बालबालिकालाई भिटमिन ‘ए’ खुवाइँदै



विनोदसिंह विष्ट, बैतडी

बैतडीमा यही असार २२ र २३ गते बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणमा जिल्लाका २३ हजार ९ सय ३९ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य छ ।

यस्तै १ वर्षदेखि ५ वर्षमुनिका २१ हजार ७७ बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्टले जानकारी दिनुभयो ।

यसका साथै ६ महिनादेखि २३ महिनासम्मका ८ हजार १ सय ८३ बालबालिकालाई बालभिटा पनि खुवाइने भट्टले बताउनुभयो ।

भिटमिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषण हुनबाट बचाउनुका साथै पोषणस्थिति सुधार गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

उक्त कार्यक्रम सामाजिक दूरी कायम गर्दै सञ्चालन गरिने जनाइएको छ । बैतडीका १० वटै स्थानीयतहको प्रत्येक वडाको तोकिएको खोप केन्द्रबाट उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त कार्यक्रमका लागि ८ सय ३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । गत वैशाख ६ र ७ गते सञ्चालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण सरेको हो ।

प्रतिक्रिया दिनुहोस्