पैसा र पदविरुद्धको राजनीतिक शैली आवश्यक



  • बालकृष्ण मैनाली

कोरोना नामक शत्रुको आक्रमण जारी नै छ । कोरोना भाइरसले कति अवधिसम्म सताउँछ अर्थात् त्यसको अन्त्य कहिले हुन्छ र विश्व जनमतले ढुक्कसँग आ–आफ्नो दैनिकीमा विनाडर र त्रास सहभागी हुन पाउने हुन् भन्ने कुराको विश्वले आजसम्म जानकारी पाउन सकेको छैन । यही बढ्दो संक्रमितको आँकडालाई दृष्टिगोचर गर्ने हो भने अबको केही दिनमा नै नेपालभित्र संक्रमितको संख्या २० हजार नाघ्नेछ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गर्ने गरेका थरी–थरीका भनाइले पनि विश्व नागरिकमा तनावको स्थिति पैदा गराइदिएको भए तापनि कतिपय मुलुकमा मानवहरु हूलका हूल विभिन्न स्थानमा भेला भैरहेका दृश्यसहितका सामाचारहरु सार्वजनिक भैरहेका छन् ।

हाम्रो देशमा पनि यस किसिमका भेलाहरु यो वा त्यो नाउँमा जानअन्जानमा भैरहेका छन् । यस अर्थमा जनजन अब आ–आफ्नो इष्टदेवलाई पुकार्दै जे त होला भन्दै आफ्नो दैनिकीमा फर्किने लक्षणहरु देखाउने तरखरमा लागिपरिसकेका छन् । मानवको बहाव र आउने–जाने संख्यामा हुँदै गएको पछिल्लो वृद्धिदरले यस कुराको पुष्टि गरेको छ ।

पछिल्लो समय विभिन्न तीनवटा विषयले देशमा चर्चा बटुल्न पुगे । पहिलो संसद्मा प्रस्तुत भएको नागरिकता विधयेकको चर्चा । दोस्रोचाहिँ नागरिकता विधयेकबारे गनगन भैरहँदा कोरोना जन्तरले एक्कासि सामाजिक सञ्जालमा प्रवेश पाप्त गरेको विषय हो । त्यस्तै तेस्रो– प्रधानमन्त्री पद धरापमा पारिएको भन्ने समाचार र त्यो समाचारलाई लक्षित गर्दै आफूलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने, यदि हटाइएमा अरु कसैले पनि राष्ट्रिय हितमा दह्रो किसिमले कुरा राख्न नसक्ने, दह्रोरुपमा कुरा राख्न सक्ने व्यक्तिको अभाव रहेको संकेत गर्दै प्रधानमन्त्रीले आफ्नो बचाउ गर्नुभएको प्रसंग ।

यी तीनवटै विषयले सार्वजनिक सञ्चारमाध्यममा राम्रै स्थान ग्रहण गरे । कोरोनाको जन्तरबारे एक प्रबुद्ध व्यक्तिले भनेका रहेछन्, ‘नेकपाका माधव नेपालले कुनै डाक्टरबाट प्राप्त गर्नुभएको भनेर वितरण गर्नुभएको र मैले के हो मलाई पनि दिनुहोस् भनेर मागें, मलाई पनि दिनुभयो अनि लगाइदिएँ ।’ पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा आएको प्रत्युत्तर थियो यो कोरोना जन्तरका बारेमा । सामाजिक सञ्जालमा उनको भेषभूषा देख्दा शायद माथिल्लो स्तरका कर्मचारी जस्ता देखिन्थे उनी ।

कोरोना जन्तरको वास्तविक रहस्य के हो ? यसले के काम गर्छ ? भन्ने बारे बिस्तारै पछि खुल्दै जाला तर पछिल्लो विषयबारे चर्चा गर्दा हाम्रा प्रधानमन्त्रीज्यूलाई आफ्नो पद धरापमा परेको महसुस भएछ र उहाँले आफ्नो पदलाई कसैले असर पार्न नसक्ने भन्दै चुनौती दिनुभएको छ । यससम्बन्धमा विशेष गरी छिमेकी मुलुक भारतबाट आफ्नो पदलाई धरापमा पारिएको प्रधानमन्त्रीज्यूको भनाइ र आसय देखिन्छ । यस विषयमा विभिन्न टीकाटिप्पणी र आलेखलगायतका सामग्रीहरु सार्वजनिक हुन थालेका छन् । यसबारेमा अझ थप केही समय राजनीतिक तरंग जारी रहिरहनेछ भन्ने कुरामा जनजन विश्वस्त छ ।

