अस्कर अप्रिलमा



कोरोना संक्रमणबाट हुने कोभिड–१९ का कारण फिल्म क्षेत्रकै विश्व प्रतिष्ठित अस्कर अवार्ड दुई महिनापछिका लागि सरेको छ।

यसअघि फेबु्रअरी महिनामा हँदै आएको अवार्ड दुई महिनापछि सरेर अप्रिलमा पुगेको छ। अस्करको ९३औं संस्करण आगामी २०२१ अप्रिल २५ का लागि तय भएको छ। तर, विश्वभर चलिरहेको कोरोना महामारीका कारण अस्करले अवार्ड आयोजनाको मितिसँगै केही नियममा पनि परिवर्तन गरेको जनाएको छ।

नेपालको अस्कर कमिटीका सदस्य सामीप्यराज तिमल्सेनाका अनुसार नेपाललाई पठाइएको सूचनामा यो वर्ष फिल्म पठाउने समयसीमा दुई महिना पर धकेलिएको छ।

अघिल्ला वर्षमा अक्टोबर अन्तिमसम्ममा फिल्म पठाइसक्नुपर्ने प्रावधान रहेकामा यस वर्ष डिसेम्बर ३१ सम्ममा अस्करका लागि फिल्म पठाइसक्नुपर्ने प्रावधान राखिएको छ। महामारीका कारण रिलिज गर्ने समयसीमा तोकेर पनि रिलिज हुन नसकेका फिल्मका लागि पनि यो साल अस्कर अवार्ड लचिलो भएको छ।

अघिल्ला वर्षहरूमा कुनै पनि फिल्म हलमा रिलिज भई हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनुपर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट गर्ने कार्यकारी समिति रहेको छ। जसमा राजेन्द्र सलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाईंं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्