इन्टरभ्युदेखि होसियार



केही दिनदेखि देखिरहेको छु कलाकारहरूले इन्टरभ्युमा बोलेको कुरा एकपछि अर्को विवादमा आइरहेको छ। कोही राष्ट्रियताका बारेमा चिप्लिरहेका छन्, कोही देशको जिल्ला, प्रदेशको बारेमा चिप्लिए⁄
कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए⁄ कोही नेपोटिज्मका बारेमा, कोही केमा कोही केमा, यो सबै किन भइरहेछ ?

इन्टरभ्युलाई नाइँ भन्न नसक्ने हाम्रो बानीले गर्दा⁄ पत्रकार भाइले फोन ग¥यो ‘लौ न इन्टरभ्यु दिन प¥यो।’ क्यामेराको ढक्कन खोल्यो शुरू भइहाल्यो। टेडा मेडा प्रश्नको झटारो शुरू हुन्छ। हामी कलाकार पत्रकार रिसाउला भनेर कनीकनी बिना तयारी बोल्न शुरू गर्छौं। जसोजसो इन्टरभ्यु अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ। व्यावसायिक पत्रकार मनमनै खुसी हुन थाल्छ आहा, ओहो, टीआरपी⁄

पत्रकारले फेरि उत्साहित हुँदै सोध्न थाल्छ ‘मुस्ताङ कुन जिल्लामा पर्छ थाहा छ ?’ कलाकारले एकछिन टाउको कन्याउँदै जवाफ दिन्छ ‘मनाङ जिल्ला होला। हाहाहाहा ⁄ लामो हाँसो पनि जान्छ। पत्रकार कुटिल हाँसो हाँस्छ। कलाकार र पत्रकारबीचको इन्टरभ्यु शाखा अधिकृतको जागिरका लागि लिइएको इन्टरभ्यु जस्तो हुन थाल्छ।

कलाकार चुपचाप नजानेको विषयमा बोल्दै जान्छ। अन्त्यमा, आज त गज्जब भो इन्टरभ्यु भोलि हेर्नुस् है भन्दै पत्रकार खुसी साथ बिदा हुन्छ। भोलि इन्टरभ्यु आउँदैन। इन्टरभ्यु सँगसँगै आपत् आइलाग्छ,

जताततै भाइरल, विरोध, गालीको वर्षा⁄ त्यसपछि कलाकारको निन्द्रा कमसेकम ३ दिनका लागि गायब ?
हामी किन यसरी विनातयारी बोल्न अगाडि सर्छौं? किन बारम्बार चिप्लेर लज्जित हुँदै माफी माग्छौं? इन्टरभ्यू दिँदा सेलेक्टिभ किन हुँदैनौं हामी? सबै पत्रकारको नियत राम्रो हुँदैन⁄ ७० प्रतिशत टीआरपी हेडलाइनको चक्करमा हुन्छन्⁄ अनि किन हामी सधैं उनीहरूको यो टीआरपीको चक्करमा परेर आफ्नो व्यक्तित्व कमजोर बनाइरहेका हुन्छौं⁄ राम्रो नियत भएको, हेडलाइनमा जोड नदिने, सकारात्मक पत्रकारिता गर्ने साथीहरूलाई हामी कहिल्यै स्थान दिँदैनौं।

यस्तै चटपटे हेडलाइन सेलरहरूका लागि २४ घण्टा उपलब्ध हुन्छौं हामी। चलचित्रको प्रमोसनदेखि हरेक कुरामा कुनै सिमाना राख्दैन। इन्टरभ्युलाई सामान्यरूपमा लियौं र लिन्छौं पनि⁄ घन्टौं क्यामेरा अगाडि फतफताएर आफूले आफूलाई धेरैपल्ट सस्तो पनि बनायौं⁄ अब यस बारेमा सोच्ने बेला आयो कि?

याद गरौं पछिल्लो केहि दिनलाई, कोही राष्ट्रियताका बारेमा सचेत हुँदाहुँदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परे, कोही राजेश हमाल सुपरस्टार हो कि होइन भन्ने बारेमा चिप्लिए। उहाँले सुपर स्टार हो तर यो क्षेत्रकों अभिभावकत्व पनि निभाउन प¥यो भन्न खोज्दा शब्द संयोजनमा समस्या उत्पन्न भई सुपर स्टार नै होइन भन्ने बुझिन गयो, पूरा इन्टरभ्यु त कसले हेर्ने यहाँ?

कोही कलाकार १४ जिल्लामा फसे। एउटा कलाकारले सामान्य ज्ञान कण्ठ गर्नै पर्छ? प्रश्न सोध्ने पत्रकारलाई पनि हंगेरीको प्रधानमन्त्रीको नाम थाहा होला? भीमसेन थापापछि को प्रधानमन्त्री थिए थाहा होला? केपी ओलीज्यूलाई पहिलो कलर नेपाली फिल्म कुन हो थाहा होला? सबैलाई सबै कुरा थाहा हुनु जरुरी छैन। कोही कलाकार नेपोटिज्मका सबालमा बोल्दा चिप्लिए, जब कि नेपालमा चलचित्र उद्योग नै बाल्यकालमै छ। यस्ता नेपोटिज्म त विकसित उद्योगमा हुने कुरा हो। त्यसैले हामीले अरूलाई दोष दिनुभन्दा सकेसम्म चटपटे इन्टरभ्युबाट भागौं।

इन्टरभ्यु दिँदा छानेर, बुझेर, प्रशस्त तयारी गरेर दिऔं। चित्त नबुझेको कुरा पत्रकारलाई अनुरोध गरेर योचाहिँ काटिदिनुस, योचाहि नबोलौं होला भन्ने गरौं⁄ दोष पत्रकारको मात्रै छैन हाम्रो पनि छ। चलचित्र प्रमोसनको समयदेखि हरेक दिन हामी इन्टरभ्युका लागि लालायित हुने, यसका लागि पत्रकारसँगको अत्यधिक सामीप्यता राख्ने, सबै आन्तरिक कुरा खोल्ने, यस्ता कुराहरूमा हाम्रो पनि कमजोरी छ। अत इन्टरभ्युका लागि फोन आउँछ भने खुसी होइन, होसियार होऔं, सकेसम्म टारौं, नसके पत्रकारसँग प्रशस्त छलफल गरेर आफू पूर्णरूपमा तयार भएर मात्रै इन्टरभ्यु फेस गरौं।
आफ्नो व्यक्तित्व आधा घण्टाको इन्टरभ्युबाट स्वाहा नपारौं⁄
(फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्