नेपालमा सत्ता प्राप्ति र सत्ता बहिर्गमन जनमतले भन्दा पनि जनमतलाई माध्यम बनाएर बाहिरिया शक्तिहरुको चलखेलबाट हुने कुरामा जनजन विश्वस्त र अभ्यस्त भैसकेका छन् । वर्तमानमा प्रधानमन्त्रीको पद यदि गइहालेछ भने पनि त्यस्तै शक्तिहरुको चलखेलको कारण जान सक्ने हुन्छ र डर पनि त्यसैको उपज हो भन्ने कुरामा जनजन द्विविधामा पक्कै छैनन् । प्रधानमन्त्रीको यो भनाइबाट जतिसुकै तिहाइको सरकार भए पनि तालाचाबी अन्तै हो भन्ने कुरालाई जनजनले पछिल्लोपटक प्रस्टरुपमा आत्मबोध गरे ।

जबसम्म व्यक्तिगत वा सामूहिक राजनीतिक शैलीलाई जनहितको पक्षमा सम्बोधन गर्ने कार्यमा अग्रसर गराइँदैन र अग्रसर हुनेतिर लागिँदैन तबसम्म देशको जुनसुकै पदमा आसीन रहेको व्यक्तिमा जुनसुकै बेला आफ्नो पद धरापमा रहेको महसुस हुन पुग्छ । दुई तिहाइकै जनमतबाट प्रधानमन्त्री भएको भए पनि सदैव आफ्नो प्रधानमन्त्री पद धरापमा परेको अनुभूतिले भित्रैभित्रै डसिरेहको हुन्छ भन्ने कुराको प्रमाण यो भन्दा बलियो अरु हुन सक्दैन ।

एक कमजोर छिमेकी देशमा राजनीतिक स्थिरता कायम गर्न नदिनु प्रत्येक बलियो छिमेकी मुलुकहरुको रणनीतिक कार्यभित्र पर्छ नै । झन् उसमाथि हाम्रो जस्तो देशमा जहाँ राजनीतिलाई जनमतको कदर र जनजनको सेवामा समर्पित गराइनुभन्दा पनि तीन ‘प’ अर्थात् पद, पैसा र प्रतिष्ठाको जगमा राजनीतिलाई सञ्चालन गरिने भएपछि वर्तमानमा देखिन लागेको नतिजाभन्दा पृथक् नतिजा देखा पर्ने कुरामा सन्देह छैन र थिएन पनि ।

छयालीसपछि सतहत्तर भनेको एकतीस वर्षको अन्तराल हो । यो कम अवधिको अन्तराल हुँदै होइन । जनमतले दलहरुलाई जिम्मा लगाइदिएको एकतीस वर्षपश्चात् जनजनले राजतन्त्रीय कालमा भएको बेथितिभन्दा सके अन्त्य नै हुनुपर्ने अन्त्य नभए पनि कम्तीमा कम बेथिति हुनुपर्ने होइन र ? यस्ता प्रश्न उठाउने अवसर किन प्रदान गरे विभिन्न नामधारी दलका राजनीतिक व्यवसायीहरुले ? सब राजनीतिक व्यवसायीहरु मौन छन् यो सवालमा ।

प्रत्येक दलका राजनीतिक व्यवसायीहरु आफ्नो राजनीतिक सत्ता टिकाउन सदैव आफ्ना गुटका वा केही विरोध गुटका राजनीतिक व्यवसायीहरुलाई पद, प्रतिष्ठा र पैसाको भरमा आफ्नो पक्षमा पार्नेबाहेक अरु इमानदारी खेल न त खेल्न जाने, न त इमानदार भनिएका राजनीतिक व्यवसायीहरुले सिकाउन सके । कुनै पनि राजनीतिक व्यवसायीहरु सत्तामा हुन्जेलसम्म विकासै विकास र परिवर्तन नै परिवर्तन देख्ने तर सत्ताबाट हटेपछि केही नभएको देख्ने रोगले ग्रस्त भएको देश बन्न पुग्यो हाम्रो देश ।

