अमेरिकामा मुर्तिमा क्षति पुर्याए जेल जानु पर्ने



वासिंगटन (एजेन्सी)

अमेरिकामा स्मारक तथा मुर्तिमाथि क्षति पुर्याउन नपाउने कानुन ल्याएको छ । यस कानुन अन्तर्गत यस प्रकारको गतिविधिमा संलग्न ब्यक्तीले लामो समय जेल जानु पर्ने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धी कार्यकारी आदेशमा शनिबार हस्ताक्षर गरेको छ । यद्यपी ह्वाइट हाउसले यस आदेशका बारेमा थप जानकारी दिएको छैन । सन् २००३ मा पारित कानुन वेटरन्स मेमोरियल प्रोटेक्सन एक्ट अन्तर्गत यस प्रकारको अपराधमा जरिवाना तथा १० बर्ष जेल सजायँको प्रावधान छ ।

गत मे २५ मा अश्वेत जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएको थियो । त्यसको विरोधमा प्रदर्शनमा केही मुर्तिहरुलाई क्षति पुर्याइएको थियो ।

ट्रम्पले एक पत्रकार सम्मेलनमा नयाँ आदेशमा कयौं प्रावधान समावेश रहेको बताए । उनले ट्विटरमा लेखे- मलाई अमेरिकी स्मारक तथा मुर्तिको रक्षा गर्न अत्यन्त कडा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने विशेषधिकार पाएको थियो । हाम्रो महान देश विरुद्ध कानुन विरोधी प्रदर्शन गर्नेहरुले जेल सजायँ काट्नु पर्ने छ ।

फ्लोयडको मृत्युको विरोधमा अमेरिकाको पत्ता लगाउने क्रिस्टोफर कालम्बसको बोस्टन र मायामी स्थित मुर्ति तोडफोड गरिएको थियो । भर्जिनियाका रिचमन्डमा कोलम्बसको मुर्ति तालमा फ्याँकिएको थियो । कोलम्बसलाई अमेरिकामा उपनिवेशवादको शुरुवात गर्ने सुत्रधार मानिन्छ ।

प्रदर्शनकारीहरुले ह्वाइट हाउस नजिकै राखिएको पुर्व राष्ट्रपति एन्ड्रयु ज्याक्सनको मुर्तिलाई पनि क्षति पुर्याउने प्रयास गरेका थिए । केही स्थनमा तोडफोडको आशंकामा मुर्तिहरु पहिल्यै हटाइएको थियो ।

मिनिपोलिसमा प्रहरी मे २५मा फ्लायडलाई गिरफ्तार गर्ने क्रममा घुँडाले घाँटीमा अठ्याएर नियन्त्रणमा लिएको थियो । करिब ९ मिनेट घाँटी अठ्याउने क्रममा उनको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्