सम्मोहन विद्या र वशीकरण उपचार



डा. विश्वबन्धु शर्मा ( मानसिक रोग विशेषज्ञ )

जब मैले ३८ वर्षअगाडि काम शुरु गरें, तिनताका उपचारको शैली अहिलेको भन्दा भिन्नै खालको थियो । सामान्य रोगको बिरामीलाई परामर्श मात्र दिएपछि ‘फेरि २ दिनपछि छलफल गरौंला है’ भन्यो भने अक्सर सबैले नै सोध्ने गर्थे, ‘खोई त मलाई औषधि ?’ उनीहरु भन्थे, ‘तपाईंको गफ गज्जबको छ, रमाइलो लाग्यो, यस्ता कुरा सुन्न पाउँदा, दबाई पनि त्यस्तै लेख्नुस् है तुरुन्त छुने । तपाईंका कुराले मात्र मलाई सन्चो लाग्दैन । अलि राम्रो ओखती दिनुस् है ।’

तर हिजोआज गम्भीर प्रकृतिका बिरामी आउँछन् । त्यस्ता बिरामीलाई औषधि नै चलाउनुपर्छ । तर पुर्जी लेख्न थाल्यो भने जवाफ आउँछ, ‘हैन म त दबाई नखाने, यस्तो साइड एफेक्ट गर्छ, किड्नी–कलेजो खान्छ । केमिकलविना उपचार गरुम् न ।’

म प्रश्नवाचक भावले बिरामीलाई हेर्छु । तुरुन्तै बिरामीको उत्तर आउँछ, ‘बुझ्नुभएन कि क्या हो, मैले औषधि नखाने, काउन्सिलिङ या त्यस्तै अरू उपचार विधिबाट इलाज गरौं भनेको । साइकोथेरापीबाट मेरो उपचार हुँदैन र ? ’यसरी बिरामीहरू साइकोथेरापी, काउन्सिलिङ, वैकल्पिक विधिमा विशेष रुचि राख्छन् । यस्तै मध्येको एउटा उपचार विधि हो, हिप्नोथेरापी ।

जो त्यसरी उपचारमा टिकेका थिए तिनीहरु दुव्र्यसनबाट मुक्त थिए । उनीहरुमा मदिराको गन्धले पनि बान्ता हुन्थ्यो । सम्मोहन–निद्रामा भएको व्यक्तिलाई ग्लासमा पानी हालेर रक्सी हो भनी पिउन दिँदा उनीहरुलाई रक्सीकै स्वाद आउँथ्यो र त्यहीँ बान्ता गर्दथे ।

यो विधिमा उपचार गर्ने व्यक्तिले बिरामीलाई मोहित पारी उसको ध्यान आफूतिर तानेर, चरम एकाग्रता सिर्जना गरी एउटै विषयमा केन्द्रित गर्दछ र त्यस्तो अवस्थाको बिरामीले थेरापिस्टको भनाइबाहेक अरु कुरामा ख्याल राख्न सक्दैन । बिरामीको ध्यान, सोच र केही हदसम्म उसको क्रियाकलाप पनि थेरापिस्टको वशमा हुन्छन् । मोहित पारी आफ्नो वशमा राख्ने हुनाले यो विधिलाई ‘सम्मोहन’ या ‘वशीकरण’ भन्नु उपयुक्त हुनेछ । यस लेखमा दुवै शब्दका प्रयोग भएका छन् र तीनको अर्थ हिप्नोसिस भनी बुझ्नुपर्दछ ।

मैले पढेको देश रुसमा यो विधि बढी नै प्रयोग हुन्थ्यो । एकजना गुरु यसका ज्ञाता थिए । खेलाडीको टिमले प्रतिस्पर्धामा भाग लिनुअगाडि उनले खेलाडीहरुको मनोबल यही माध्यमबाट उच्च बनाउँथे । अस्पतालमा भने सामान्य खालका मानसिक रोग, विशेष गरेर हिस्टेरिया (अहिले यसलाई डिसोसिएटिभ/कन्भर्सन डिसर्डर भन्छन्) जस्ता रोगमा प्रयोग गर्थे । त्यसबाहेक मदिरा दुव्र्यसनमा राम्रो परिणामसहित अत्यधिक प्रयोग हुन्थ्यो । लगातारको वशीकरणपछि दुव्र्यसनीमा मदिराप्रति वितृष्णा पैदा हुन्थ्यो ।

