लघुकथा : सन्यासी



नारायण खनाल ।

दामोदरप्रसाद धेरै वर्ष पछि सन्यासी जीवन त्यागी घर फर्किए । सन्यासमा रहँदा पनि उनी भोगी भएको सुनिन्थ्यो । भेषमा अनेक बितण्डा गर्ने,सन्यासी समूहहरु भाँड्ने गरेको हल्ला आइरहन्थ्यो। गाउँमा र उनको आफ्नो घरमै पनि उनको नियतबारे टिप्पणी हुन्थ्यो,शंका गरिन्थ्यो ।घरका सदस्यले उनको बानी सुधार्ने उपाए स्वरुप अन्ततः उनलाई घरमूलिको मान्यता दिए र समाजमा स्थापित गर्न खोजे।

आफ्नो कौडिको आम्दानी नभए पनि निधारमा चन्दन लगाएर सुकिलो पोशाकमा कपाल जेलले लर्काएर टोल छिमेकमा रवाफ देखाउँदै हिँड्ने दामोदरप्रसाद झट्ट हेर्दा त भलाद्मी देखिन्थे ।समय बित्दै जाँदा उनले आफ्नो बास्तबिक चरित्र देखाउन थाले।परिवारका सदस्य बीच मनमुटाब शुरु गराइदिन सफल पनि भए ।

भित्र भित्र आफ्नै घरका सदस्यहर बीच मनमुटाव पैदा गर्न सफल बनेका दामोदरप्रसादको कृयाकलाप उनकी पत्नीले नजिकैबाट नियालीरहेकि थिइन् ।उनी सन्यासमा रहँदा पसिना बगाएर ,आधापेट खाएर ,ठूलो कष्ट झेलेर पनि जहान परिवारलाई पालेकि उनकी धर्म पत्नीले दामोदरप्रसादलाई आफ्नै परिवार नभाँड्न धेरै पटक सुझाव दिइन् ,अनुनयविनय गरिन् तर दामोदरप्रसादले उल्टै पत्नीलाई घरबाटै निकाल्ने दुस्प्रयास गरे।

अन्ततः उनकी पत्नीले दामोदरप्रसादका सबै गलत रबैया र अन्तिम उद्देश्यका बारेमा परिवारका सम्पूर्ण सदस्यलाई जानकारी गराइन् ।त्यसपछि परिवारका सम्पूर्ण सदस्यले दामोदरप्रसादलाई तिरस्कार गर्न थाले र अन्तमा उनलाई पून स्सन्यासी बनेर घर छाड्न बाध्य पारे।

प्रतिक्रिया दिनुहोस्