वर्षासँगै प्राकृतिक प्रकोपको डर



हरेक वर्षायाममा तराईमा डुबान र बाढी तथा पहाडमा पहिरोका कारण अर्बौंको धनमाल र सयौंको ज्यान जाने गरेको छ । यो विभिषिका घट्नुको साटो हरेक वर्ष अझ विकराल हुँदै गइरहेको छ । हरेक वर्षा सहकालका रुपमा आउनुपर्नेमा महाकालका रुपमा आउने परस्थिति मानवजन्य क्रियाकलापबाटै सिर्जना भइरहेको छ ।
केही नीतिगत कारणले, केही लापरबाहीले, केही नियतजन्य कारणले, केही नक्कल गर्ने प्रवृत्तिका कारणले त केही अज्ञानतावश अनि केही इतिहासबाट शिक्षा नलिएका कारण यो अवस्था सिर्जना भएको हो ।

नदी–स्रोतको अवैज्ञानिक उत्खननले गर्दा नदीको आधार कतै होचो र कतै अग्लो हुने, नदीको प्रवाह गतिमा वृद्धि हुने र अनियमित प्रवाह उत्पन्न हुन गई नदीको पानीले कति बेला कुन तटमा विध्वंश मच्चाउने हो, सोको अनुमान गर्न कठिन हुन गएको छ । तराईमा वर्तमानको तट कटानको प्रमुख कारणमध्ये यो पनि एउटा हो ।

पहाडमा हिउँदमा डोजर लगाएर सडक खन्ने र अबिर–जात्रा गर्ने अनि वर्षामा त्यही अव्यवस्थित सडकले निम्त्याएको पहिरोका कारण गाउँका गाउँ बगाएर शव यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ती सडक र ती सडकमा गुड्ने गाडीको कम्पनका कारण जाने भूक्षयले नेपालका नदीहरुमा पानी र लेदोको अवस्था बराबरजस्तो हुने अवस्था सिर्जना भएको छ ।

वर्तमान समयमा तराईमा गरिएका नदी तटबन्धन टी आकारका बाँधमा आधारित छन् । जलप्रवाहको वेग बढी भएका स्थानमा यस्ता तटबन्धहरु औचित्यहीन हुन्छन् । यस्ता बाँधहरु त प्रवाह वेग अति न्यून हुने बंगलादेशका नदीहरुलाई मात्र उपयुक्त हुन्छ । अर्को यी तटबन्धहरु यसरी डिजाइन हुन्छन् कि वारिपट्टि तटबन्ध गर्दा पारिपट्टि कटान हुने र पारिपट्टि तटबन्ध गर्दा वारिपट्टि कटान हुने अवस्था सिर्जना हुन गएको छ । यस विषयमा कहिल्यै पनि सोचिएको छैन ।

पहाड र तराई दुवैतिर अवैज्ञानिक बस्ती विकास र शहरीकरणको उन्मत्तता थामिने कुनै लक्षण देखिएको छैन । पहाडमा नदीछेउमा भैरहेको बस्ती विकास र तराईमा वर्षाको पानीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी भएको शहरीकरणका कारण बाढीपहिरो र तट कटानमा यो भयावह सिर्जना भएको हो ।

बाढीको प्रवाह नियन्त्रण गर्न ठूला–ठूला बाँध र कृत्रिम तालहरुको सिर्जना गर्नुपर्दछ, ता कि वर्षातको अधिक जल सञ्चय गरी सुख्खायाममा तल्लो तटमा प्रवाह गर्न सकियोस् । तर यो रणनीतिमा राष्ट्रिय र क्षेत्रीय अवधारणा नै बन्न सकेको छैन । परिणामतः नेपाल, भारत र बंगलादेश वर्षामा बाढीबाट र हिउँदमा सुख्खाबाट पीडित हुनुपरिरहेको छ ।

तराईमा पूर्व–पश्चिमको सट्टा उत्तर–दक्षिण सडक निर्माण गर्ने, पानीको निकास हुने नाला अतिक्रमणलाई हटाई पूर्ववत्रुपमा कायम गर्ने, नदीको तटवर्ती क्षेत्रमा इँटाका लागि माटो उत्खनन गर्न रोक लगाउने र जलप्रवाहलाई अवरोध हुने गरी माटो उत्खनन गर्ने र इँटा बनाउने कार्यलाई नियन्त्रित गर्ने कार्य हुनु जरुरी छ ।

इँटाको आपूर्तिलाई भरपर्दो बनाउन भारतीय इँटाको आयातलाई सहज बनाउने, नदि–स्रोतमा अवैज्ञानिक उत्खनन बन्द गर्ने र आवश्यक पर्ने निर्माण सामग्री नेपाल सरकारले आफ्नै संयन्त्र बनाई उत्खनन एवं वितरण गर्ने जस्ता कार्यहरुले बाढीपहिराको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
– गनी मियाँ, रौतहट ।

 

प्रतिक्रिया दिनुहोस्