नियमित लामो उपचारपछि मदिरा सम्झँदा पनि वाक–वाक लाग्ने अवस्था आएपछि बिरामीलाई हप्तामा तीनपटक, अलि पछि दुईपटक, एकपटक र केही महिनापछि २–३ हप्तामा एकपटक सम्मोहन गरिरहनुपथ्र्यो । बिरामीलाई समूह–समूहमा राखेर पनि उनले वशीकरण सेसन सञ्चालन गर्दथे । मदिराको दुव्र्यसनीले भित्रैबाट छाड्न चाहेको रहेछ भने ऊ आफैं नियमित उपचारमा आउँथ्यो । जो त्यसरी उपचारमा टिकेका थिए तिनीहरु दुव्र्यसनबाट मुक्त थिए । उनीहरुमा मदिराको गन्धले पनि बान्ता हुन्थ्यो । सम्मोहन–निद्रामा भएको व्यक्तिलाई ग्लासमा पानी हालेर रक्सी हो भनी पिउन दिँदा उनीहरुलाई रक्सीकै स्वाद आउँथ्यो र त्यहीँ बान्ता गर्दथे ।

मलाई त्यस्तो दृृश्यले खुूब प्रभावित पारेकोले सम्मोहन विद्यामा विज्ञ बन्ने इच्छा लागेको थियो । ३८ वर्षअगाडि नेपाल फर्कंदा म आफूलाई यो विधिमा पोख्त छु जस्तो लाग्थ्यो । आफूले सिकेका परीक्षण विधि र उपचारका तरिकाहरु आफैं कसैको निगरानिविना स्वतन्त्ररुपले प्रयोग गर्न पाउँदा अर्कै फूर्ति आउँथ्यो । त्यस बेला मानसिक रोगका औषधि सीमित थिए । अहिले जस्तो सुरक्षित र प्रभावकारी पनि थिएन । त्यसैले शुरुका दिनमा औषधितिर भन्दा मनोवैज्ञानिक उपचार विधिहरु अर्थात् साइकोथेरापी (Psychotherapist) को प्रयोग गर्न मन पथ्र्यो ।

मानसिक अस्पतालमा काम गर्न थालेपछि (जुन त्यस बेला वीर अस्पताल परिसरमै थियो) अस्पतालका तत्कालीन निर्देशक डा। विष्णुप्रसाद शर्माले मलाई एकदिन महाराजगन्ज कलेजका मेडिकल विद्यार्थीलाई क्लास लिन लगाउनुभयो । त्यस बेलासम्म टिचिङ अस्पतालमा मानसिक विभाग शुरु भएको थिएन । विद्यार्थीका पढाइका कक्षा र बिरामी परीक्षण वीर अस्पतालमै हुन्थे ।

कक्षामा पसेर मैले ‘म हिप्नोथेरापीको प्रदर्शन गर्न चाहन्छु’ भन्नेबित्तिकै सबैका कान ठाडा भए । मैले हिप्नोसिस, हिप्नोथेरापी र यसको उपयोगिताका बारेमा छोटो जानकारी गराएपछि मञ्चमा एकजना विद्यार्थीलाई वशीकरण गर्ने (hypnotise) प्रस्ताव राखें । इच्छुक विद्यार्थी मञ्चमा आए ।

आजका सुरक्षित र प्रभावकारी अत्याधुनिक औषधिलाई ‘हानिकारक रसायन’ भनेर सेवन गर्न तयार नहुने व्यक्तिहरुका लागि सम्मोहन विधि र वशीकरण राम्रो विकल्प हुन सक्छ ।

मैले भनें, ‘हेर्नुस्, यो जादु हैन, उपचार विधि हो । बिरामीले निको हुने अभिलासा राखेर थेरापिस्टप्रति सहयोगी बने भने मात्र सम्भव हुन्छ । तर हेरौं न, यसले कसरी हिप्नोटाइज गर्ने रैछ रु अथवा यसको प्रयासलाई विफल पारिदिन्छु भन्ने खालका सोच राखेर मनमनै प्रतिशोध गर्‍यो भने वशीकरण सम्भव हुँदैन । त्यो तपाईंले पनि विचार गर्नुहोला ।’