वर्तमान प्रधानमन्त्रीज्यूका कतिपय भनाइ र भाषणहरु पनि यस्तै प्रकृतिका रहेका छन् । आफ्नो राजनीतिक, आर्थिकलगायत आफू र आफू केन्द्रित स्वार्थ विपरीत जनजनको स्वार्थलाई सम्बोधन गरिएको हुन्थ्यो भने आज यस किसिमको रोइलो आवश्यक पर्ने थिएन । आज देशमा युवाहरुले आफ्नो देशभित्र पसिना बगाउन पाएका हुन्थे भने यत्रो महामारीको समयमा पनि होनहार युवाहरुको शव बक्साभित्र बन्द भएर स्वदेश भित्रिने थिएन, न त चेलीहरु विदेशमा गर्भधारण गरी स्वदेश फिर्किनुपथ्र्यो । अरु त अरु, बलियो जनमत पाएको भनिएको सरकारको पालामा पनि राज्यका हरेक अंंगमा देखिएका बेथिति र समस्याहरुको कारण नै प्रधानमन्त्री पद धरापमा परेको हो ।

जबसम्म आँखा चिम्लेर वा नचिम्लेर देशमा मौलाउँदै गएको भ्रष्टाचारको खम्बालाई यो वा त्यो नाउँमा मलजल गरिँदै लगिन्छ, तबसम्म भ्रष्टाचारका जननीहरुले भ्रष्टाचारको भारमार्पmत नै भ्रष्टाचारको भित्तोलाई ढलान गरी खडा गरेको भित्तो धराशायी हुने कल्पना पनि गर्न सकिँदैन । त्यसरी दश रेक्टरको भुइँचालोले पनि नछुने गरी मजबुतसँग जरो गाडेर बसेको विभिन्न नामधारी भ्रष्टाचारको भित्तोलाई हल्लाउन आफ्नो ज्यान जोखिममा राखेर भए पनि दह्रो पाइला नचालेसम्म वर्तमानको लर्तरो शासनले उक्त भित्तो फोर्न सकिँदै सकिँदैन । भष्ट्राचारी भित्तो फोर्न लर्तरो औजारले काम गर्दै गर्दैन । त्यसलाई फोर्न सशक्त औजारको आवश्यकता पर्दछ र ती औजार भनेका क्षमता भएका युवाहरु नै हुन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने प्रधानमन्त्रीय बोलीरुपी औजार भ्रष्टाचारविरुद्धको सशक्त औजार बन्न सकेन । उक्त बोलीले आजको दिनसम्म आइपुग्दा पनि सार्थकता प्राप्त गर्न सकेन । भ्रष्टाचारको भित्तो त्यत्तिकै बलियो भएको हुँदै होइन । त्यो भित्तोलाई पैसा, पद, प्रतिष्ठालगायत राजनीतिक बेइमानी, अदूरदर्शिता आदि सबैले मिलेर सशक्तरुपमा प्राणप्रतिष्ठा गरिएको छ, जुन सितिमिति ढल्ने अवस्था छैन । मान्छे खाने कोरोनाले समेत यो भित्तोलाई सामान्यरुपमा पनि कोतर्न सकेन । कोतर्न त परै जाओस्, उल्टै कोरोनालाई अर्बौंको राशीले कोतर्नसम्म कोतर्दियो ।

