वडा कार्यालय तालाबन्दी



नेपाल समाचारपत्र, सल्यान

सल्यानको त्रिबेणी गाउँपालिका–४ को वडा कार्यालयमा स्थानीयले तादाबन्दी गरेका छन् । स्थानीयले बिहीबार बिहान तालाबन्दी गरेका हुन् ।

बुधबार राति मध्यरातमा वडा कार्यालयमै वडाध्यक्ष एक महिलासहित फेला परेपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै विद्यालयमा समेत तालाबन्दी गरेको ४ नम्बर वडा सदस्य सीता विष्टले बताउनुभयो ।

उहाँकाअनुसार वडाध्यक्ष छविलाल शर्मालाई स्थानीय एक महिलासँग अनैतिक कार्य गरेको अवस्थामा स्थानीयले फेलापारेका हुन् ।

बुधबार राति महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि इलाका प्रहरी कार्यालय लुहामको जिम्मा लगाएको उहाँको भनाइ छ ।

तर, प्रहरीले बिहान उनीहरूलाई त्यतिकै छोडिदिएको र महिला बेपत्ता भएकाले घटनाको छानबिन हुनुपर्ने र महिलाको खाजबिन गर्नुपर्ने भन्दै वडा कार्यालय तथा विद्यालयमा समेत तालाबन्दी गरको वडा सदस्य विष्टले बताउनुभयो ।

अबेर रातिसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सूचना पाएपछि स्थानीयले कार्यालय घेराउ गरेका थिए । स्थानीयले कार्यालय घेराउ गरेपछि वडाध्यक्षले भित्रबाटै तालालगाएर थिए । स्थानीयले सम्बन्धित निकायले घटनाको छानबिन नगरेर त्यतिकै छोडिदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले वडाध्यक्ष शर्माले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर वडा कार्यालयमा ढुंगा हान्ने काम भइरहेको भनेपछि सुरक्षाका लागि प्रहरी पठाइदिएको बताउनुभयो ।

कामको सिलसिलामा वडा कार्यालयमा बस्ने गरेको बताउँदै वडाध्यक्षले सुरक्षाको माग गरेपछि लुहामबाट प्रहरी टोली घटनास्थलमा गएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्