ ।

सर्जिकल विधिबाट कपाल प्रत्यारोपण गर्दा बिहानदेखि गरेर बेलुकासम्म ६ देखि ८ घण्टा लाग्छ र ४८ घण्टा घरमै आराम गरेपछि काममा जान सकिन्छ । यसरी आफूले कपाल प्रत्यारोपण गरेका करिब २ हजार बिरामीमा कसैलाई पनि कुनै साइड इफेक्ट नभएको डा. केसीको भनाइ छ ।

कपाल प्रत्यारोपणमा मानिसको बढ्दो रुचिका कारण कहिलेकाहीँ दुई महिनासम्म प्याक हुने गरेको अस्पतालले जानकारी दिएको छ । कपाल प्रत्यारोपण कार्यमा विशेष गरी २० देखि ४० वर्षको उमेर समूहका मानिसको रुचि बढी देखिएको छ र ७८ वर्षसम्मका मानिसले सो अस्पतालमा कपाल प्रत्यारोपण गरेको पाइएको छ । अस्पतालका अनुसार नेपालका विशेष गरी शहरी क्षेत्रका र अस्ट्रेलिया, जापान, अमेरिका एवं मध्यपूर्वका एनआरएनहरु कपाल प्रत्यारोपण गर्न धेरै आउने गरेको जानकारी अस्पतालले दिएको छ ।

कपाल झरेको कसरी थाहा पाउने ?

नुहाएको बेला २० देखि ३० वटासम्म कपाल झर्नु सामान्य हो । कसैको ८० वटासम्म पनि झर्न सक्छ । यसरी झरेको कपाल फेरि आउँछ । कपाल तीनदेखि पाँच वर्षमा आफैं झर्ने र आउने भइरहेको हुन्छ । तर खाना पकाउँदा खानामा कपाल देखिन थाल्यो, कोर्दा अलि मुठा नै आउन थाल्यो, नुहाउँदा फ्लस नै जाम हुने गरी आउन थाल्यो, सुतेको ठाउँमा टन्नै कपाल देखिन थाल्योे भनेचाहिँ कपाल झर्न थालेको सम्झिनुपर्छ र चिकित्सककहाँ जानुपर्छ । पुरुषको अलि तालुपना देखिन थाल्यो, मानिसले टिप्पणी गर्न थाले भने कपाल जचाउन जानुपर्छ ।
वंशाणुगत कारणले नै कपाल झरेको भए पनि बेलैमा उपचार गर्दा परिणाम राम्रो आउन सक्ने डा। केसी बताउनुहुन्छ । डा। केसीका अनुसार आमातिरका पुर्खामा कसैको कपाल झरेको भए पनि वंशाणुगत कारणले कपाल झर्न सक्छ । कपाल झर्ने वंशाणुगत रोग ८० प्रतिशत आमातिरबाट आउँछ भने २० प्रतिशत जति बुबातिरबाट आउँछ ।’

‘हीरालाई टल्काउनुपर्दैन’

कपाल पनि एउट अंग नै हो । यसको स्याहारका लागि मलजल अर्थात् पोषणयुक्त प्राकृतिक खाना चाहिन्छ, पानी प्रशस्त खानुपर्छ । तर आममानिसको जीवनशैलीचाहिँ यस्तो नभएको चिकित्सकहरुको अनुभव छ ।

कपालको उपचारका लागि धुलिखेल अस्पताल आउने रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकका अधिकांश बिरामी आफूले पालेका कुखुरा, खसी, फलफूल, तरकारी, दूध आदि बजारमा बेच्ने र अस्पतालमा आएर ‘डा. साब एउटा भिटामिन लेखिदिनुपर्रयो भन्ने गरेको अनुभव डा. शेखरबाबु सुनाउनुहुन्छ ।