कुनै पनि विधाको माध्यमबाट वा कसैको गुलियो वचन वा भाषणबाट मात्र अभिप्रेरित भएर राजनीतिक व्यवसायीहरुको जान–अञ्जानमा दास बन्न पुगेका युवाहरुको आँखा अब खोलिनुपर्दछ र स्वतन्त्र युवा नागरिक समाजको नेतृत्व बहन गरी स्वतन्त्र नागरिक सरकारको सदस्यको भूमिका निभाउनु श्रेयष्कर हुन जान्छ । प्रत्येक दलका युवाहरु अब स्वतन्त्र नागरिकको हैसियतमा सडकमा आउनु आवश्यक छ । दलले सदस्यता खारेज गर्दिन्छ वा कारबाही गर्छ भन्ने चिन्तालाई युवाहरुले अब वाग्मतीमा विसर्जन गरिदिनुपर्दछ । दलीय नेतृत्वलाई एकपल्ट मान राख्न राज्य सञ्चालनको अवधारणा र खाकासहित युवाहरुलाई सत्ता हस्तान्तरणको लागि नेतृत्वलाई एकपल्ट अन्तिम मौका दिनु उपयुक्त मानिन्छ ।

युवाहरुको अवधारणा प्राप्त हुनासाथ दलीय नेतृत्वले पनि त्यसलाई गम्भीरतापूर्वक लिई त्यसलाई सार्थक सम्बोधन गर्नु अपरिहार्य मानिन्छ । स्वतन्त्र नागरिक सरकारको आवश्यकताबारे बहस चलेको धेरै भैसेकेको छ । विभिन्न दलीय नेतृत्वले युवाहरुलाई आफ्नो गोजीको सिक्काजस्तो कहिले उता पल्टाउने, कहिले यता पल्टाउने गरेर खेलाइराख्ने कार्यलाई तुरुन्त रोकेर देश निर्माणको अभियानमा भूमिका खेल्न र सो अनुसार कदम चाल्न ढिला भैसकेको छ ।

वर्तमानमा जनजनको अभिलासालाई सम्बोधन गर्ने आकांक्षा दलीय नेतृत्वको मनमा पलायो भने दुई उपाय अवलम्बन गर्न सकिनेमा जनजन विश्वस्त छन् । पहिलो वर्तमान प्रधानमन्त्रीले स्वतन्त्र नागरिक समाजका सदस्यहरुसमेत समावेश गरी सर्वदलीय बैठक बोलाउनु उचित हुन्छ । त्यसपछि आफ्नै नेतृत्व वा अन्य कुनै राज्य सञ्चालनमा विशिष्ट क्षमता भएका व्यक्तित्वको नेतृत्वमा क्षमता भएका युवाहरुसहितको सानो मन्त्रिमण्डल छोटो अवधिका लागि गठन गर्नु राम्रो हुन्छ ।

र, त्यो समूहबाट राज्यको वास्तविक समस्यालाई सम्बोधन गर्ने प्रयास गर्ने वा सर्वदलीय बैठकको माध्यमबाट सबै युवालाई आफ्नो राजनीतिक दासताबाट मुक्त गरिएको सन्देश प्रवाह गर्दै स्वतन्त्ररुपमा आफ्नो धारणासहित निर्वाचनमा सहभागी हुन मध्यावधि निर्वाचनको वातावरण तयार पारेर मार्गप्रशस्त गरिदिनु उपुक्त हुन्छ । वर्तमान प्रधानमन्त्रीले त्यो खालको भूमिकामा आफूलाई ढाल्न सक्नुभयो भने त्यस किसिमबाट निर्माण हुन पुगेको सरकारका सदस्यहरुलाई आफ्नो पद धरापमा पर्ला भन्ने चिन्ता कहिल्यै हुँदैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

