कोरोना संक्रमित बढेपछि आइसोलेसन कक्ष



विमल विष्ट, डोटी

कोरोना भाइरसका संक्रमितको उपचारका लागि जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीमा २५ बेडको आइसोलेसन बेड स्थापना गरिएको छ ।

उक्त नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि नगरपालिकाले २५ वेडको आइसोलेसन बेडको स्थानपना गरेको हो । वडामा यसअघि नेपाली सेनाले स्थापना गरेको अस्थायी क्वारेन्टाइनलाई २५ बेडको आइसोलेसन कक्षमा परिणत गरिएको हो ।

नगरपालिकाले स्थापना गरेको उक्त आइसोलेसनका लागि मानवीय सेवामा अनेकौं प्रयास (साइन) नेपाल संस्थाले आवश्यक सामग्री सहयोग गरेको हो । आइसोलेसन सञ्चालनका लागि साइन नेपाल संस्थाले आइसोलेसनका लागि नगरपालिकालाई सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

कुल २५ बेडको आइसोलेसन स्थापनाका लागि संस्थाको तर्फबाट बेडिङ म्याट्रेस २५ थान, तन्ना २५ थान, तकिया २५ थान र सुपानेट झुल २५ थान उपलब्ध गराएको छ । सो संस्थाले यसअघि पनि राहत तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ भने सीमाबाट प्रवासीको उद्धार कार्यमा समेत सहयोग गरेको थियो ।

हाल स्थापना भएको अस्थायी आइसोलेसनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनीहरूको स्वास्थ्य उपचार, चेकजाँच, खान–बस्नको व्यवस्था मिलाइने नगर प्रमुख सीताराम जोशीले बताउनुभयो ।

सो ठाउँमा ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण, स्वास्थ्य सरसफाइ र प्रवासबाट आएका व्यक्तिको श्रम नगरको विकासमा प्रयोग गर्ने गरी नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख धौलीदेवी रावलले बताउनुभयो ।

होम आइसोलेसनमा नियमपूर्वक बसेका संक्रमित सँग निरन्तर सम्पर्कमा रहेको र परामर्श दिँदै आएको शिखर नरपालिका स्वास्थ्य एकाइ प्रमुख हरीश शाहले बताउनुभयो । उहाँले भन्नुभयो–नगरपालिकामा रहेका नागरिकमा स्वास्थ्य समस्या देखिए वा लक्षण देखिए तुरुन्त उपचार हुने गरी तयारी थालिएको छ, आत्तिनुपर्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्