शेयर किन्ने बढी हुँदा परिसूचकमा वृद्धि



न्युज अफ नेपाल, काठमाडौं ।

अघिल्लो दिन दोहोरो अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने सकारात्मक सर्किट लाग्ने गरी वृद्धि भएको छ । सोमबार बेच्नेको चाप हुँदा घटेको थियो भने मंगलबार किन्नेको चाप बढेकाले परिसूचकमा वृद्धि आएको हो । मंगलबार बजार खुलेदेखि नै परिसूचक वृद्धि हुँदै गएको थियो ।

उच्च अंकको वृद्धि भएपछि नेप्सेले तीनपटक सर्किट ब्रेक लगाउँदै मंगलबारका लागि कारोबार स्थगित गरेको हो । पाँच प्रतिशतभन्दा बढीले परिसूचक वृद्धि भएपछि कारोबार स्थगित हुन्छ ।

नेप्सेका अनुसार यस दिन परिसूचक ७२ दशमलव ५ अंक अर्थात ६ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भई १२६० दशमलव ७५ बिन्दुमा पुगेको छ । मंगलबार सेन्सेटिभ परिसूचकसमेत १५ दशमलव ६३ अंक अर्थात ६ दशमलव १० प्रतिशतले बढेको छ ।

करिब दुई घण्टामात्रै खुलेको बजारमा १३४ वटा कम्पनीको ४ लाख ८९ हजार कित्ता शेयर २२ करोड ७२ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार शुरू भएको करिब एक घण्टामा पहिलो सर्किट लागेको थियो ।

पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रोपटक बजारमा पाँच प्रतिशतले बढ्दा पुनः सर्किट लाग्यो । तेस्रोपटक छ प्रतिशतले नेप्से बढेपछि कारोबार दिनभरका लागि बन्द भयो । मंगलबार कारोबारमा आएका १२ समूहमध्ये दुई समूहको परिसूचकमात्रै ओरालो लागेको छ ।

यस दिन होटल समूह ४७ दशमलव ८४ अंक र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ३ अंकले घट्दा बैंकिङ समूह ७३ दशमलव ७२, व्यापार समूह ६५ दशमलव ७३, विकास बैंक समूह ६५ दशमलव ६६, जलविद्युत् समूह ३९ दशमलव ७७, वित्त समूह ४ दशमलव ९७, निर्जीवन बीमा समूह २९६ दशमलव १५, उत्पादन समूह १२२ दशमलव १७, अन्य समूह २३ दशमलव ९७, लघुवित्त समूह ७७ दशमलव ७ र जीवन बीमा समूह ६३४ दशमलव ९८ अंकले बढेको छ ।

कारोवारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन करोड ६४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाख रुपियाँको कोराबार भएको छ ।

त्यस्तै नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ९ प्रतिशतभन्दा बढी शेयर मूल्य बढ्नेमा साल्ट टे«डिङ कर्पोरेशन, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, साना किसान विकास बैंक लगायतका कम्पनी रहेका छन् ।

समग्र परिसूचकमा उच्च अंकको वृद्धि हुँदा पनि नेपाल पुनर्बीमा कम्पनी र ओरियन्टल होटलको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्