पाठक पत्र
प्राविधिक शिक्षाको चेतना
हिजोआज नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व पनि बढ्न लागेको छ । प्राविधिक शिक्षाले विद्यार्थिको क्षमता अभिवृद्धि मात्र गरेको छैन यसले रोजगारीको अवसरसमेत सिर्जना गरिदिएको छ । सीप सिकेका मानिसलाई सिर्जनशील बन्नसमेत मद्दत पु¥याइरहेको छ । मुलुकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीको आकर्षण पनि प्राविधिक शिक्षातर्फ नै बढेको छ ।
नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चश्व देखिएको छ ।
भारतीय लगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं । यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ । हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर र गरिब हुँदै गइरहेका छौं । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ ।
खास गरी खाडी देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । प्राविधिक सीप लिएका युवाहरुले आफैं रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारीमा काम गर्दा पनि राम्रो तलब पाउने, सिर्जनशील र मेहनती हुने भएकाले पनि यो शिक्षा आफैंमा बृहत् छ ।
यो आवश्यकतासँगै आज प्राविधिक शिक्षा अत्यन्त महँगो हुँदै गएको छ । शिक्षा नागरिकहरुका लागि महँगो बाध्यता बन्दै गइरहेको वर्तमान अवस्थामा पनि प्राविधिक शिक्षा कमाइ खाने भाँडो बन्न थालेको छ । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुने हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा दिन्छ ।
नेपालमा वार्षिक करिब ५ लाख युवा श्रमबजारमा प्रवेश गर्छन् भन्ने तथ्यांक छ । तर ती युवासँग बजारमा बेच्नको लागि प्राविधिक ज्ञान वा सीप असाध्यै कम हुन्छ वा हुँदै हुँदैन । प्राविधिक शिक्षाले व्यक्तिको आर्थिक प्रगतिको लागि आवश्यक सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्छ र व्यावहारिक ज्ञानले व्यक्तिलाई प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक प्राविधिक सीपयुक्त बनाउँछ ।
विज्ञान प्रविधिमा दिनहुँ नयाँ परिवर्तन भइरहेका छन् । मानिसका धेरै पेसा अभिन्नरूपमा प्रविधिमा आश्रित बनेका छन् । यसले प्राविधिक शिक्षाको सान्दर्भिकता बढाएको छ । तोकिएको समय सीमाभित्रै यी लक्ष्य हासिल गर्न पनि प्राविधिक शिक्षाको विकासबाट मात्र सम्भव हुन्छ । प्राविधिक शिक्षाको क्षेत्रमा लगानी अपेक्षाकृत बढी भए पनि यसले दिने प्रतिफलको मूल्य धेरै महत्वपूर्ण हुन्छ ।
नेपालको समावेशी आर्थिक विकासको लागि प्राविधिक शिक्षालाई विभिन्न शिक्षालयमार्फत देशका सबै भागमा विकास र विस्तार गरी सबै नेपालीको सहज र सरल पहुँच स्थापित गर्नेतर्फ सरोकारवाला सबैको ध्यान जान अति जरुरी छ ।
– शंकर बम्जन, हेटौँडा ।

