हरेक दिन मुस्कुराउनुहोस्, खुशी हुनुहोस्



नकारात्मक सोच मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक छ । अब, खुशी हुने कला सिक्नुहोस् । हरेक दिन, आफ्नो दैनिकीमा थप ३ पटक मुस्कुराउनुहोस् । अभ्यास सारै सजिलो छ र यसको प्रतिफल निकै गहिरो पनि छ ।
सकारात्मक मनोविज्ञानको मान्यता छ कि खुशी र उन्नति भनेकै स–साना राम्रा बानी बसाल्ने हो । यी स–साना बानीलाई जोडेर जीवन यतिसम्म परिवर्तन हुन सक्छ कि आफ्नो जीवनको परिभाषा हामी आफैं झन् सुन्दर बनाउँदै जान्छौं ।
एक छोटो मुसुक्क दिएको हाँसोले हाम्रो मस्तिष्कमा संकेत दिइहाल्छ कि तपाईं एक खुशी र सुखी प्राणी हो । जस्तै– आफ्नो अफिस जाँदा अथवा केटाकेटीलाई स्कुल पु¥याउन जाँदा, कतिपय अनुहार सधैँ देखिन्छन् । सधैँ एकै समय, एकै स्थानतर्फ लम्कने ती अनुहार देख्दा विना केही सोचे–सम्झे, हाम्रो ओठ आफैं तन्किन्छ, मुस्कुराउँछ । यो प्रकृतिको एक शक्तिशाली वरदान हो । जसले आजको आधुनिक भाषामा भन्नुपर्दा हाम्रो सम्बन्ध (नेटवर्क र रिलेसन) आफैं बढाउँछ । मुस्कानको अभ्यासले सामाजिक सहयोग र सुरक्षाको भाव पनि बलियो बनाउँछ ।
यसलाई तपाईं नियमित योग अभ्यासको रूपमा पनि लिन सक्नुहुन्छ । अनि फेरि अर्को रमाइलो कुरा, मुस्कान एक सरुवा रोग हो । रुघा–खोकीजस्तै छिटो अरुलाई सरिहाल्छ । अब मात्र ३ पटक मुस्कान जबरजस्त केही दिन थप्ने प्रयास गरौं त । बरु राति–राति केटाकेटीलाई न्यास्रो हुने गरी नेटवर्क र रिलेसन बनाउन कक्टेल पार्टी जान कम गरे हुन्छ ।
सबैको जीवनको दौडले रफ्तार लिँदै जाँदा एउटा यस्तो समय आउँछ, त्यति बेला फुर्सद कहिल्यै नहुने, सधैँ हतार र भोलिदेखि त म काम गर्छु, आफ्नो स्वास्थ्यको हेरचाह गर्छु भन्ने संकल्प गर्दछौं । अरुलाई सरप्राइज दिने, हरेक दिन कसै न कसैका लागि केही राम्रो काम एक्कासि गरिदिने, कामबाट घर फर्कंदा, कहिलेकाँही फुर्सद हुँदा घरमा तरकारी–फलफूल किनेर लैजाने, कोही सहकर्मीका लागि चिया–कफी मगाइदिने, अरुलाई आफ्नो मोटरसाइकल या स्कुटरमा लिफ्ट अफर गर्ने आदि । यस्ता कामले तपाईंको समयमा कुनै हानि पु¥याउँदैन र अरुलाई खुशी पनि बनाउँछ ।
– सुजाता बर्मा, सुनसरी ।

 

प्रतिक्रिया दिनुहोस्