कोरोना संक्रमित शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु



भगवती तिमल्सिना,काठमाडौ

कोरोना संक्रमणका कारण पाको उमेरका व्यक्ति तथा दीर्घरोगी मात्र संक्रमित हुने नभै नवजात शिशु समेत संक्रमित हुन्छन् । ३ साता अघि घाँटीको समस्या लिएर त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका एक नवजात शिशुको सोही अस्प्तालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

उपचारकै क्रममा मृत्यु भएका ४६ दिनका शिशुको स्थाई घर म्याग्दी भएको र उपचारकै क्रममा बुधबार साँझ मृत्यु भएको त्रिवि अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताउनुभयो । नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि घाँटीको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गरिएको र मंगलबार रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण प्रमाणित भएसँगै अस्पतालकै आईसोलेसन वार्डमा राखि उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको र शिशुको मृत्यु पछि विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार नै शव ब्यवसथापन विहिवार विहान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.रोहित पोखरेलले जानकारी गराउनुभयो ।

नवजात शिशुमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ गरि सम्पर्कमा आएका सबैलाई आईसोलेसनमा राखी थ्रोट स्वाब संकलन गरि परिक्षण कार्य भैरहेको डा.पोखरेलले नेपाल समाचारपत्रसँगको कुराकानीमा जानकारी गराउनुभयो । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमा यस अघि पनि कोरोना संक्रमण देखिएको थियो ।

बिरामीमा संक्रमण देखिए पनि स्वास्थ्यकर्मीमा भने नदेखिएकाले त्रिवि शिक्षण अस्पतालले कोरोना संक्रमणको पूर्व तयारी गरेर मात्र उपचार गरेकै कारण बिरामीको छनोटमा त्रिवि शिक्षण अस्पताल पर्ने गरेको ईएनटी वार्डका अर्का बिरामीका आफन्तले बताए । नेपालमा अहिले सम्म कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा १ नवजात शिशु र २ जना बालबालिका समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्