संकटमा सूचनाले अर्को संकट : हेटौंडाका उद्योगी त्रसित



न्युज अफ नेपाल, हेटौंडा ।

क्षेत्रफलका हिसाबले देशको ठूलो हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योग तथा कार्यालयले औद्योगिक क्षेत्रलाई भुक्तानी गर्नुपर्ने सबै प्रकारका महसुल शनिबारसम्म भुक्तानी गर्न सूचना जारी भएको छ । क्षेत्र व्यबस्थापनले हेटौंडामा शाखा कार्यालय रहेका सिद्धार्थ, एभरेष्ट, मेघा र नेपाल बैंकमार्फत् वा कनेक्ट आईपीएस एपमार्फत् उद्योगीले महसुल भुक्तानी गर्नसक्ने सूचनामा जानकारी गराएको छ ।

कोरोनाका कारण संकटमा रहेका उद्योगी यस्तो सूचनापछि थप संकटमा परेका छन् ।औद्योगिक क्षेत्रको जग्गा, भवन, पानी, विद्युत् महसुल तिर्न औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयले औद्योगिक प्रतिष्ठानलाई सूचना जारी गरेको हो । सय बढी दिनदेखि लकडाउनका कारण केही उद्योग ठप्प छन् । चलेका उद्योगले पनि ५० प्रतिशत भन्दा कम उत्पादन गरिरहेका छन् ।

असार लागेपछिमात्र उद्योग सञ्चालनमा आए पनि पूर्णक्षमतामा चल्न नसकेको बेला महसुल कसरी तिर्ने भन्ने समस्यामा उद्योगी रहेको उद्योग संघ मकवानपुर अध्यक्ष लेखराज पोखरेलले बताउनुभयो ।

जग्गाभाडा, भवनभाडा, विद्युत्को डिमाण्ड शुल्क मिनाहा गरिदिन माग गर्दै करिब दुई महिनाअघि नै औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयलाई पत्राचार गरिएको भए पनि सुनुवाई नभएको अध्यक्ष पोखरेलको गुनासो छ । ‘लकडाउनको सबभन्दा ठूलो मारमा उद्योगी परेका छन् । स्वपुँजी वा बैंकको ऋणबाट सञ्चालित उद्योग बन्द छन् ।

मासिक कारोबारबाट सीमित आम्दानी गरी रोजगारी दिने उद्योग ठप्प हुँदा लगानी डुबिसकेको छ,’ अध्यक्ष पोखरेलले भन्नुभयो–उत्पादन तथा बिक्री नहुँदा नगदप्रवाह हुन सकेको छैन । बजारको बाँकी उठेकै छैन । उद्योगीको मागबारे सम्बन्धित निकायमा पत्राचार भए पनि बोर्डले निर्णय गर्नुपर्ने तर निर्णय नगरेका कारण शुल्क मिनाहाबारे आफूलाई अधिकार नभएको औद्योगिक क्षेत्र व्यबस्थापक राजेन्द्र कँडेलले बताउनुभयो ।

हेटौंडा औद्योगिक क्षेत्रका ६० प्रतिशत औद्योगिक प्रतिष्ठानले शुल्क बुझाइसकेकोले बाँकी प्रतिष्ठानका लागि सूचना गरिएको क्षेत्र व्यबस्थापक कँडेलले दाबी गर्नुभयो । लकडाउन सकिएपछि पनि कच्चापदार्थ आयात गर्ने, उत्पादित बस्तु बजारीकरण गर्ने आदि काम नियमित हुन महिनौं लाग्ने संघ अध्यक्ष पोखरेलको गुनासो छ ।

औद्योगिक प्रतिष्ठान बन्द भएको समयमा कामदार/कर्मचारीको तलबभत्ता दिन नसकिने अबस्था रहेको भन्दै सरकारसमक्ष औद्योगिक प्रतिष्ठानलाई सहजरुपमा सञ्चालनमा आउने अबस्था सिर्जना गर्न माग गरिएको पोखरेलले जानकारी दिनुभयो । कच्चापदार्थ आउन नसकेको, उत्पादित बस्तु बजार पठाउन नसकेको, उद्योगका दक्ष प्राविधिक घरबाट फर्कन नसकेका औद्योगिक प्रतिष्ठानले उत्पादन कटौती गरिरहेका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा एक सय १० उद्योगमध्ये केही उद्योग सञ्चालनमा आउन सकेका छैनन् । कतिपय उद्योगको कच्चापदार्थ महिनौं उद्योग नचलेका कारण नोक्सान भएको अध्यक्ष पोखरेलले बताउनुभयो । लकडाउनमा लामो समय उद्योग व्यबसाय बन्द हुँदा चालु पुँजी सकिसकेकोले पुनर्जीवन वा पुनर्संञ्चालनका लागि पुँजीको अभाव सबभन्दा ठूलो समस्या देखिने पोखरेलले बताउनुभयो । ‘दक्ष जनशक्ति अभाव पनि ठूलै समस्या देखिएको छ,’ पोखरेलले भन्नुभयो ।

निर्यातजन्य उद्योग वा आन्तरिक खपतको उत्पादनका लागि भारतलगायत मुलुकबाट आउने कच्चापदार्थ निर्यात र आपूर्तिको समस्या पनि ठूलै देखिन्छ । उत्पादित वस्तुको बिक्रीबितरणको पहिलेको नेटवर्क बिग्रिएको छ । कतिपय मध्यस्थकर्ताहरु छैनन् । त्यसैले कसैगरी वस्तु र सेवा उत्पादन गरे पनि बिक्रीबितरणको सुनिश्चितता नभएको भन्दै स्थानीय उद्योगीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्