खरको छाना विस्थापित हुने



शिक्षा पन्त, लमजुङ

लमजुङका सबै स्थानीय तहमा खरको छाना विस्थापित गर्न ४ करोड ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

शहरी विकास मन्त्रालयको गरिब तथा विपन्न समुदायका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापित गर्न आर्थिक वर्ष २०७७÷७८ को बजेटमा लमजुङलाई ४ करोड ८८ लाख बजेट विनियोजन भएको हो ।

सरकारले खरको छानो विस्तापित गर्न लमजुङका स्थानीय तहलाई बजेट विनियोजन गरेसँगै जिल्लामा खरको छाना भएका सबै घरमा जास्तापाता राखिने भएको हो । लमजुङका आठ स्थानीय तहका कुल ९ सय ७६ घरको छाना फेर्ने गरी बजेट विनियोजन भएको छ ।

नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङको पहलमा जिल्लाका स्थानीय तहलाई खरको छाना विस्थापित कार्यक्रमका लागि बजेट विनियोजन भएको मुख्य सचेतक गुरुङका स्वकीय सचिव कमल खड्काको भनाइ छ ।

मध्यनेपाल नगरपालिकामा १ सय ८९, सुन्दरबजारमा १ सय ६०, बेंसीशहरमा १ सय ४२, राइनाश नगरपालिकामा ९३ घरमा खरको छाना हटाउने कार्यक्रम रहेको छ ।

त्यस्तै चार गाउँपालिकाअन्तर्गत क्व्होलासोथँरका १ सय २४, दोर्दीका ९९, मस्र्याङ्दीका ८६ र दूधपोखरी गाउँपालिका ८३ घरको खरको छाना फेरिने भएको हो । उक्त कार्यक्रमअन्तर्गत खरको छाना भएका प्रत्येक घरले ५०–५० हजार रुपियाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्