रियललाई चार अंकको अग्रता



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मेड्रिडले ४ अंकको स्पष्ट अग्रता बनाएको छ । लिगको ३३औं चरणको खेलमा रियलले छैटौं स्थानको गेटाफेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै उपाधि होडमा चार अंकको अग्रता बनाएको हो ।

दवाबपूर्ण खेलमा रियललाई घरेलु मैदान अल्फ्रेडो डेस्टेफानोमा जित दिलाउन खेलको अन्तिम समयतिर कप्तान सर्जियो रामोसले गरेको १ मात्रै पेनाल्टी गोल नै निर्णायक सावित बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको ७९औं मिनेटमा रियलले पेनाल्टी पायो ।

ड्यानीले बल लिएर दौडिरहेका बेला बक्समा गेटाफेका खेलाडीले फाउल गरेर लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी हान्ने अवसर दिएका थिए । जसमा कप्तान रामोसले बिना गल्ती बललाई जाली चुमाएपछि रियल १–० ले विजयी बन्यो ।

जितसँगै रियलले उपाधि होडमा ज्यादै महत्त्वपूर्ण ३ अंक जित्न सफल भएको छ । रियलले लिगका ३३ खेलबाट ७४ अंक जोडेको छ । समान ३३ खेल नै खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनालाई रियलले स्पष्ट ४ अंकले पछाडी पारेको छ ।

रियलले अंक अग्रता बढाउँदै लग्दा बार्सिलोनाको उपाधि होड भने झन् संकटमा परेको छ । अब लिगमा अन्तिम पाँच खेल बाँकी छन् । यी खेलमध्ये रियलले तीन खेल जित्दै एक खेल हारेर एक खेल बराबरी गरे पनि उपाधि जित्छ, यदि बार्सिलोनाले आफ्ना ५ मध्ये कुनै खेल हारे वा बराबरी गरे भने रियलले अझै चाँडो उपाधि जित्नेछ ।

तर, बार्सिलोनालाई भने उपाधि जित्नका लागि आफ्ना बाँकी ५ वटै खेल जित्नुका साथै रियलले २ खेल हार्नुपर्ने छ । ला लिगा अन्तर्गत शुक्रबारै भएको अन्य खेलमा अोसासुनाले आइबरलाई २-० ले तथा रियल सोसीडाडले ईस्पान्योललाई २-१ ले पराजित गरे ।

 

प्रतिक्रिया दिनुहोस्