क्वारेन्टाइनमा रहेका मानिसप्रति जिम्मेवार को ?



क्वारेन्टाइनहरु व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन् । क्वारेन्टाइनमा बस्दा झन् बिरामी पर्ने हो कि भन्ने डरले पनि बस्न मानिरहेका छैनन् । क्वारेन्टाइनमा बस्ने मानिसहरूमाथि अन्याय र चरम लापरबाही भइरहेको जनगुनासो सुन्नमा आएको छ ।

कोरोना भाइरसको महामारीमा क्वारेन्टाइन भनेको छ, बस्न बाध्य पारिएको छ, यो तरिका ठीक भएन । क्वारेन्टाइनमा बस्नेहरुको लागि खानपिन पनि दरो इम्युनिटी पावर बढाउने किसिमको पोषणयुक्त हुनुपर्छ । क्वारेन्टाइनमा बस्नेहरुको लागि चिया, दूध, फलफूल र खाजाको पनि बन्दोबस्त गरिनुपर्छ । क्वारेन्टाइनमा रेखदेख गर्न डाक्टर, साबुन, स्वच्छ पानी, स्यानिटाइजर र शौचालय पनि व्यवस्थित हुन जरुरी छ ।

क्वारेन्टाइनमा बस्नेहरुले दिन बिताउने कसरी ? यो पनि प्रमुख कुरा हो । क्वारेन्टाइनमा बस्ने भन्नेबित्तिकै आत्मबल कमजोर हुन गएको हुन्छ । मनोबल बढ्ने र बस्न उत्साह आउने किसिमको सेवा–सुविधासहितको क्वारेन्टाइन हुन आवश्यक छ ।

क्वारेन्टाइनमा मृत्यु भएको कुरा पनि सुन्नमा आएको छ । सत्यतथ्य के हो ? यदि क्वारेन्टाइनमा मृत्यु हुने, बिरामी पर्ने जस्ता घटना भए भने जिम्मेवार को ? कतै क्वारेन्टाइनमा राखिएको बहानामा सम्बन्धित निकायहरुले विभिन्न खर्चको शीर्षक बनाएर आर्थिक अनियमितता गर्न खोजिएको त होइन ? हाम्रो मुलुकमा लुट्न मात्र जानिएको छ । यसकारण शंकास्पद छ ।

क्वारेन्टाइनमा राखिने जिम्मेवारी पाएका सम्बन्धित निकायहरुलाई मेरो भनाइ के छ भने, क्वारेन्टाइनमा बलजफ्ती गरी राखिने मानिसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा–सुविधा दिन सक्नुहुन्छ भने राख्नुहोस्, सेवा–सुविधा दिन सक्नुहुन्न भने जबर्जस्ती राख्ने काम नगरियोस् ।

क्वारेन्टाइनमा बस्ने मानिसहरू तल–माथि पर्न गए भने यसको जिम्मेवार सम्बन्धित निकायहरू नै हुनेछन् । उनीहरुमाथि खेलबाड गर्न पाइँदैन ? अब क्वारेन्टाइनमा राखिएका मानिसहरूको अमूल्य जीवनसँग खेलबाड भएमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पर्न सक्छ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु, ध्यान दिनुहोला ।
– राकेशकुमार शर्मा, हेटौंडा उमनपा–२, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्