छोराछोरीको असल अभिभावक बन्नुस्



आमाबुबाले आफ्ना छोराछोरीको करियर र पढाइको विभिन्न विकल्पप्रति बुझ्नुपर्छ । आफ्नो बच्चालाई कुन विषय पढाउँदा ठीक हुन्छ, उनीहरुको रुचि केमा छ, के विषय पढ्दा आफ्नो बच्चाले राम्रो गर्न सक्छ भन्ने बारेमा आमाबुबाले सोच्नुपर्छ ।

आफ्ना छोराछोरीको रिजल्ट र उनीहरुको शुरुवाती रुचि विचार गर्दै उनीहरुलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुहोस् । बच्चाहरुलाई भविष्यमा उनीहरु के बन्न चाहन्छन् भनेर सोध्नुहोस् । र, यसै आधारमा उनीहरुलाई करियर रोज्न प्रेरित गर्नुहोस् ।

यदि तपाईंका बच्चाहरुलाई दुई वा दुईभन्दा बढी विषयमा रुचि छ भने कुनै एकलाई मुख्य करियरको रुपमा छानेर अर्कोलाई सौख वा थप सीपको रुपमा सिक्न वा पढ्न सक्छन् । बच्चाहरुको मनमा अझै पनि दोधार भएमा कुनै करियर काउन्सिलरसँग आफ्नो बच्चालाई भेट गराएर परामर्श लिनुहोस् ।

धेरै बच्चाको रुचि आमाबुबाको रुचिसँग मेल खाँदैन । यस्तोमा धेरैजसो बच्चा केही अरु नै छान्न खोज्छ तर आमाबुबा उनीहरुमा अरु नै केही छान्न दबाब दिन्छन् । बाबुआमालाई आफ्ना छोराछोरीलाई डाक्टर वा इन्जिनियर बनाउने रुचि हुन सक्छ तर बच्चाहरुको भने फिल्म मेकिङमा रुचि हुन सक्छ ।

यस्तो स्थितिमा धेरैजसो बच्चाले आमाबुबालाई बुझाउन सक्दैनन् र आफ्नो फैसलामा खरो उत्रिन सक्दैनन् । आमाबुबाले जे पढ भन्यो त्यही पढ्छन् र पछि उनीहरुलाई असफलता हात पर्छ ।

हरेक बच्चामा एक विशेष प्रतिभा लुकेको हुन्छ, जसले उनीहरुलाई बाल्यकालदेखि नै त्यो क्षेत्रमा प्रेरित गर्छ । यदि तपाईंले आफ्नो बच्चालाई बाल्यकालदेखिकै रुचिमा ध्यान दिएर उसलाई अझै त्यसमा राम्रो गर्ने वातावरण मिलाइदिनुपर्छ ।

आफ्नो बच्चाको रुचिलाई ध्यान दिएमा तपाईंले उनीहरुलाई उपयुक्त करियरको अप्सन छान्न सघाउन सक्नुहुन्छ । यसैले कहिल्यै पनि बच्चालाई धेरै दबाब नदिनुहोस् ।

बच्चाहरुले आफ्नो साथीभाइको लहैलहैमा यो पढ्छु, यस्तो गर्छु भन्न सक्छन् । तपाईंले पनि त्यसबारेमा नबुझीकन हुन्छ भनिदिनुभयो भने त्यसले पछि गाह्रो पर्न सक्छ । बच्चाले यदि गलत निर्णय गरेमा उनीहरुलाई प्रेमपूर्वक सम्झाउन सकिन्छ । तर त्यो भन्दा पहिले तपाईंले उनीहरुले अपनाउन चाहेको करियरसँग जोडिएका सबै सम्भावनाको बारेमा थाहा पाउनुपर्छ ।

यस्तै कैयौंपटक बच्चाको सोच तपाईंलाई गलत लाग्न सक्छ तर बच्चा आफ्नो स्थानबाट सही हुन सक्छन् । फेरि पनि यदि तपाईंलाई बच्चाले गलत निर्णय गर्दै छन् जस्तो लाग्छ भने उनीहरुलाई कुनै करियर काउन्सिलरसँग भेट्टाउनुहोस् ।

यदि करियर काउन्सिलरले पनि बच्चाको निर्णयलाई गलत बताएमा बच्चालाई फेरि सम्झाएर अर्कै करियरतर्फ आकर्षित गराउन सकिन्छ । बच्चाहरुलाई सम्झाउँदा गालीगलौज नगरी प्रेमपूर्वक सम्झाउनुपर्छ र त्यसबारेमा प्रस्ट भनिदिनुपर्छ । यसो गर्दा बच्चाहरुले तपाईंको कुरा राम्रोसँग बुझ्छन् र भनेको मान्छन् ।
– दीपा ओझा, डडेल्धुरा ।

प्रतिक्रिया दिनुहोस्