कपालको स्याहारका सम्बन्धमा डा. केसी भन्नुहुन्छ, ‘आममानिस कपाल सफा गर्ने, मोइस्चराइजिङ गर्ने कुरातिर त्यति धेरै सचेत छैनन् । विज्ञापनको भर परेर जथाभावी गरिरहेका हुन्छन् । उनीहरुले राम्रो सल्लाह पनि पाइरहेका हुँदैनन् । साबुन कपाल धुनका लागि नभई शरीरका लागि बनाइएको हो । यो कसैले भनिदिँदैन । कपालका लागि स्याम्पु र कन्डिसनर बनाइएको छ । तर मानिसहरु डिटोल, लाइफ ब्वाइजस्ता कडा केमिकल भएका साबुनले समेत कपाल धुने गर्छन्, जसले तुरुन्तै कपाल झर्ने हुन्छ । कपाल जति नुहायो त्यति सुख्खा हुने भएकाले दैनिक नुहाउनुपर्दैन । साथै कपाललाई मजबुत बनाउनका लागि नुहाउनु अघिल्लो साँझ कुनै तेल (नरिवल) कपालमा लगाउनु राम्रो हुन्छ । त्यस्तै गरी कपाललाई गुम्स्याएर नराख्ने र हेयर ड्रायर नगर्दा नै फाइदा हुन्छ । गर्नै पर्ने स्थितिमा ड्रायर अलि टाढा राखेर गर्ने र धेरै तातो नगर्दा कपालमा क्षति कम हुन्छ । यसको साथै अहिले कपालमा विभिन्न रंगहरु लगाउने, विभिन्न रंगका हाइलाइटर लगाउने, हेयर डाई गर्ने, मेहन्दी लगाउने, कपालमा आइरन गर्ने फेसन चलेको छ । हेर्दा क्षणिकरुपमा राम्रो देखिन्छ तर यसले कपालको प्रोटिनलाई क्षति पुर्रयाउँछ । रासायनिक वा भौतिकरुपमा कपाललाई क्षति गर्नुहुँदैन । कपाल घना भयो भने त्यसै राम्रो हुन्छ । हीरालाई टल्काइरहनुपर्दैन ।’

कपालको महत्वपूर्ण विशेषता भनेको व्यक्तिको सुन्दरता वृद्धि गर्नु हो । कपाल बाक्लै मात्रामा झर्न थालेपछि सुन्दरतामा ह्रास आउने मात्र होइन, यसले व्यक्तिको मानसिक स्थितिमा पनि विचलन ल्याइदिन सक्छ । व्यक्ति निराश हुने र आपूmलाई अरुका सामु प्रस्तुत गर्न हिचकिचाउने हुन्छ । भौतिकरुपमा भन्ने हो भने कपाल झरेर निख्रिँदै गएपछि टाउकाको तापक्रम पनि पूर्ववत् सन्तुलित हुँदैन । व्यक्तिको मनमा असहजता र हीनताबोध उत्पन्न हुन सक्छ ।

त्यसकारण किशोरावस्थादेखि नै कपालको स्याहार गर्ने, यसको पोषणमा ध्यान दिने र कुनै पनि कारणले कपाल झर्ने समस्या शुरु भएको संकेत देखिनासाथ सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । बेलैमा उपचार गरे कपाललाई सुन्दररुपमा नै कायम राख्न सकिन्छ । तर कपालको स्याहार नगर्ने, विज्ञापन र अदक्ष मानिसको भर परेर जथाभावी तेल तथा उपचार सामग्री प्रयोग गरेमा कपालले असमयमै साथ छोडेर जाने कुरा निश्चितजस्तै छ । यस्तो अवस्थामा पनि कपाल रोपाइ गरेर सुन्दरता वृद्धि गर्न त सकिन्छ तर यो अलि खर्चिलो हुन सक्छ ।

कस्ताले कपाल प्रत्यारोपण नगर्ने ?

१. मानिसको टाउकोमा करिब एक लाखवटा कपाल हुन्छन् । २० देखि ५० हजार वा सोभन्दा पनि बढी वटा कपाल झरेर तालुपना भएको हुन्छ । यस्तो खालि भागमा पाँच–छ हजार जति कपाल रोपेर अलि राम्रो बनाइन्छ । तर कसैले पहिले जस्तै घना कपाल बनाउँछु भनेर सोचेको छ भने त्यस्ता व्यक्तिले कपाल प्रत्यारोपण नगराउनु नै राम्रो हो ।

२. कपाल प्रत्यारोपणका लागि कानको छेउ र पछाडितिर बाँकी रहेको कपाल (डोनर एरिया) नै खराब छ भने उसको कपाल प्रत्यारोपण सफल हुँदैन, नगरेकै राम्रो ।

३. यदि रक्तचाप र डायबिटिज अनियन्त्रितरुपमा रहेको छ भने उनीहरुले पनि कपाल प्रत्यारोपण नगर्नु नै उचित हुन्छ ।

४. रक्तश्रावको समस्या भएका वा कुनै विशेष खालका वंशाणुगत रोगहरु भएकाले पनि प्रत्यारोपण नगरेकै राम्रो ।

प्रतिक्रिया दिनुहोस्