युभेन्टस् उपाधि रक्षातिर अग्रसर



मिलान, (एजेन्सी)

इटालियन सिरी ए को डिफेन्डिङ च्याम्पियन युभेन्टस्ले जितसँगै उपाधि रक्षा गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

मंगलबार राती भएको खेलमा युभेन्टस्ले जेनोआलाई ३–१ ले हराएको हो । योसँगै टोलीले सिरी ए अंकतालिकामा ७२ अंकसहित लाजियोमाथि ४ अंकको अग्रता लिएको छ ।

टोलीको जितमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र डगलस कोस्टाले गोल गरेका थिए । तीनै गोल दोस्रो हाफमा भएका थिए ।

डिबालाले एकल प्रयासमा ५०औं मिनेटमा गोल गरेर युभेन्टस्लाई अग्रता दिलाएका थिए । रोनाल्डोले त्यसको ६ मिनेटपछि सानदार गोल गरेपछि टोलीको अग्रता दोब्बर भएको थियो ।

उनले करिब २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुन पुगेको थियो । यो उनको यस सिजनमा व्यक्तिगत २४औं गोल थियो ।

यस्तै कोस्टाले ७३औं मिनेटमा घुमाउरो प्रहारलाई जाली चुमाएका थिए । यो गोलको सहयोगमा युभेन्टस् ३–० को अग्रतामा पुगेको थियो । तर ७६औं मिनेटमा जेनोआले एक गोल फर्कायो । थप गोल नहुँदा एन्ड्रिया पिनामन्टीले गरेको सो गोल सान्त्वनामै सीमित भएको थियो ।

मंगलबार रातीको खेलमा दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले गोल गरेका थिए । मेसी बार्सिलोनाका लागि व्यक्तिगत ७ सयौं गोल गर्न सफल भएका थिए । तर उनले टोलीलाई प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडविरुद्ध जित भने दिलाउन सकेनन् ।

सो खेल २–२ बराबरीमा रोकिएको थियो भने रोनाल्डोको दाँजोमा क्लबका लागि गोल संख्यामा मेसी २६ गोलले पछि छन् । रोनाल्डोले कुल ७ सय २६ गोल गरेका छन् ।

रोनाल्डो अर्को कीर्तिमान निकट पनि रहेका छन् । उनी युभेन्टस्का लागि एकै सिजनमा २५ गोल गर्ने पहिलो खेलाडी बन्न गइरहेका छन् ।

यस्तो कीर्तिमान यसअघि धेरै वर्षअघि भएको थियो । १९६०–६१ को सिजनमा ओमार सिभोरीले यस्तो कारनामा देखाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्