महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो



बेइजिंग (एजेन्सी)
विश्व महामारी बनेका कोरोनाले ५ लाखको ज्यान लिइसकेको छ । यसको उपचारका लागि कुनै अचुक विधि आएको छैन । सम्भवत यो बर्षको अन्त्यसम्ममा कोरोना भाइरस विरुद्धको खोप वा औषधी आउने अनुमान गरिएको छ । कोरोनाको खोप आउला र यसमाथि विजय प्राप्त पनि होला । तर कोनारा नै महामारी फैलाउने अन्तिम भाइरस हुनेछ, त्यसतो होइन ।
चीनका वैज्ञानिकहरुले कोरोना भाइरसले जस्तै महारमारीको रुप धारण गर्न सक्ने रुघाको नयाँ भाइरस पत्ता लगाएका छन् ।
जी४ इए एच१एन१ नाम दिइएको यो भाइरस सुंगुरमा हालै मात्र पत्ता लागेको हो । यो भाइरसले मानवलाई पनि संक्रमित गर्ने क्षमता राखेको वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार यो भाइरस थप म्युटेट भएर सजिलै एक मान्छेबाट अर्कोमा फैलिन सक्छ ।
यसले पुरै विश्वमा महामारीको खतरा उत्पन्न हुन सक्छ । चिनियाँ वैज्ञानिकहरुले यो रुघाको भाइरसमा मानवमा संक्रमित गर्न सक्ने सबै लक्षण रहेको बताए । यो भाइरसमाथि नजिकबाट निगरानी आवश्यक भएको उनीहरुले बताए । यो भाइरस नयाँ हो, त्यसैले मानवमा यस विरुद्ध अत्यन्तै कम रोग प्रतिरोधक क्षमता हुन सक्छ वा नहुन पनि सक्छ ।
इन्फ्लुएन्जाको नयाँ प्रजाति विशेषज्ञहरुले निगरानी बनाइरहेको शिर्ष रोगहरु मध्यको एक हो, जुन मानवका लागि चिन्ताजनक बन्न सक्छ । विश्वमा पछिल्लो पटक फ्लुको महामारी सन् २००९ मा आएको थियो र त्यतिबेला यसलाई स्वाइन फ्लु भनिएको थियो । मेक्सिकोबाट शुरु भएको यो स्वाइन फ्लु अनुमान गरिएको जस्तो घातक भएन ।

प्रतिक्रिया दिनुहोस्