उनले बडो सहजताका साथ भने, ‘हिप्नोसिस गरिँदा कस्तो अनुभूति हुन्छ रु त्यो जान्न र आफैंमा अनुभव गर्न म उत्सुक छु, सरलाई म पूर्ण सहयोग गर्छु ।’

वशीकरण गर्नुभन्दा अगाडि बिरामीसँग यस्तो बाचा गराउन उचित हुन्छ । यसले बिरामीलाई मनोवैज्ञानिक हिसाबले तयार गर्छ । मनका अन्तरकुन्तरमा शंका, अविश्वास, प्रतिशोध गर्ने विचार बाँकी रहेछ भने यस्तो संवादले त्यसलाई फालिदिन्छ ।

मञ्चमा सबैले देख्ने गरी आम्ने–साम्ने एकै खालका दुईवटा कुर्सी राखें । एउटामा उनलाई बसालें, अर्कोमा म । मैले आँखा जुधाएर एकटकले उनको अनुहारमा हेरिरहें । कक्षामा पूरै सन्नाटा थियो । केही हलचल नगरी चुपचाप उनलाई अलिबेर हेरिरहँदा उनमा केही बेचैनी र अप्ठ्यारो शुरु भयो ।

उनीभित्र छटपटी हुन थालेको अनुभव गरेपछि म बिस्तारै कुर्सीबाट उठें । उनलाई अझ बढी सहयोगी (suggestive) बनाउने यो विधि हो । वशीकरण गर्दा थेरापिस्टको कुरा सुनेर पूरा विश्वास गर्ने, जे कमान्ड गर्‍यो त्यही अनुभूति गर्ने अवस्थालाई ‘सजिलै वशमा पार्ने अवस्था (suggestive) भनिन्छ । यी एक–दुई सरल पूर्वतयारीपछि जब उनी पूरा suggestible भएको मलाई विश्वास भयो अनि मैले पट्यार लाग्दो एकोहोरो स्वरमा कमान्ड गर्न थालें–

‘मेरो…स्वर…मात्र…सुन्नुहोस्….’
‘मेरो स्वर मात्र सुनिन्छ ।’
‘तपाईंको वरिपरि सन्नाटा छ…, सुनसान छ ।’
‘तपाईंले मलाई मात्र सुनिरहनुभएको छ ।’
‘तपाईंको शरीर शिथिल भयो ।’
‘तपाईंको परेला गह्रौं भएका छन् ।’
‘ढिलो–ढिलो सास लिनुस् ।’
‘लामो सास लिनुस् ।’
‘तपाईंको मन शान्त छ ।’
‘मलाई मात्र सुनिरहनुभएको छ ।’
‘तपाईंलाई निद्रा लाग्यो ।’
‘तपाईं मस्त निद्रामा हुनुहुन्छ ।’
‘तपाईंको निद्रा गहिरो छ ।’
‘तपाईंले मलाई मात्र सुनिरहनुभएको छ ।’
‘तपाईलाई आनन्दको अनुभव भएको छ ।’ (आदि–आदि)

जब उनी पूर्णरुपले वशीकरण भइसकेका थिए अनि मैले फेरि कमान्ड दिन थालें, ‘तपार्इंका हातखुट्टा फलामजस्तै भारी भएका छन्, घुँडामा टाँस्सिएका छन् । तपाईं हात उचाल्न सक्नुहुन्न । लौ, उचालेर हेर्नुस् त ∕’नभन्दै उनले उचाल्न सकेनन् । शरीरको हाउभाउबाट उनले प्रयास गरेको देखिन्थ्यो । तर हात साँच्चै नै घुँडामा टाँस्सिएका थिए ।

मैले अर्को कमान्ड गरें–
‘तपार्इंको वाक्य बन्द भएको छ ।’
‘तपाईं बोल्न सक्नुहुन्न ।’
‘ल, आफ्नो नाम भन्नोस् त रु’

