कोरोनाको प्रभाव : रसुवाका होटेल तथा पर्यटन व्यवसायीहरुलाई मासिक ६ करोड ७८ लाख घाटा



सरस्वती न्यौपाने,रसुवा ।

कोभिड-१९ का कारण जिल्लाको होटेल तथा पर्यटन व्यवसाय उठन नसक्ने गरि थलिएको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागी स्तरीय होटल तथा रेष्टुरेन्ट सन्चालनमा रहेका थिए । होटेल तथा पर्यटन व्यवसाय चैत्र महिना देखिनै बन्द भए पछि पुन असार एक गते देखि जसोतसो सन्चालनमा आएपनि सवारी साधन आवत जावत नहुँदा व्यापार हुन सकेको छैन ।

चिनमा कोरोनाको संक्रमण सुरु भएसँगै पुषको पहिलो हप्ता देखि नै पर्यटक आउने क्रमा जिल्लामा घट्दै गएको थियो । चीन प्रवेश गर्ने रसुवागढी नाका पनि माघ महिना देखि बन्द भएको थियो । गत चैत्र ११ गते देखि सरकारले लकडाउन घोषणा गरेपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउन पुर्ण रुपमा बन्द भएको थियो ।

लकडाउन सुरु भएपछि जिल्लाका होटल तथा पर्यटन व्यवसायिलाई मासिक छ करोड ७८ लाख घाटा भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले सर्वेक्षण देखाएको छ । तथ्याङ्क अनुसार लाङटाङ क्षेत्रमा ५०, वटा स्याफ्रवेशी २५, टिमुरे १०, तामाङ सम्पदामार्ग मा ७०, गासाईकुण्ड पदमार्ग २१, धुन्चेमा २० कालिकास्थानमा ९, ठुलो स्याफ्रुमा ३० र एक सय वटा रेष्टुरेन्ट गरि जिल्लामा तिन सय ३५ होटल तथा रेष्टुरेन्ट सन्चालनमा रहेका थिए ।

लाङटाङ क्षेत्रका होटललाई प्रति महिना एक करोड २५ लाख स्याफ्रुवेशीका होटललाई ६२ लाख ५० हजार, टिमुरेका होटललाई ३० लाख, तामाङ सम्पदा मार्गका होटललाई एक करोड ४० लाख, गोसाइकुण्ड पदमार्गका होटललाई ५२ लाख ५० हजार धुन्चेमा रहेका होटल लाई ५० लाख, ठुलो स्यापु्रका होटललाई ७५ लाख र अन्य रेष्टुरेन्टलाई एक करोड २५ लाख रुपैया घाटा भएको उक्त तथ्याङ्क ले देखाएको छ ।

संघका महासचिव निसान गजुरेलका अनुसार व्यवसाय बन्द हुँदा कर्मचारी तथा सन्चालक समेत गरी आठ सय १० जना बेरोजगार भएका छन् । जिल्लामा सन्चालनमा रहेका होटलले कर्मचारी लाई प्रति महिना एक करोड २१ लाख ५० हजार तलव दिँदै आएको समेत तथ्याङ्कमा उल्लेख छ । जिल्लाका होटल ले औषतमा १५ हजार दिने र केही होटल सन्चालक आफै खटिने भएकाले यसमा सन्चालकको विवरण समेत समेटिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्