काभ्रेमा ३४ हजार ९ सय ३७ को स्वास्थ्य बीमा, साढे २ करोड बढी रकम संकलन



मोतीराम तिमल्सिना, काभ्रे ।

२०७६ भदौ २४ गते शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा ९ हजार ५ सय २४ परिवारका ३४ हजार ९ सय ३७ ब्यक्ति सहभागि भएका छन् । स्वास्थ बीमा बोर्ड काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहमा बीमा कार्यक्रम अगाडी बढाएको छ । बीमाबाट २ करोड ५३ लाख ५९ हजार ३ सय रुपैया जम्मा भएको छ ।

स्वास्थ्य बीमा गर्नेहरु मध्ये १८ हजार ९६ जना महिला छन् भने १६ हजार ८ सय ४१ जना पुरुष छन् । महिला स्वास्थ्य स्वयंसेविका परिवार संस्या २ सय १७ जना छन् । जेष्ठ नागरिक २ हजार ४ सय २१ जना छन् । पुर्ण अपाङ्ग परिवार संख्या २ सय ३५, एचआईभी एड्स भएको परिवार संख्या ८ रहेको छ भने कुष्ठ रोगी भएको परिवारका संख्या दुई रहेको स्वास्थ्य बीमा बोर्ड काभ्रेकी प्रमुख मुना निरौलाले जानकारी दिनु भयो । ‘बीमा कार्यक्रममा आर्कषण बढेको छ’–उहाँले भन्नुभयो–‘स्थानीयहरुको सक्रियतासँगै बीमा लागु भएका ब्यक्तिहरु मध्ये ५० प्रतिशतले सेवा लिईसक्नु भएको छ ।’

स्थानीय सरकार अन्तर्गत सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ७ हजार ९ सय ५६ जना ४ हजार ९९ महिला र ३ हजार ८ सय ५७ पुरुष विमित भएका छन् । बनेपा नगरपालिकामा ३ हजार ११ घर महिला र ३ हजार २ सय १४ पुरुष गरी ६ हजार ८ सय २५ जना, पाँचखाल नगरपालिकामा २ हजार ७ सय ४३ महिला र २ हजार ४ सय ९४ पुरुष गरी ५ हजार २ सय ३७ जना विमित भएका छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकामा २ हजार २ सय ३६ महिला र २ हजार ८७ पुरुष गरी ४ हजार ३ सय २३ जना, पनौती नगरपालिकामा १ हजार ९ सय ५९ महिला र १ हजार ९ सय १ पुरुष गरी ३ हजार ८ सय ५९ जना, नमोबुद्ध नगरपालिकामा ९ सय ९ महिला र ८ सय ७७ पुरुष गरी १ हजार ७ सय ८६ जनाको बीमा गरिएको छ । गाउँपालिका तर्फ भुम्लुमा ६ सय ८८ महिला र ६ सय ३९ पुरुष गरी १ हजार ३ सय २७, रोशीमा ५ सय ४२ महिला र ५ सय ४३ पुरुष गरी १ हजार ८५ जना, बेथान्चोकमा ४ सय महिला र ३ सय ७६ पुरुष गरी ७ सय ७६, चौरीदेउरालीमा ३ सय १२ महिला र २ सय ८० पुरुष गरी ५ सय ९२ जनाको बीमा गरिएको छ । तेमाल गाउँपालिकामा ३ सय ८ महिला र २ सय ७१ पुरुष गरी ५ सय ७९ जना, महाभारत गाउँपालिकामा १ सय ७२ महिला र १ सय ८४ पुरुष गरी ३ सय ५६ जना र खानिखोला गाउँपालिकामा १ सय १८ महिला र १ सय १८ पुरुष गरी २ सय ३६ जनाको बीमा गरिएको छ । जिल्लामा १८ हजार ९६ महिला र १६ हजार ८ सय ४१ जना पु्रुषको ३४ हजार ९ सय ३७ को बीमा गरिएको कार्यालय प्रमुख मुना निरौलाले जानकारी दिनु भयो ।

‘स्वास्थ्य बीमा कार्यक्रम’मा देशका सबै नागरिकलाई समेट्ने रणनीति अनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जिल्लामा अभियान शुरु गरेको थियो । बीमा गरिएको परिचय पत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति २० हजार बराबरको सेवा सुविधा दिइने भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । १० जना बराबर २ लाख रुपैयासम्मको सेवा प्राप्त हुनेछ । काभ्रेका १ सय ३५ वडामै बीमा कार्यक्रम शुरु भएको छ ।

महिला स्वास्थ्य सेविकाहरुको परिवारको हकमा बीमा रकममा ५० प्रतिशत छुट गरिएको छ भने पुर्ण अपाङ्ग परिवार, एचआईभी एड्स भएको परिवार र कुष्ठ रोगी भएका परिवारका सदस्यहरुलाई पूर्ण निशुल्क गरिएको छ । जेष्ठ नागरिकहरुको हकमा ७० वर्ष पुरा भएका ब्यक्तिहरुको १ लाख रुपैयासम्मको बीमा निशूल्क गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

प्रतिक्रिया दिनुहोस्