उनले मुख बिगारे । ओठ चलाए । आँ…गरे । कस्तो–कस्तो आवाज निकाले तर बोली आएन । नाम उच्चारण गर्न सकेनन् । यी सब कुरा हलका विद्यार्थीले हेरिरहेका थिए । जबर्जस्त आँट सफल भएकोमा म दङ्ग थिएँ ।

यहाँनेर के ख्याल राख्नु जरुरी छ भने, सम्मोहन–निद्रामा भएको व्यक्तिलाई गलत काम गराउन सकिँदैन । उसको मनले नचाहेको र गलत लाग्ने कमान्ड दियो भने वशीकरणसमेत पूरै फेल हुन्छ र बिरामी हिस्टेरिया भएझैँ कराउने, उफ्रने गर्छ अनि एकछिन्पछि आफैं जाग्छ ।
मैले उनलाई केही समय त्यही निश्चल अवस्थामा राखेर यो विधिका फाइदा र कमी–कमजोरीको बारेमा हलका विद्यार्थीलाई बताएँ । प्रशिक्षण नपाएको र अनुभव पनि नभएको व्यक्तिले यस्तो विधि अपनाएर असफल भयो भने बिरामीलाई उल्टै हानि हुन सक्छ ।

यसमा रुचि भयो भने राम्रोसँग यसबारे अध्ययन गरेर वशीकरण गर्ने अनुभव भएका व्यक्तिसँग अभ्यास गर्न सुझाव दिएँ । यदि कसैलाई रुचि छ भने एमबीबीएसपछि मलाई सम्पर्क गर्नुस् भनेर अनुरोध पनि गर्न भ्याएँ ।

अनुकूल पर्दा आफ्नो छवि उकास्न कोशिश गर्नै पर्‍यो, नत्र कसरी प्रतिस्पर्धाको भेलमा टिक्ने रु कसरी डाक्टरी गर्ने ? त्यसपछि मैले उनलाई बिस्तारै सजग गराएँ । वरिपरिका हल्ला सुन्न लगाएँ, हात चलाउन कमान्ड गरें । अनि लामो सास फेर्न र आँखा खोल्न लगाएँ । त्यसपछि अन्तिम कमान्ड गरें–

‘अब तपाईं पूर्णतः पहिलाकै अवस्थामा फर्कनुभएको छ ।’
‘खडा भएर आफ्ना साथीहरुलाई आफ्नो अनुभव सुनाउनुस् ।’

पूरा सजग भएर साबिकको अवस्थामा आएपछि उनले आफ्नो अनुभव साथीहरुलाई सुनाए । उनले साँच्चिकै बोल्न प्रयास गरेको तर नसकेको, हातहरु फलामजस्तै गह्रौं भएर टाँस्सिएको र नउचालिएको अनुभव गरेछन् । सबै साथीहरुले ताली बजाएर प्रतिक्रिया दिए ।
यो घटनाले पछि सम्मोहन विद्या र वशीकरण उपचार (hypnotherapy) प्रति म यति आकर्षित भएँ कि अनुकूल पर्नासाथ प्रयोग गरिहाल्थें । प्रायजसो हिस्टेरिया, फोबिया र मदिरा दुव्र्यसनीमा कोशिश गर्थें । गम्भीर मानसिक आघात (यातना, मृत्युको खतरा, बलात्कार, अपहरण आदि) बाट गुज्रेको व्यक्तिलाई पी.टी.एस.डी. (post-traumatic stress disorder)  भन्छन् । यस्ता बिरामीमा यो निकै प्रभावकारी मानिन्छ, यदि अनुभवी र जानिफकार व्यक्तिले प्रयोग गर्‍यो भने । तिनताका यस्ता व्यक्ति धेरै हुँदैनथे । मैले मुख्य त मदिरा दुव्र्यसनीमै धेरै प्रयोग गरें ।