युवा हामी देशका शक्ति
युवा देशका शक्ति हुन् । युवाविनाको देश विकास कल्पना पनि गर्न नसकिने कुरा हुन् । तर विडम्बना ! नेपालमा हामी युवा देशका नारा मात्र भएका छौँ । पार्टीहरुका भ्रातृ संगठनमै आफैंलाई खुम्च्याएर बसेका छौँ । अनि बाँकी सोझा युवा रेमिट्यान्स भित्र्याउन खाडी जान बाध्य छन् । यसरी युवाहरुमाथिको यो रजाइँ अब अति भयो ।
यसरी देश विकास हुन सक्दैन । हामी डटेर लाग्नुपर्ने बेला भएको छ । युवावर्ग देशको राजनीतिको मेरुदण्ड हो । आजसम्म देशमा भएका सबै आन्दोलनहरू र व्यवस्था परिवर्तनका लागि भएका संघर्षमा यो वर्गले निर्णायक भूमिका खेलेको छ । राजनीतिलाई माहुरीको घारसँग तुलना गर्दा यो वर्गलाई फूलको रस संकलन गर्ने कामदार माहुरी भन्न सकिन्छ, जो दिनरात विकास र परिवर्तनका लागि खटिन्छन् ।
देशका युवा यसरी स्वस्फूर्तरुपमा एकजुट भई विसंगतिका विरुद्ध उठ्नु स्वतन्त्र राजनीतिक संस्कारको बिहानी हुन सक्छ । युवावर्गमा सामाजिक चेतना अब जागरुक हुनुपर्दछ । भगवान् बुद्धले भनेझैँ दुई फरक धारको अतिवादले ल्याएको समस्याको समाधान मध्यमार्गी बाटो नै हो । अबको युवा पुस्ताले पनि यस समस्याको समाधान मध्यमार्गी बाटोबाटै खोज्नुपर्छ ।
अहिलेको युवापुस्ता खासै राजनीतिमा आबद्ध हुन चाहँदैन । प्रविधिको नयाँ युगमा प्रवेश गर्दै गरेको विश्व समाज होस् या उद्यमिताका सम्भावनाका अनेक पाटाहरुमा होस्, नयाँ युवापुस्ता पुरातन समाज र सोच भात्काउँदै फरक कोणमार्फत आफ्नो भविष्यको खोजी गर्दै छ । यो नै विकासको पहिलो चरण हो ।
तर यसो गर्दै गर्दा हामी देशको राजनीनि वा त्यसले निम्त्याउने परिस्थितिबाट टाढा रहन सक्छौँ भन्ने अवस्थाको परिकल्पना पनि गर्न सकिन्न । त्यसैले अबको युवापुस्ताले राजनीतिक चेतना हासिल गरेर स्वतन्त्र रही सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य राख्नुपर्छ । छिमेकी राष्ट्र भारतका युवामाझ यो संस्कृति स्थापित भैसकेको छ । कुनै बेला नाम चलेका घरानिया जवाहरलाल नेहरु विश्वविद्याअलय र केही सरकारी विश्वविद्यालयका युवामा सीमित रहेको भारतीय युवा राजनीति अहिले आईआईटी र एनआईटीसम्म पुगेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र आलोक अग्रवाल यसका उदाहरण पात्र हुन् । भारतीय युवाहरु आजभोलि आफ्नो करियर र राजनीतिक विचार अनि चेतनालाई सँगै अगाडि बढाउँदै छन् । उनीहरु राष्ट्रिय मुद्दामा खुलेरै बहसमा उत्रन्छन् । युवा जब संगठित हुन्छन् तब अथाह ऊर्जा पनि संगठित हुन्छ ।
यदि यो ऊर्जालाई कुण्ठित गराउन खोजिन्छ भने विष्फोट हुन्छ र पूरै व्यवस्था नै ध्वस्त हुन सक्छ । त्यसैले युवा आवाजको उचित सम्बोधन र ऊर्जाको उचित सदुपायोग हुनुपर्छ । तर युवा भावना र क्षणिक आवेगमा बहकिने जमात पनि हो ।
नेपथ्यको तथ्य के हो भन्नेमा भन्दा पनि कहिलेकाहीँ यो वर्गले मञ्चमा देखिएको वा देखाइएको दृश्यलाई यथार्थ ठान्छ र दुरुपयोग हुन पुग्छ । त्यसैले युवापुस्ताले कुनै पनि विषयलाई हरेक कोणबाट विश्लेषण गरेर त्यसभित्रको यथार्थ बोध गरी अगाडि बढ्नु आवश्यक छ ।
– रेशम सापकोटा, काठमाडौं ।

सामाजिक सञ्जाल
आफूले पाउन नसकेका चीजहरूको चाहना नराखी आफूसित भएका वस्तुहरूमै रमाउन सक्नु नै आनन्द प्राप्त गर्नु हो ।
द्यबकबलत ऋजबगमजबचथ
२दबकबलत)अन

अहिलेको पुस्ताले नभोगेका यति ठूला दुई प्रकोपले जनता आक्रान्त छन् । यस्तो बेलामा जनताको आवाज बोलिने संसद् बन्द गराएर सत्ताको खेलमा लिप्त लम्पटहरूको पक्षमा बोल्न त लाज नि लाग्नुपर्छ है ।
ब्लष् िएचबतबउ ब्मजष्पबचष्
२ब्मब्लष्एिचबतबउ

प्रत्येक व्यक्तिमा एउटा अद्वितीयपन वा क्षमता लुकेको हुन्छ । यसलाई जन्म नदिनु, पत्ता नलगाउनु, यसको जिम्मेवारी नलिनु भनेकोचाहिँ तपाईं आफैँलाई र तपाईंको सपनाबाट जतिले लाभ उठाउन सक्थे उनीहरूलाई पनि नकारात्मकरूपमा असर पार्नु हो ।
प्चष्तष्पब त्जबचग
२ल्भउबष्ःिबबलड

प्रतिक्रिया दिनुहोस्