महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो



बेइजिङ, (एजेन्सी)

विश्व महामारी बनेका कोरोनाले ५ लाखको ज्यान लिइसकेको छ । यसको उपचारका लागि कुनै अचुक विधि आएको छैन । सम्भवतः यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप वा औषधि आउने अनुमान गरिएको छ । कोरोनाको खोप आउला र यसमाथि विजय प्राप्त पनि होला । तर कोनारा नै महामारी फैलाउने अन्तिम भाइरस भने होइन ।

चीनका वैज्ञानिकहरुले कोरोना भाइरसले जस्तै महारमारीको रुप धारण गर्न सक्ने रुघाको नयाँ भाइरस पत्ता लगाएका छन् ।

जी४ईए एच१एन१ नाम दिइएको यो भाइरस सुँगुरमा हालै मात्र पत्ता लागेको हो । यो भाइरसले मानवलाई पनि संक्रमित गर्ने क्षमता राखेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार यो भाइरस थप म्युटेट भएर सजिलै एक मान्छेबाट अर्कोमा फैलिन सक्छ ।

यसले पूरै विश्वमा महामारीको खतरा उत्पन्न हुन सक्छ । चिनियाँ वैज्ञानिकले यो रुघाको भाइरसमा मानवमा संक्रमित गर्न सक्ने सबै लक्षण रहेको बताएका छन् । यो भाइरसमाथि नजिकबाट निगरानी आवश्यक भएको उनीहरुले बताएका छन् । यो भाइरस नयाँ हो, त्यसैले मानवमा यसविरुद्ध अत्यन्तै कम रोग प्रतिरोधक क्षमता हुन सक्छ वा नहुन पनि सक्छ ।

इन्फ्लुएन्जाको नयाँ प्रजाति विशेषज्ञहरुले निगरानी बनाइरहेको शीर्ष रोगमध्येको एक हो, जुन मानवका लागि चिन्ताजनक बन्न सक्छ । विश्वमा पछिल्लोपटक फ्लुको महामारी सन् २००९ मा आएको थियो र त्यति बेला यसलाई स्वाइन फ्लु भनिएको थियो । मेक्सिकोबाट शुरु भएको यो स्वाइन फ्लु अनुमान गरिएकोजस्तो घातक भने भएन ।

प्रतिक्रिया दिनुहोस्