तर मेरो उत्साह धेरै दिन टिकेन । उपचार चलुन्जेल दुव्र्यसनीमा मदिराप्रति घृणा पैदा हुने, सम्झँदा पनि वाक–वाक लाग्ने, गन्धले नै बान्ता हुने, तर उपचार छोडेको ३–४ हप्तामा त फेरि पिउन थालिहाल्ने । रुसमा पनि त्यस्तै हुन्थ्यो होला । तर त्यहाँको नियम कानुनअनुसार डाक्टरले खबर गर्‍यो या बोलाउन पत्राचार गर्‍यो भने जागिर, पेसा व्यवसाय र सामाजिक अवसरमा नै असर पर्ने हुनाले त्यस्तै कडा दुव्र्यसनीबाहेक अरुले बीचैमा उपचार छोड्ने आँट गर्दैनथे । तर जो आइरहन्थे ती ठीक रहन्थे ।

तर नेपालमा उपचार चालू राख्न मेरो हातमा थिएन, त्यसमाथि पनि निजी क्लिनिकमा । यस्तो उपचार चालू राखें भने म सफल हुन्न भन्ने मैले बुझें । बेइज्जत मात्रै हुन्थ्यो । एउटा सफल चिकित्सकको सट्टा चटकेको रुपमा प्रस्तुत हुन्थें । मैले वशीकरण विधिबाट उपचार गर्न चटक्कै छाडें ।

आज ३८ वर्षपछि मलाई लागिराछ कि त्यसरी चटक्कै छाड्नुको सट्टा आफूमा भएको खूबीलाई केही विशेष केसमा भए पनि आक्कलझुक्कल प्रयोग गर्नुपथ्र्यो । बरु बिरामीले बीचैमा छाड्दैन भन्ने सुनिश्चित गरेर मात्र र जो यसप्रति आकर्षित हुन्छन् उनमा मात्र भए पनि प्रयोग गर्नुपथ्र्यो । जति सक्यो धेरैमा प्रयोग गरेर चर्चित हुने चाहनाभन्दा एकादुई बिरामीलाई राम्रोसँग तयार गरेर प्रयोग गर्दै गरेको भए ममा त्यो क्षमता र अनुभव पनि वृद्धि हुँदै जान्थ्यो ।

अहिले साइकोथेरापीले नयाँ भूमिका स्थापित गरेको छ । विभिन्न विधिहरु प्रयोगमा छन् । नियमित उपचार प्रक्रियामा सी.बी.टी. (congnitive behaviour therapy) , आई.पी.टी. (inter-personal therapy) जस्ता विधि प्रभावकारी छन् । यहाँनेर महत्वपूर्ण कुरा के छ भने, यी विधिलाई अझ प्रभावकारी बनाउन सम्मोहन विद्या (hypnothesis) , वशीकरण (hypnotherapy) सँग सम्मिश्रण गरेर प्रयोग गर्ने चलन आएको छ । त्यस बेला भन्दा आज हाम्रो देशमा पनि पी.टी.एस.डी.का बिरामी बढेका छन् । माओवादी द्वन्द्वले नेपाली जनतालाई दिएको सबभन्दा ठूलो ‘उपहार’ नै पी.टी.एस.डी. हो ।

मैले आफ्नो सीपलाई कुनै सुरतले जीवित राख्न सकेको भए आज यसलाई अझ प्रभावकारीरुपले प्रयोग गर्न सकिन्थ्यो होला । तर त्यो बेला मलाई अनेकौं व्यावसायिक कठिनाइ पार गर्दै स्थापित हुनुपरेकोले यो विधिलाई निरन्तरता दिन सकिन । अन्त्यमा आजका सुरक्षित र प्रभावकारी अत्याधुनिक औषधिलाई ‘हानिकारक रसायन’ भनेर सेवन गर्न तयार नहुने व्यक्तिहरुका लागि सम्मोहन विधि र वशीकरण राम्रो विकल्प हुन सक्छ ।

तर यहाँनेर के बुझ्नुपर्छ भने, यो विधिबाट लाभ लिन उपयुक्त विशेषज्ञसित राम्रोसँग छलफल गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ । तर भ्रामक विज्ञापनमार्फत अयोग्य र आफ्नो स्वार्थको लागि प्रयोग गर्न चाहने ठगहरु बाट उल्टो हानि पनि हुन सक्छ ।

(साधना मासिकबाट साभार)

https://sadhana.newsofnepal.com/

प्रतिक्रिया दिनुहोस्